लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
बिहीबार, ०५ असार २०८२, १९ : १६

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित अजिमा हल नजिकबाट प्रहरीले लागुऔषध सहित एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भएर अजिमा हल नजिकै डेरामा बस्दै आएकी २० वर्षीया मनिषा ठाकुर छिन् ।
उनको डेरा खानतलासी गर्दा २१ हजार ५ सय पिस ट्रामाडोल चक्की, फेनारगन २६० पिस, डाइजेपाम २६० पिस र नुर्फिन २६० पिस फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
असार ४ मा आरोपीको डेरा खानतलासी गरेर प्रहरीले २ लाख २५ हजार नगद पनि बरामद गरेको थियो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।