‘अन्डररेटेड र ओभररेडेट पुस्तक जाँच्ने एउटा तराजु हो समय’
सारांश
- लेखक अर्चना थापाले सामाजिक न्याय र लैंगिक मुद्दाहरूमा कलम चलाउँदै आएकी छिन्, 'कठपुतला' लगायतका कृतिहरू चर्चित छन्।
- किताबलाई साथी मान्ने थापाका लागि समय बिताउने र नयाँ संसार हेर्ने माध्यम हो। उनले किताब किन्न पैसाभन्दा समय महत्त्वपूर्ण भएको बताइन्।
- थापाले हालै रमेश भुसालको 'छालबाटो', राधिका कल्पितको 'सम्मोहन' र सलमान रश्दीको 'नाइफ' पढेकी छन्, र आफ्नो उपन्यास प्रकाशनको तयारीमा छिन्।
आख्यानकार, सम्पादक र अभियन्ताको परिचय बनाएकी अर्चना थापाले विशेषतः सामाजिक न्याय र लैंगिक मुद्दामा कलम चलाउँदै र आवाज उठाउँदै आएकी छन् । २०७४ मा प्रकाशित उनको कथासंग्रह ‘कठपुतला’ चर्चित छ । उनको सम्पादनमा नेपाली महिलाको निजात्मक अनुभूतिहरूको सँगालो ‘स्वअस्तित्वको खोज’ प्रकाशित छन् ।
यस्तै सन् २०१८ मा लन्डनबाट प्रकाशित ‘रटलेज ह्यान्डबुक अफ् पोस्टकोलोनियल पोलिटिक्स’ पुस्तकमा अर्चना थापाले सम्पादन गरेको नेपाली महिलाहरुको निजात्मक अनुभूतिको संग्रह ‘टेलिङ अ टेल’लाई समेटेर थापा र रहेल कुन्जले नेपालका लैंगिक मुद्दालाई उठान गरेका छन् । सामाजिक न्यायका विषयमा छलफल गर्ने ‘आह्वान समूह’को संस्थापक समेत रहेकी थापालाई रातोपाटीको नियमित स्तम्भ ‘किताबका कुरा’मा निम्त्याएका छौँ ।
- तपाईंका लागि किताब के हो ? किताबप्रतिको आकर्षण कहिलेदेखि सुरु भयो ?
मेरा लागि किताब समय बिताउने साथी हो । साथमा किताब भएपछि समय कसरी कटाउनु भन्ने चिन्ता वा एक्लोपनजस्तो केही महसुस गर्दिनँ । किताब सधैँ मेरो साथी थियो, हो र रहनेछ । आफू पुग्न नसकेको वा पुग्दै नपुगेको ठाउँ देखाइदिन्छ; आफूलाई थाहै नभएको ज्ञान दिन्छ; विगतको ऐना पनि त देखाइदिन्छ किताबले । विभिन्न खालका किताबले एकै ठाउँमा बसेर पनि नयाँ नयाँ संसार देखाइरहेको हुन्छ । आफूले अहिले भोगिरहेको दुःख र सुखभन्दा फरक संसार उसले देखाउँछ । त्यसैले मेरा लागि किताब एउटा साथी हो ।
हामी हुर्किरहेको समयमा किताब नै हामो मित्र थियो । म हुर्किएको पढेको ठाउँमा लाइब्रेरी थियो स्कुलमा; वरपर पनि राम्रा राम्रा लाइब्ररी थिए । त्यहाँ बच्चाहरूका लागि धेरै किताब राखिन्थे । मेरो घरमै प्रशस्त पुस्तकहरु थिए, पढ्ने वातावरण थियो । मेरो बुवा निकै पढ्ने–लेख्ने ।
देशमा एउटा गतिलो सार्वजनिक पुस्तकालय छैन । पैसा नहुनेले पढ्ने रहर हुँदाहुँदै कसरी पढ्ने ? परिवारको जीविका चलाउनेले किताब पढ्ने समय कसरी समायोजन गर्ने !
बच्चाका कथाहरू, विभिन्न चित्र पुस्तक र फरक–फरक खालका किताब मैले बच्चामा धेरै पढेँ । त्यतिबेला आजजस्तो टीभी, सामाजिक सञ्जाल थिएनन्; घरबाहिर डुल्ने–खेल्ने अवस्था त्यति नहुँदा समय फालाफाल हुन्थ्यो । घरमा पनि किताब पढ्नुपर्छ भन्ने मान्यता थियो । सायद यस्तै वातावरणमा हुर्किंदा म किताबप्रति आकर्षित भएँ । हामी साथीभाइसँग किताब साटासाट गरेर पनि पढ्थ्यौँ ।
किताबले जुन खालको फरक संसार देखाउँछ, केटाकेटीमा त्यो संसारप्रति मेरो आकर्षण रहन्थ्यो । किताबभित्रको रहस्य जान्ने, त्यो कथा कहाँ गएर टुंगिन्छ, अब के होला भन्ने उत्सुकता अनि पात्रप्रतिको एक प्रकारको कुतूहलताले गर्दा सानैदेखि किताब पढ्न थालेँ । एउटा पाना पढेपछि अर्को पाना, एउटा किताब पढेपछि अर्को किताब पढ्ने बानी बस्दै गयो । जति छिटो एउटा किताब पढेर भ्यायो, उति नै छिटो अर्को पढ्न पाइन्छ भन्ने लोभ हुन्थ्यो । किताब पढ्नुपर्छ भनेर पढियो, किताब पढ्यो भने ज्ञानी भइन्छ भनेर होइन कि कथा कहाँ गएर टुंगिन्छ भन्ने उत्सुकताले म किताबको संसारमा हराउन थालेँ ।
- दिनमा कति समय पढ्नुहुन्छ, पढ्ने समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
दिनमा यति समय पढ्छु भन्ने मेरो कुनै नियम छैन । कुनै बेला घरायसी जिम्मेवारी, जागिर र व्यस्तता धेरै हुँदा राति निद्रा कम गरेर पढ्नुपथ्र्यो । त्यति बेला समय अभावले पढ्न एकदम गाह्रो थियो । अहिले मसँग समय छ । अहिले त छोरीहरू हुर्किए, दुवै बाहिर छन् । केही जिम्मेवारी घटेको र जागिर पनि नगरेकाले घरको काम सकाएर दिनभरि पनि पढ्छु । पढ्ने मात्रै होइन लेख्ने पनि गर्छु । प्रकाशनगृह भएकाले पाण्डुलिपि पढ्नैपर्यो । पछिल्लो एक वर्षदेखि बाहिरको व्यस्तता र सामाजिक भेटघाटहरू कम गरेर अलि बढी पढ्न थालेकी छु ।
पहिले व्यवस्ताले गर्दा समय कम हुन्थ्यो, यद्यपि समय निकालेर अनुसन्धान लेखन, प्रकाशनका लागि दोहोर्याएर–तेहर्याएर पाण्डुलिपि सम्पादन आदि गर्थें । कामको बिचमा बचेको केही समय पनि म पढ्नमै खर्चन्थेँ । महिलाको घरायसी दायित्व नै धेरै हुने, दायित्व अलिक कम हुँदै गएपछि मात्रै पढ्ने समय मिल्दो रहेछ । जहाँ इच्छा, त्यहाँ उपाय भन्छन् नि ! पढ्न रुचि भएपछि जे जसरी पनि समय निकालिँदो रहेछ ।
किताब पढ्नुपर्छ भनेर पढियो, किताब पढ्यो भने ज्ञानी भइन्छ भनेर होइन कि कथा कहाँ गएर टुंगिन्छ भन्ने उत्सुकताले म किताबको संसारमा हराउन थालेँ ।
- किताब किन्नका लागि खर्च कति गर्नुहुन्छ ?
तपाईंको यो प्रश्नको जवाफ दिनुअघि मैले एउटा ‘डिस्क्लेमर’ दिनुपर्छ । मैले यति किताब पढेँ, यति किताब किनेँ र म यति घन्टा पढ्छु जस्ता विषय मेरा लागि गर्व गर्ने विषय होइनन् । किनकि किताब किन्न, पढ्न र त्यसलाई समेटेर राख्नका लागि पैसा हुनुपर्छ । पैसा छ, पढ्ने समय छ, किताबहरू सँगालेर राख्ने ठुलो कोठा छ भने राम्रो हो । नेपालका विभिन्न क्षेत्र, विशेष गरेर दुर्गम क्षेत्रमा आज पनि विद्यार्थीलाई पाठ्य पुस्तक सहज उपलब्ध हुँदैन; अरू साहित्यिक र गैरसाहित्यिक किताबको त कुरै छाडौँ । देशमा एउटा गतिलो सार्वजनिक पुस्तकालय छैन । पैसा नहुनेले पढ्ने रहर हुँदाहुँदै कसरी पढ्ने ? परिवारको जीविका चलाउनेले किताब पढ्ने समय कसरी समायोजन गर्ने !
मैले किताब पढ्छु, किताब छाप्छु र किताब लेख्छु । त्यसका लागि समय चाहिन्छ र अहिले मेरा लागि पैसाभन्दा पनि समय अमूल्य हुँदै गएको छ । त्यसैले यति पढेँ र उति पढेँ भन्ने कुरा मलाई गर्व गर्ने विषयजस्तो लाग्दैन । मेरो विचारमा हामीले पढेका साहित्यिक किताबहरू, रिसर्चका किताब पछिसम्म चाहिन्छ, किताब किन्न नसक्ने पाठकलाई अथवा सार्वजनिक पुस्तकालय बनाउने प्रयास गरिरहेका ठाउँमा किताब दिँदा राम्रो होला ! म आफू त्यही गर्छु ।
अब म तपाईंको प्रश्नमा आउँछु, म पहिला किताब किन्थेँ । विश्वसाहित्य र गैरसाहित्यका राम्रा किताब किनेर राख्न मन लाग्थ्यो, बजारमा आएका नयाँ किताब अहिले पनि किन्छु र विदेशी किताबको राम्रो समीक्षा पढेँ भने किन्ने प्रयास गर्छु । हिजोआज किताब राख्न ठाउँ चाहिएकाले र समायोजन गर्न गाह्रो हुँदै गएकाले म सकेसम्म विदेशी लेखकका ई–बुक्स किनेर पढ्छु । नेपाली लेखकका किताब प्रिन्ट भर्सनमा पढ्छु ।
- पछिल्लो समय के कस्ता पुस्तक धेरै पढिरहनुभएको छ ? हालैका दिनमा पढेको पुस्तक कुन थियो ? कस्तो छ यो पुस्तक ?
पछिल्लो समय मैले तीनवटा किताब पढेँ— रमेश भुसालको ‘छालबाटो’, राधिका कल्पितको ‘सम्मोहन’ र सलमान रश्दीको ‘नाइफ’ । सलमान रश्दीमाथि भएको ज्यानघाती हमलापछि लेखिएको आत्मपरक किताब हो, नाइफ । उनी बोल्न गएको एउटा कार्यक्रममा उनीमाथि हमला भयो र उनले दाहिने आँखाको दृष्टि गुमाए ।
अहिले मैले डा. अल्का आत्रेयले अनुवाद गरेको कृति ‘नुन र चामल’ पढ्दै छु । यो हाना राउबरले लेखेको ‘अफ साल्ट एन्ड राइस’को अनुवाद हो । यसमा सुदूरपश्चिममा भोटे खाम्पाहरूको जीविका कसरी चल्थ्यो, उनीहरूले भोटबाट नुन कसरी ओसार्थे आदि वर्णन छ र यसमा रोचक चित्रहरू पनि छन् ।
- तपाईंले बारम्बार पढ्नुभएको कुनै पुस्तक ?
बारम्बार पढ्न खोजेका पुस्तक धेरै छन् । नामै लिनुपर्दा सिमोन द बुभाको ‘द सेकेन्ड सेक्स’ किताब मैले अनुसन्धानका क्रममा घरीघरी पढ्नुपर्यो । कहिलेकाहीँ कोटेसन, साइटेसनका लागि चाहिन्छ । रिसर्च पेपर लेख्ने बेला यो किताबबाट ‘कोट’ बढी गरेकी छु । मेरो कामको क्षेत्र नै महिलाको परिचय र महिलाको स्वायत्ततासँग जोडिएको छ । आवश्यकता अनुसार सेकेन्ड सेक्स र जुडिथ बट्लरका ‘बोडिज द्याट म्याटर’, ‘जेन्डर ट्रबल’ किताब बारम्बार पढ्नुपरेको छ ।

- तपाईंलाई धेरै मन परेको विदेशी पुस्तक कुन हो, मन पर्नुको कारण !
एउटा मात्रै ? यो त अलिक गाह्रो भयो । मलाई मन परेका केही विदेशी पुस्तक छन् । किन मन पर्यो भन्ने थाहा छैन । एकदम अमिट छाप छाडेको पुस्तकमध्ये एक हो, एमिली ब्रोन्टेको ‘वदरिङ हाइट्स्’ । यसमा वर्णन गरिएको प्रेम र बदलाको अनौठो भावनाले मलाई निकै पिरोल्यो । यो पुस्तक पढ्दा मेरो उमेर त्यति परिपक्व थिएन, न त म प्रेममै परेकी थिएँ । अहिले त मैले जीवनमा विभिन्न उतारचढाव देखिसकेकी छु । ममा एक खाले परिपक्वता पनि आएको छ । यो किताब फेरि पढेँ भने फरक धारणा बन्न सक्छ, फरक अर्थ निस्केला तर मन परेको विदेशी पुस्तक भन्नेबित्तिकै मेरो दिमागमा ‘वदरिङ हाइट्स्’ आइहाल्छ ।
अर्को पुस्तक हो, विलियम गोल्डिङको उपन्यास ‘लर्ड अफ फ्लाइज’ । यो किताबमा सभ्यता र क्रूरताको कथा छ । एउटा विमान दुर्घटना भएर बच्चाहरूको एउटा समूह कुनै टापुमा अलपत्र पर्छ । उनीहरूले त्यहाँबाट निस्कने कुनै बाटो भेट्दैनन् । सबै त्यहीँ बस्छन्, खेल्छन् । खेल्दाखेल्दै बिस्तारै उनीहरूमा क्रूरता जाग्न थाल्छ । उपन्यास एकदम मार्मिक छ । उपन्यासको सार यही हो कि क्रूरता समाजमा होइन हामीभित्रै छ । समाजका नियमहरूले गर्दा त्यो क्रूरता हामीभित्रै रहन्छ ।
आजभन्दा १० वर्षअगाडि निस्केका किताबहरू जो एकदम चर्चित भए, चर्चित कसरी भए भने मिडियाले स्पेस दिए । लेखकका धेरै अन्तर्वार्ता आए, रिभ्युहरू थुप्रो छापियो तर आजका दिनमा पाठकले त्यसलाई सम्झिन्छन् कि सम्झिँदैनन् ?
- तपाईंलाई मन परेका नेपाली लेखक अनि पुस्तक कुन कुन हुन् ?
मन परेका लेखक त थुप्रै छन् । एउटा–दुइटाको नाम लिँदा धेरै छुट्छन् । प्रत्येकचोटि यस्ता प्रश्न सोध्दा मेरा उत्तर फरक हुन्छन् । आजको यस अन्तर्वार्तामा मैले लेखक र किताबको नाम किटेरै भन्नुपर्दा पहिलो नम्बरमा मदनमणि दीक्षितको माधवीको नाम लिन्छु । समय पाएँ भने दोहोर्याएर पनि पढ्छु होला यसलाई । शारदा शर्माको ‘भुइँफूलको देश’लाई फेरि पढ्न खोज्दै छु । मञ्जुश्री थापा, सञ्जीव उप्रेती, आहुति मन पर्ने लेखक हुन् । बीपी कोइरालाका किताबहरू जति पढे पनि फेरि पढ्दा फरक अर्थ पाइराख्छु । यो सूचीमा शंकर लामिछाने र उनका कृति पनि छन् ।
- जीवनमा तपाईंले कहिले कुनै पुस्तक चोर्नुभएको छ ?
अहं मैले कहिल्यै पुस्तक चोरेको छैन । मैले भनिहालेँ नि, चोर्नुपर्ने आवश्यकता परेन । बच्चैदेखि लाइब्रेरी जान्थ्यौँ । हाम्रो घरमा पनि किताबको थुप्रो थियो । साथीहरूसँग बाँडेर पनि किताब पाइहाल्थ्यौँ । चोर्नुपर्नेे स्थिति त्यति बेला हुन्छ जब आफूसँग किताब हुँदैन । ‘अक्षर क्रियसन्स’का विमोचनको दौरानमा डिस्प्लेमा राखेका केही प्रति सधैँ हराउँछन् । मलाई त्यसमा धेरै चित्त दुखाइ छैन । मलाई लाग्छ जसलाई पढ्ने इच्छा थियो, उसैले टिपेर लगेको होला ।
- यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन थियो ? त्यसबाट के पाउनुभयो ?
पहिला मलाई लाग्थ्यो कि मैले पढेको सबभन्दा ठुलो आकारको पुस्तक लियो टोल्सटोयको ‘अन्ना करेनिना’ हो । पछि मैले घरमै केन फलेटको ‘फल अफ जायन्ट्स्’ भेटेँ । १०६६ पृष्ठको यो पुस्तकलाई धेरैपटक पढ्दै राख्दै गरेँ तर पूरै पढेर भ्याएकी छैन । यो उपन्यासले १९११ देखि १९२४ सम्मको ब्रिटेन, जर्मनी, अमेरिका, वेल्स, प्रथम विश्वयुद्ध र महिला आन्दोलनको मुद्दा समेटेको छ । धेरै लामो भएकाले कहिलेकाहीँ पढ्दापढ्दै रुचि हराउँछ । यसले रुसको क्रान्ति र श्रमिक अधिकारका घटना समेटेको छ । क्रान्तिले सर्वसाधारणको जीवन र सम्बन्धमा कस्तो परिवर्तन ल्याउँछ, प्रेमलाई कसरी असर पार्छ आदि घटनाले यो पुस्तकलाई रोचक बनाएको छ । लामो उपन्यास सकाउन निकै धैर्य चाहिँदो रहेछ ।
साथै ठुलो किताब पढ्नु भनेको कुनै गर्व गर्ने कुरा होइन । साना किताब पनि गहन, रोचक र कालजयी हुन्छन् । उदाहरणका लागि हर्मन हेसको ‘सिद्धार्थ’लाई नै लिउँ । यो किताब निकै सानो छ तर यो निकै गहन छ । नयनराज पाण्डेको ‘उलार’ पनि सानो र राम्रो किताब हो । यसको अर्थ ‘फल अफ जायन्ट्स’ नराम्रो भनेकी होइन । यस्ता किताब पढ्न धैर्य र समय दुवै चाहियो । अहिले मान्छेका लागि सबैभन्दा मूल्यवान् भनेकै समय हो । पढ्नका लागि आफूसँग कति समय छ ? यति पढ्नका लागि कति समय चाहिन्छ ? यो पढेर मैले के पाउँछु ? भन्नेजस्ता प्रश्न पनि आउने रहेछन् । समय सीमित हुँदा मोटा किताब किन पढ्ने भन्नेजस्तो पनि लाग्ने रहेछ ।
मेरो सोच बदल्न भूमिका खेल्ने अर्को किताब हो, महाभारत । हुन त मैले महाभारत पूरै पढेकी छैन तर यसमा उपकथा छन्, ती कतिपय उपकथा जीवनसँग जोडिएका छन् ।
- तपाईंको सोचलाई नै बदलेको कुनै पुस्तक छ कि ?
बच्चादेखि नै पढेका केही पुस्तकले मेरो सोचलाई बल दिए होलान्, कुनै पुस्तकले मेरो सोचलाई चुनौती दियो होला ! केहीले सोच नै भत्काए, केहीले ‘ओ हो ! यस्तो पो रहेछ’ भन्दै नयाँ सोच्न बाध्य पनि गरे । हरेक पुस्तकले कि ज्ञान वा सूचना दिन्छ, कि मनोरञ्जन दिन्छ, कि पूर्व सोचलाई चुनौती दिइरहेको हुन्छ, कि त सोच परिवर्तन गरिरहेको हुन्छ । यही किताबले यही सोच परिवर्तन गर्यो भनेर किटान गर्न गाह्रो छ ।
मैले अघि पनि ‘द सेकेन्ड सेक्स’को नाम लिइसकेकी छु । हामीले सानैदेखि महिलाबारे एक खालको ‘मिसकन्सेप्सन’ सुनेर हुर्कियौँ । ‘द सेकेन्ड सेक्स’ले ती सबैलाई भत्काउने प्रयास गर्यो । हरेकपटक यो किताब पढ्दा मलाई लाग्छ, ओहो यो त आफ्नो समयभन्दा अगाडिको किताब रहेछ, साह्रै क्रान्तिकारी किताब रहेछ । महिलालाई मानवको दर्जामा ल्याएर राख्न सक्ने किताब हो यो । अहिले त महिलाको अवस्था यस्तो छ, उक्त कृति लेख्दाको बेला लेखिकाले के कस्तो स्थिति सामना गर्नुपर्यो होला ! अहिले त हामीले वर्गीय समानता, लैंगिक समानता, सामाजिक समानताको कुरा गर्दा ‘विखण्डनकारी’को आरोप खेप्नुपर्छ, त्यो जमानाकी सिमोन बुभाले कसरी आँट गरेर त्यो कृति लेखिन् होला !
मेरो सोच बदल्न भूमिका खेल्ने अर्को किताब हो, महाभारत । हुन त मैले महाभारत पूरै पढेकी छैन तर यसमा उपकथा छन्, ती कतिपय उपकथा जीवनसँग जोडिएका छन् । ती कालजयी लाग्छन् मलाई । अहिले पनि मानिसमा त्यही रिस, इष्र्या, अहंकार छ । सबै उपकथा वर्तमानमा सान्दर्भिक छन् ।
अर्को किताब हो, हर्मन हेसको ‘सिद्धार्थ’ । यसका मुख्य पात्र भित्री शान्ति–आनन्द खोज्न निस्किएका छन् । यो यात्रा बाहिरी र भित्री दुवै छ । यो मनभित्रको यात्रा पनि हो । यस्तै ‘डायरी अफ आन फ्राङ्क’, ‘एनिमल फार्म’ले पनि निकै हदसम्म मेरो सोच बदलेका छन् ।
- नेपाली साहित्यको कुन पुस्तक तपाईंलाई अन्डररेटेड जस्तो लाग्छ ? अन्डररेटेडको कुरासँगै ओभररेटेडको पनि कुरा आउला !
हाम्रोमा आजभन्दा १० वर्षअगाडि निस्केका किताबहरू जो एकदम चर्चित भए, चर्चित कसरी भए भने मिडियाले स्पेस दिए । लेखकका धेरै अन्तर्वार्ता आए, रिभ्युहरू थुप्रो छापियो तर आजका दिनमा पाठकले त्यसलाई सम्झिन्छन् कि सम्झिँदैनन् ? ‘अन्डररेटेड र ओभररेडेट पुस्तक जाँच्ने–बुझ्ने एउटा तराजु समय हो जस्तो लाग्छ । नाम भन्नैपर्दैन, यस्ता धेरै किताब आइरहेका छन्, सुरुमा त मिडियामा निकै चर्चा सुनिन्छ, निकै हाइहाई हुन्छ तर केही समयपछि त्यो बिलाउँदै हराउँदै जान्छन् । ती हराउँदै गएका किताब सबै ओभररेटेड हुन् ।
- लेख्न बस्दा तपाईं पाठकलाई केन्द्रमा राख्नुहुन्छ कि आफूलाई ? तपाईंलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?
लेख्न बस्दा न म पाठकलाई सोच्छु, न त आफूलाई । म लेख्दै गरेको विषयवस्तुबारेमै सोच्छु । त्यो विषयवस्तुको वरिपरि कथा बन्दै जान्छन् । मलाई लाग्छ, लेख्ने बेला पाठक मेरो दिमागमै हुँदैनन् । तपाईंले यो पनि सोध्नुपथ्र्यो कि ‘पुरस्कारलाई सोचेर लेख्नुहुन्छ ?’ (हाँसो) ।
विषयवस्तु राम्ररी आइरहेका छन् कि छैनन्, पात्रहरू जीवन्त भए कि भएनन्, मैले भन्न खोजेको कुरा स्पष्ट छ कि छैन, कतै शब्दले दुई अर्थ दिए कि ! लेखिरहँदा मेरो ध्यान यस्तै कुरामा बढी जान्छ । लेखिसकेपछि भने आफैँ पाठक र आलोचक भएर पढिरहेकी हुन्छु ।
लेख्नलाई मलाई कुन कुराले बढी प्रेरित गर्छ भन्नेबारे मैले सोचेकै रहेनछु । मलाई लाग्छ कुनै पनि विषयवस्तु, कुनै दिन देखेको कुनै पात्र, मनमा बिझाएका कुरा आदिले जब तान्न थाल्छ, त्यो मेरो दिमागमा बलियो गरी बस्छ । कहिलेकाहीँ त गफगाफको दौरानमै कुनै विषयवस्तु वा पात्र सजीव हुन थाल्छन् । यस्तै यस्तै कुरा भएपछि लेखनको विषयवस्तु बुनिन थाल्दो रहेछ । म यही विषयमा लेख्छु भनी सोच–विचार गरेर मैले लेख्ने गरेकी छैन ।
- आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ ?
आख्यान र गैरआख्यान दुवै महत्त्वपूर्ण हुन् । आफ्नो आवश्यकता के छ भन्ने कुरा पनि आउँछ । जब म अनुसन्धान गरिराखेकी हुन्छु; कुनै लेख, आर्टिकल लेखिरहेको हुन्छु भने त्यति बेला मलाई गैरआख्यान चाहिन्छ । सम्बन्धित वा सान्दर्भिक कोटेसन, साइटेसन लिनका लागि पनि मैले गैरआख्यान पढ्नैपर्छ । पीएचडी गर्ने बेला थुप्रो गैरआख्यान पढ्नुपर्यो । यसरी गैरआख्यानप्रति मेरो रुचि र झुकाव बढ्यो । गैरआख्यानले तर्कसम्मत बनाउँछ, आफ्नो सोचलाई नै चुनौती दिएको समेत पाउँछु; कति कुराहरू यस्तो होइन भनेर अथवा हो कि होइन भनेर मन्थन गर्नलाई सघाउँछ । यद्यपि पढ्न मन लाग्ने, फुर्सदको समय बिताउन मनले पढ्न खोज्ने आख्यान नै हो मेरा लागि ।
- आफैँ किताब बन्न पाउने भए कुन विधाको बन्नुहुन्थ्यो होला ?
म आफैँ किताब बन्ने हो भने आख्यान नै बन्थेँ होला ।
एक मनले सोच्दा यी सबै कुरा आफूमा भर पर्ने जस्तो पनि लाग्छ । मेरो कुरा गर्दा म कतिपय कथाहरू अनलाइनमा पढ्छु; साहित्यका पत्रिका तथा म्यागजिनहरू अनलाइनमै हेर्छु ।
- अहिले यो सामाजिक सञ्जाल र डिजिटल युगले पुस्तकको यात्रा कहाँ पुर्यायो जस्तो लाग्छ ?
विश्व स्तरमा हेर्ने हो भने डिजिटल मिडियाले पठन संस्कृतिमा सघाउ पुर्याएको पाउँछु । मान्छेहरूले लेख, आख्यान पीडीएफ फाइलमा पढ्ने वा किन्ने क्रम बढेको छ । पुस्तकको उपलब्धता पहिलाको दाँजोमा सहज बनेको छ । नेपालमा जुन किसिमले साहित्यिक उत्सव तथा महोत्सवहरू भइरहेका छन्, पुस्तकका चर्चा भइरहेका छन्, लेखकको अन्तर्वार्ता भइरहेका छन्— यी सबैले पठन संस्कृतिलाई सघाउ नै पुर्याउँछन् तर नेपालमा एउटा तप्का इन्स्टा, टिकटकमा बढी झुम्मिरहेका छन् । जुन युवा तप्काले धेरै पुस्तक पढ्नुपथ्र्यो, उनीहरूले त्यति धेरै पढेको जस्तो मलाई लाग्दैन । सबैको हातहातमा फोन छन्, स्ट्रिमिङ साइट छन्, केही यतातिर अलमलिएर बसेका छन् । यसले नेपालीको पठन संस्कृतिलाई नराम्रो असर पारेको छ जस्तो मलाई लाग्छ ।
एक मनले सोच्दा यी सबै कुरा आफूमा भर पर्ने जस्तो पनि लाग्छ । मेरो कुरा गर्दा म कतिपय कथाहरू अनलाइनमा पढ्छु; साहित्यका पत्रिका तथा म्यागजिनहरू अनलाइनमै हेर्छु । अरुले सेयर गरेका राम्रा लेखहरू, राम्रा कथाहरू पढिरहेकी हुन्छु । के गर्ने, के पढ्ने भन्ने कुरा आफूमाथि भर पर्दो रहेछ ।
अहिलेका मान्छेसँग विकल्प धेरै छन् । धेरै विकल्पले मान्छेलाई कन्फ्युज बनाउँछ । सर्च डिजिटल मिडियाको प्रयोग आफूमाथि पनि भर पर्छ । पढ्नमै रुचि छ भने त यो डिजिटल युगले सघाउ नै पुर्याउँछ ।
- पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाउनुहुन्छ ? अनि आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?
नेपालको पठन संस्कृति कहीँ–कतै सतही पनि बन्दै गएको छ । राम्रा पाठक घट्दै गएका छन् कि जस्तो पनि लाग्छ । अचेल किताब पढ्नेभन्दा चाँडो समीक्षा लेख्ने हतारो बढी देखिएको छ । समीक्षाहरू व्यक्तिगत सम्बन्धमा आधारित नभएकै राम्रो, निष्पक्ष हुनुपर्छ । यसले गर्दा साहित्यिक मूल्याङ्कनको स्तर घटाउने हो कि भन्ने डर छ । आजको साहित्य हतारको साहित्य बन्दै गएको हो कि भन्ने पनि लाग्छ ।
आजका पाठकलाई मेरो सुझाव यही हो— पढ्न समय दिनुहोस्, निष्पक्ष ढंगले समीक्षा गर्नुहोस्, लेखकको कमजोरी औँल्याउन नडराउनुहोस् । तपाईंको इमानदारीले साहित्यलाई सशक्त बनाउँछ ।
- तपाईंको आगामी योजना के छ ?
आगामी दिनका लागि योजना भनेको मेरो आफ्नो ‘उपन्यास’ प्रकाशन नै हो । अहिले म यसमै काम गरिरहेकी छु । उपन्यासको फाइनल ड्राफ्ट त सकिसक्यो, अरु काम बाँकी छन् । फेरि आफैँ प्रकाशक पनि छु, प्रकाशनसम्बन्धी काम टन्नै छन् । छाप्न बाँकी म्यानुस्क्रिप्टहरू छन् दुइटा । म्यानुस्क्रिप्ट आइराख्छन्, त्यो पनि पढ्नुपर्यो । अर्कोतिर किताबसँगको मेरो संगत सधैँका लागि हो ।
तत्कालै केही महिना आफ्नै उपन्यासमा व्यस्त हुनेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण