बाँदरले हैरान पारेपछि रुपा गाउँपालिकाको जुक्ति : अदुवा, टिमुर र हलेदो रोप्ने
सारांश
- कास्कीको रुपा गाउँपालिकाले बाँदर आतङ्कबाट किसानलाई जोगाउन नयाँ कार्यक्रम ल्याएको छ, जसमा बाँदरले मन नपराउने नगदे बाली लगाइनेछ।
- गाउँपालिकाले आगामी आर्थिक वर्षमा मसलाजन्य नगदे बाली लगाउन किसानलाई प्रोत्साहन गर्दै उत्पादनमा आधारित अनुदान दिने घोषणा गरेको छ, जसका लागि ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- गाउँपालिकाले आगामी वर्षका लागि ४८ करोड ५५ लाखको बजेट प्रस्तुत गरेको छ, जसमा पूर्वाधार, सामाजिक विकास, शिक्षा र पर्यटन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ।
पोखरा । कास्कीको रुपा गाउँपालिकाले हरेक वर्ष बाँदर आतङ्क टार्न नयाँ नयाँ कार्यक्रम ल्याउँछ । कहिले बाँदर समात्ने कार्यक्रम ल्याएको रुपाले कहिले बाँदर लखेट्ने कार्यक्रम ल्यायो । तर किसानको बालीमा हुने क्षति रोकिएन । समातेर पनि पार लागेन, लखेटेर पनि पार लागेन । अन्ततः बाँदरले नखाने खेती लगाउने नौलो जुक्ति अघि सारेको छ ।
बाँदर आतङ्कले बाली सखाप पारेर आजित किसानलाई राहत दिन बाँदरले मन नपराउने खेती लगाउने कार्यक्रम घोषणा गरेको हो । ‘बाँझो खेतमा यसपालि : बाँदरले असर नपार्ने नगदे बाली’ भन्ने नारासहित अदुवा, लसुन, बेसार र टिमुर जस्ता बाली लगाउन किसानलाई विशेष कार्यक्रम घोषणा गरिएको छ ।
‘हाम्रा किसानले जति खेती लगाए पनि भित्र्याउन पाएनन् । लखेटेर पनि बाँदर सकिएन, समातेर राष्ट्रिय निकुञ्जमा पनि पठाइयो,’ पालिका अध्यक्ष नवराज ओझा भन्छन्, ‘बाँदर हेरालोको व्यवस्था पनि गर्यौँ, बाँदरले नै टेर्न छोड्यो । केही पार नलागेपछि खेती प्रणाली फेर्न लागेका हौँ ।’ उनका अनुसार नगदे बाली प्रवर्द्धन गर्न ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
आइतबार गाउँपालिकाकी उपाध्यक्ष लाल सुब्बा गुरुङले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै करिब ४ हजार रोपनी जमिनमा मसलाजन्य नगदे बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने बताइन् । किसानहरूलाई यो कार्यक्रममा सहभागी गराउन गाउँपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको उनले सुनाइन् ।
‘उत्पादनमा मात्रै होइन, बजारीकरणमा पनि पालिकाको ध्यान छ । राम्रो उत्पादन गर्ने किसानलाई अनुदान कार्यक्रम ल्याएका छौँ,’ उनी भन्छिन्, ‘कृषिमा रुचि भएर पनि बाँदर आतङ्कले हैरान भएका किसानलाई राहत मिल्छ ।’
रुपा गाउँपालिकाले हरेक वर्ष कृषिको नयाँ कार्यक्रम सार्वजनिक र कार्यान्वयन गर्दै आएको छ । चालू वर्षमा ‘एक घर एक घार’ कार्यक्रम लागू भएको छ । यसबाट किसानले माग गरेको आधारमा मौरी र घार अनुदानमा उपलब्ध गराइएको पालिकाले जनाएको छ । यसअघि वडा स्तरीय कृषि पकेट कार्यक्रम पनि सञ्चालन गरिएको थियो । आगामी वर्षका लागि कृषिमा मात्रै २ करोड ९७ लाख विनियोजन गरेको रुपाले पशुतर्फ १ करोड ९९ लाख छुट्टाएको छ ।
यसैबिच, रुपा गाउँपालिकाले आगामी वर्षका लागि ४८ करोड ५५ लाखको बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँसभामा अध्यक्ष नवराज ओझाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेपछि उपाध्यक्ष लालसुब्बा गुरुङले बजेट वक्तव्य पेस गरेकी हुन् । कुल बजेटमध्ये चालुतर्फ ३३ करोड ३४ लाख अर्थात् करिब ६९ प्रतिशत र पुँजीगततर्फ १५ करोड २० लाख अर्थात् ३१ प्रतिशत छ ।
गाउँपालिकाले पूर्वाधारतर्फ विनियोजन गरेको बजेटको ५० प्रतिशत भन्दा बढी रकम पालिका भवन निर्माणमा छुट्टाएको छ । पालिका भवनका लागि मात्रै ६ करोड विनियोजन गरिएको अध्यक्ष ओझाले बताए । पूर्वाधारतर्फ १० करोड ८९ लाख बजेट विनियोजन भएको छ ।
यस्तै, पालिकाको गौरवको योजना शिवचण्डी मोटर बाटो स्तरोन्नतिका लागि २ करोड १८ लाख रुपैयाँ छुट्याइएको छ । आगामी वर्ष कार्यान्वयन हुने गरी सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी २१ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
जसमध्ये शिक्षा क्षेत्रमा १६ करोड ७२ लाख विनियोजन भएको छ भने स्वास्थ्यमा ३ करोड ५९ लाख बजेट छ । यस्तै, पर्यटन विकासका लागि ५५ लाख विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण