शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

आँखाको समस्या बोकेरै गाडी चलाउँछन् ट्याङ्कर चालक, दुर्घटनाको जोखिम

पेट्रोलियम पदार्थको प्रत्यक्ष सम्पर्कमा रहनाले ‘केमिकल कन्जन्टिभाइटिस’को समस्या व्यापक
सोमबार, ०९ असार २०८२, ०८ : ३०
सोमबार, ०९ असार २०८२

काठमाडौँ । अमलेखगञ्जदेखि काठमाडौँको थानकोट डिपोसम्म पेट्रोलियम ट्याङ्कर चलाउँदै आएका जितनारायण यादवले जीवनको २५ वर्ष यही पेसामा बिताए । 

तर पछिल्ला केही वर्षयता उनको दैनिकी कष्टकर बन्दै गएको थियो । राति गाडी चलाउँदा विपरीत दिशाबाट आउने गाडीमा उनी तिर्मिराउँथे । दिनमा पनि घाम लागेको वेला धमिलो देख्न थालेका थिए । समस्या बढ्दै गएपछि उनले आँखा जाँच गराए । ५२ वर्षीय यादवलाई मोतीबिन्दु भएको पत्ता लाग्यो ।

यस्तै नियति भोगिरहेका अर्का चालक हुन्, ४३ वर्षीय सुनिल लामा । एक दशकदेखि यही पेसामा जीविकोपार्जन गरिरहेका उनलाई पनि आँखा पोल्ने, चिलाउने र टाढाका वस्तु ठम्याउन नसकिने अवस्था आयो । समस्या बढ्दै गएपछि परीक्षण गराउँदा उनको आँखामा मासु पलाएको भेटियो । 

जितनारायण र सुनिल प्रज्वलनशील पदार्थ बोक्ने चालकहरूले भोगिरहेको स्वास्थ्य समस्याका प्रतिनिधि पात्र हुन् । 

हालै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, मेडप्वइन्ट अस्पताल, नेपाल आयल निगम थानकोट र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले आयोजनामा स्वास्थ्य शिविर बसेको थियो । 

जहाँ आँखा परीक्षण गराएका चार सय जना चालक तथा सहचालकमध्ये एक सय ८४ जना अर्थात् करिब ५० प्रतिशतमा आँखासम्बन्धी कुनै न कुनै समस्या पाइएको छ । चिन्ताको अर्को विषय त के देखियो भने, यस्तो गम्भीर अवस्था हुँदा पनि उनीहरूले सवारीसाधन चलाउन छाडेका छैनन् । अर्थात् जोखिमपूर्ण यात्रालाई निरन्तरता दिइरहेका छन् । जसले सडकमा गम्भीर दुर्घटनाको जोखिम बढाएको छ ।

शिविरमा परीक्षण गरिएकाहरूमा केमिकल कन्जन्टिभाइटिसका साथै आँखामा मासु पलाउने, मोतीबिन्दु, आँखा सुक्खा हुने (क्रोनिक ड्राइ आई) र मधुमेहका कारण आँखाको पर्दामा असर पर्नेजस्ता समस्याहरू भेटिए । 

नेपाल आँखा अस्पतालका डाक्टर रोहित बज्राचार्यका अनुसार चालक तथा सहचालकहरू लामो समयसम्म पेट्रोलियम पदार्थको प्रत्यक्ष सम्पर्कमा रहनाले उनीहरूमा ‘केमिकल कन्जन्टिभाइटिस’को समस्या व्यापक रूपमा देखिएको छ । ‘तेलको ट्याङ्कर चलाउँदा चालक र सहचालकहरू तेलको नजिकै हुन्छन् । पेट्रोलियमबाट एक किसिमको ग्यास निरन्तर निस्किरहेको हुन्छ, जसले आँखाको नानी र अकुलर सर्फेसमा ‘इरेगुलरिटी’ ल्याउँछ । यसै कारण केमिकल कन्जन्टिभाइटिस हुन्छ,’ उनले कारणबारे भने । 

यसको कारण आँखाबाट निरन्तर आँसु आउने, आँखा मिचिरहन मन लाग्ने र गाडी चलाउन अप्ठ्यारो हुने समस्या अधिकांश चालकले भोग्ने गरेका उनको भनाइ छ । 

शिविरमा परीक्षण गरिएकाहरूमा केमिकल कन्जन्टिभाइटिसका साथै आँखामा मासु पलाउने, मोतीबिन्दु, आँखा सुक्खा हुने (क्रोनिक ड्राइ आई) र मधुमेहका कारण आँखाको पर्दामा असर पर्नेजस्ता समस्याहरू भेटिए । 

‘२०–३० वर्षदेखि गाडी चलाइरहेका चालकहरूको आँखाको स्थिति कस्तो छ भन्ने कुरामा कसैको ध्यान गएको छैन,’ डा. बज्राचार्य थप्छन्, ‘दिनहुँ बढिरहेको सडक दुर्घटनाको एउटा महत्त्वपूर्ण कारण यो पनि हो ।’

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका केन्द्रीय अध्यक्ष ईश्वर लामाका अनुसार २५ देखि ६० वर्ष उमेर समूहका चालकहरूमा आँखाको समस्या भए पनि नियमित परीक्षण गराउनुपर्छ भन्ने चेतनाको कमी छ । 

नेपाल आयल निगमले पनि यस समस्यालाई स्विकार्दै चालकहरूलाई पूर्ण उपचारपछि मात्र ट्याङ्कर चलाउन आग्रह गरेका छ । 

लामाका अनुसार अनियमित खानपान र अनिद्राका कारण धेरैमा मधुमेहजस्ता दीर्घकालीन रोग त बढेकै छ, अर्कोतिर पेट्रोलियम ग्यासको प्रत्यक्ष असरले आँखाको ज्योति नै जोखिममा परेको छ । ‘ट्याङ्कर साहु र आयल निगमजस्ता सरोकारवाला निकायले चालकको आँखा स्वास्थ्यमा चासो नदिँदा दुर्घटनाको त्रास बढेको छ,’ उनले कारणबारे बताए । 

लामाका अनुसार देशभर रहेका पेट्रोलियम पदार्थका डिपोमा करिब ४२ सय चालक तथा सहचालक जोडिने गर्छन् । उनीहरूको आँखाको नियमित परीक्षण भने हुन सकेको छैन । 

एउटा ट्याङ्करमा करिब ५० लाख मूल्य बराबरको डिजेल–पेट्रोल हुने र चालकको सानो गल्तीले करोडौँको धनमाल मात्र नभई मानवीय क्षतिसमेत निम्त्याउन सक्ने लामा चेतावनी दिन्छन् । ‘उहाँहरूको धन त क्षति हुन्छ नै, सँगसँगै सडकमा गुडिरहेका स्कुटर, गाडी र हिँडिरहेका बटुवालाई पनि ठक्कर दिन सक्छन् । यसले धन र जन दुवैको अपूरणीय क्षति हुन्छ ।’

त्यस्तै पेट्रोल पम्प वा डिपोमा तेल खन्याउँदा उड्ने बाफ (भेपर) ले स्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने भएकाले चालकहरूले सुरक्षाका लागि विशेष चस्मा, बुट, पञ्जाजस्ता सामग्री लगाउनुपर्ने उनी सुझाउँछन् । तर नेपालमा सुरक्षा मापदण्डको पालना निकै कमजोर रहेको उनी तर्क गर्छन् । 

नेपाल आयल निगमले पनि यस समस्यालाई स्विकार्दै चालकहरूलाई पूर्ण उपचारपछि मात्र ट्याङ्कर चलाउन आग्रह गरेका छ । 

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट भन्छन्, ‘प्रज्वलनशील पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करलाई दुर्घटना हुनबाट जोगाउन चालकहरूको आँखा स्वास्थ्य परीक्षण प्राथमिकता राखेर सङ्घसँग मिलेर अघि बढ्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप