न्यायपालिकामाथि कानुनमन्त्रीले हस्तक्षेप गरेको भन्दै आपत्ति, छानबिनको माग
सारांश
- नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले कानुनमन्त्री अजयकुमार चौरसियाको न्यायिक क्षेत्रमाथिको हस्तक्षेपप्रति आपत्ति जनाएको छ।
- मन्त्री चौरसियाले विचाराधीन मुद्दामा प्रभाव पार्न खोजेको, न्यायाधीशलाई फोन गरेको, सरुवामा दबाब दिएको र फैसला प्रक्रियामा हस्तक्षेप गरेको आरोप छ।
- सङ्गठनले मन्त्रीको कार्यलाई संविधान र न्यायपालिकाको अवधारणा विपरीत भन्दै छानबिन र कारबाहीको माग गरेको छ।
काठमाडौँ । न्यायिक क्षेत्रमाथि कानुनमन्त्री अजयकुमार चौरसियाद्वारा निरन्तर र असंवैधानिक हस्तक्षेप गरिएको भन्दै नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनले आपत्ति जनाएको छ ।
सोमबार सार्वजनिक विज्ञप्तिमार्फत सङ्गठनले मन्त्री चौरसियाको व्यवहारलाई संविधान, कानुनी शासन र स्वतन्त्र न्यायपालिकाको अवधारणाविपरीत भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, 'प्राप्त प्रमाणहरू र विश्वसनीय सञ्चारमाध्यममा आएका समाचारहरू अनुसार कानुनमन्त्रीले विचाराधीन मुद्दामा प्रभाव पार्ने नियतले न्यायाधीशहरूलाई बारम्बार फोन गरेका, मुद्दाको पेशी व्यवस्थापनमा अनावश्यक चासो देखाएका, सरुवा र पदस्थापनमा दबाब दिएका तथा फैसला प्रक्रियामै हस्तक्षेप गर्न खोजेका छन्।'
सङ्गठनले मन्त्री चौरसिया न्याय परिषद्को सदस्य रहेको अवस्थामा यस्तो हस्तक्षेप गर्नु अति खेदजनक, आपत्तिजनक र खतरनाक कार्य भएको बताएको छ।
संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिच शक्ति पृथकीकरणको स्पष्ट व्यवस्था गरेको भए पनि कार्यपालिका पक्षबाटै न्यायपालिकामाथि यस्तो हस्तक्षेप हुनु लोकतान्त्रिक शासन प्रणालीका लागि खतरा भएको सङ्गठनको ठहर छ।
यस्ता गतिविधिले न्यायाधीशहरूमा भय र निराशा उत्पन्न गराउनुका साथै न्यायिक सेवामा कार्यरत कर्मचारीहरूमा समेत असुरक्षा र पेसागत नैतिकताको सङ्कट पैदा गराउने उल्लेख गरिएको छ ।
सङ्गठनले न्यायपालिकामाथिको हस्तक्षेपको निष्पक्ष छानबिन गर्न, कानुनमन्त्रीको कल डिटेल रेकर्ड लगायतका प्रमाणहरूको विश्लेषण गरी दोषी ठहर भएमा कानुन अनुसार कारबाही गर्न र संवेदनशील पद सम्हाल्ने पदाधिकारीहरूका लागि आचारसंहिता कडा बनाउन पनि माग गरिएको छ ।
गत असार ५ गते स्वतन्त्र सांसद डा। अमरेश सिंहले प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री अजयकुमार चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आरोप लगाउँदै कल डिटेल सार्वजनिक गर्न माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण