शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

इजरायलका ‘बङ्कर’बाट देश र सपना सम्झँदा...

बुधबार, ११ असार २०८२, ११ : ४०
बुधबार, ११ असार २०८२

सन् २०२२ को सेप्टेम्बरमा वैदेशिक रोजगारीका सिलसिलामा म इजरायल आएकी थिएँ । पवित्र भूमि भनेर चिनिने इजरायल समय समयमा युद्धका कारण चर्चामा रहने गर्छ । भर्खरै इरानसँग युद्धको मैदानमा उत्रिएको इजरायलले बेला बेला अन्य देशसँग पनि टक्कर लिन पुगेको देखिन्छ । 

आफ्नै आँखा र कानले महसुस गरेको यहाँको युद्ध कहिले शान्त भएजस्तो लाग्ने त कहिले सबै सकिन्छ जस्तै हुने । आउँदै गरेका रकेट–मिसाइल भुइँमा झर्न नदिई आकाशमै ध्वस्त पार्ने कुरा सुनेर मलाई बडो अनौठो लागेको थियो । कसरी रोक्छ भन्ने कुतूहलता अझै पनि छ । अहो, विश्व कहाँ पुगेको रहेछ हामी कहाँ रहेछौँ ! 

परिश्रम गर्ने र त्यसको मूल्य पाउने मुलुक रहेछ यो । परिश्रम अनुसारको कमाइ हुने भएरै होला, इजरायलमा केयर–गिभर र कृषितर्फ गरी करिब ५५ सय जति नेपाली कामदार रहेका छौँ । 
हामीमध्ये कोही साना बालबच्चालाई आफ्नो ओछ्यानमै छाडेर आएका छौँ भने कोही बिरामी बुबाआमालाई अस्पतालको बिस्तारामा छाडेर । सबैसँग आ–आफ्नै दुःखका पोका छन्, कसैका केही धेरै त कसैलाई थोरै तर दुखाइ त उस्तै हुन् ! हामी सबै यही एउटै भुइँमा उभिएका छौँ ।

यो युद्धरत देशमा काम खोज्दै आउनुको आ–आफ्नै बाध्यता छन्, रहर होइनन् । सबैले जीवनशैली बदल्न चाहन्छन् । यतिको दुःख गरेर यहाँ जत्तिकै कमाइ हुने भए हामी देशमै बस्थ्यौँ । त्यसो त गर्न सके देशमै सुन फल्छ भन्नेहरू पनि छन् । यसो भन्नेहरूले सुन फलाउन सर्वप्रथम त लगानी वा पुँजी चाहिन्छ, बजार र वातावरण चाहिन्छ भन्ने बिर्सन्छन् ।  

खैर हामी शान्त देश र समाजमा हुर्केका मान्छे; यहाँ आएपछि मिसाइल, रकेट, बम–बारुदका कुरा सुन्न मात्र होइन देख्न पनि थालियो । आफ्नै टाउको माथिबाट पृथ्वीमा आइरहेका गोला पनि हामीले देखिरहेका छौँ । समय र परिस्थितिले मान्छेलाई कति बेला कहाँ पुर्‍याउँछ, त्यो पत्तै नहुने रहेछ । हिजो हामी उभिएको ठाउँ र आज उभिएको ठाउँ पृथ्वी नै भए पनि समय र परिस्थिति अनुकूल फरक–फरक हुँदा रहेछन् । जीवनलाई सहज बनाउने मनसायले बिदेसिएका हामी न स्वेच्छाले स्वदेश फर्कन चाहन्छौँ न त विदेशको भूमिमा देहत्याग गर्न चाहन्छौँ ! हामी कति अन्योलमा छौँ । हाम्रो देशमा उत्पन्न बेरोजगारी, भ्रष्टाचार र अस्थिर राजनीतिक अवस्थाले नै हामीलाई यस्तो अवस्थामा पुर्‍याएको हो । 

म पनि धेरैपटक आफ्नो ज्यान बचाउन बङ्करतर्फ कुदेकी छु । बङ्करमा पसेलगत्तै मिसाइल पड्केका चर्का आवाज सुनेकी छु । अलि बढी चर्को आवाजमा पड्किँदा बढी नै डर लाग्थ्यो, मरिन्छ कि भन्ने हुन्थ्यो । यो क्रम दोहोरिएपछि भने डर पनि हराएर जाने रहेछ अर्थात् अभ्यस्त भइँदो रहेछ ।

देखिँदा सुकिला–मुकिला देखिए पनि दुःख र परिश्रमविना यहाँ केही हुँदैन । आफ्नो परिवारको महत्त्वाकांक्षालाई शिरमा राखेर समाजमा आफू पनि एउटा कर्मशील योग्य नागरिक हुँ भन्नका लागि पनि आर्थिक उपार्जन अत्यन्तै आवश्यक रहेछ । 

म भुइँमान्छे, आफू र आफ्नो बच्चाको भविष्यका लागि म बिदेसिएकी हुँ । मेरा पनि दुःख छन्, मलाई पनि दुखाउँछन्, घोँच्छन्, चिमोठ्छन्, सके त निमोठ्न पनि खोज्छन् । 

आत्माभित्र एउटा शक्ति हुँदोरहेछ, जसले मलाई दुखाइ सहन उत्प्रेरित गर्छ । आफ्नो आँखाभरि सन्तानको खुसी देख्नका लागि आफ्नाअघि आएका हरेक कठिनाइलाई खुट्टाले कुल्चेर एउटा बलियो खम्बाजस्तै बन्नुपर्ने रहेछ । म मेरो सन्तानका लागि स्तम्भ नै हुँ, उसका आँखाले मलाई कुरिरहेका छन् । 

पहिले सोँच्थे— कस्तो होला यो विदेश भन्ने ठाउँ ? कस्ता होलान् त्यहाँका मान्छे ! के खान्छन् होला, के गर्छन् होला ! विदेश जाँदा सात समुद्र पार गरेर जाने ठाउँ हो भन्ने पनि सुनेकी थिएँ । यस्तै कुतूहलता र प्रश्नले मनलाई खोतलिरहेको हुन्थ्यो केही समय पहिले । 

अहिले विदेशको भूमिमा कर्म गर्दै छु । यहाँ बाटोमा कुनै नेपालीलाई भेट्दा वा देख्दा पनि निकै खुसी लाग्छ, नजिकको आफन्ती भेटेजस्तो ।

विकसित देश जतिसुकै झकिझकाउ होस्, दुःख उही हुन् । काम गर्ने सिलसिलामा भोक, प्यास, रोग, निद्रासँग सम्झौता गर्नुपर्ने हुन्छ । यहाँ घाम नउदाउँदै काममा निस्कनुपर्छ र काम नसकिँदै घाम डुब्छ । दिन कति छिटो जाने, पत्तै नहुने । यहाँ काम र दामको मात्रै पछि रहेछन् मान्छेहरू । विनाकाम जीवन शून्य रहेछ । यति बुझेँ कि यहाँ आफ्नो परिश्रमको कमाइ राम्रै हुने रहेछ, श्रमको सम्मान । 

यसरी नै चलिरहेको एउटा अनुकूल समयमा अर्को प्रतिकूल परिस्थिति खडा भइदिन्छ । आकाशमा उड्दै गरेका चराचुरुङ्गी, चलिरहेको हावा, आफ्नो कर्ममा रमाइरहेका मान्छेलाई एकाएक बजेको युद्धको साइरनले बिथोल्न थाल्छ । 

मोबाइलमा इमर्जेन्सी अलर्ट बजेपछि आफ्नो सुरक्षाका लागि ‘बङ्कर’ खोज्नुपर्छ । त्यति बेला महसुस हुन्छ, आफ्नो ज्यानभन्दा अरु कुरा नगन्य रहेछन् । त्यो बेला भगवान् छन् र हामीलाई बचाउँछन् भन्ने मात्रै मनमा आउने रहेछ । 

इजरायलको सबैभन्दा राम्रो कुरा भनेको कुनै पनि खतराको संकेत हुनेबित्तिकै सबै नागरिकलाई मोबाइलमार्फत जानकारी दिइन्छ । त्यसपछि मानिसहरू आफ्नो ज्यान जोगाउन बङ्कर खोज्न थाल्छन् ।

जब इजरायल र इरानको युद्ध सुरु भयो, पहिलेको भन्दा माहोल तात्दै र बिग्रँदै भयावह हुँदै गयो । सर्वसाधारण पनि डराएको अवस्था देखियो, बाहिर सडक बजारमा कुनै चहलपहल देखिएन । स्कुल, एअरपोर्ट, होटलजस्ता ग्यादरिङ हुने ठाउँ पूर्ण रूपमा बन्द भए ।

जब राज्यले नागरिकलाई बचाउँछ, तब नागरिकले पनि आफ्नो राज्यका लागि ज्यान दिन्छ । म पनि धेरैपटक आफ्नो ज्यान बचाउन बङ्करतर्फ कुदेकी छु । बङ्करमा पसेलगत्तै मिसाइल पड्केका चर्का आवाज सुनेकी छु । अलि बढी चर्को आवाजमा पड्किँदा बढी नै डर लाग्थ्यो, मरिन्छ कि भन्ने हुन्थ्यो । यो क्रम दोहोरिएपछि भने डर पनि हराएर जाने रहेछ अर्थात् अभ्यस्त भइँदो रहेछ । 

अहिलेको मामिला त्योभन्दा फरक निस्कियो, जब इजरायल र इरानको युद्ध सुरु भयो, पहिलेको भन्दा माहोल तात्दै र बिग्रँदै भयावह हुँदै गयो । सर्वसाधारण पनि डराएको अवस्था देखियो, बाहिर सडक बजारमा कुनै चहलपहल देखिएन । स्कुल, एअरपोर्ट, होटलजस्ता ग्यादरिङ हुने ठाउँ पूर्ण रूपमा बन्द भए । आफूलाई चाहिने सामान किन्नेको भिड लाग्न थाल्यो । यो युद्ध कति दिन चल्छ, कसैलाई थाहा नहुने, सबै अनभिज्ञ ! सबै हेरौँ र पर्खौंको अवस्थामा देखिन्थे । 

विदेशमा बसेका जे जति नेपाली छौँ, जो–जोबिच सम्पर्क छ, सबैले आफ्नो फोनबाट हामी सुरक्षित छौँ भन्ने सन्देश पठाउने गर्छौं । एक्लो भएको महसुस हुन नदिन फोनमा कुरा गर्छौं । नजिकैको बङ्करबारे सबैले जानकारी राख्नुपर्छ । पानी, खानादेखि इमर्जेन्सी कागजात आफैँसँग राख्नुपर्छ र आफूलाई अत्यन्तै चनाखो राख्नुपर्छ । 

यतिबेला चाहेर पनि स्वदेश फर्किने अवस्था छैन, कैयौँ नेपाली फर्कन पनि नचाहेको धारणा सुनियो । म पनि त्यहीमध्ये एक हुँ । यो बेला मलाई कसैको याद आएनबाहेक छोराको । आमाको माया भन्या यही होला सायद । त्यो बेला आमाको पनि याद आयो, आमा भाको भए मलाई तँलाई कस्तो छ भनेर फोन गर्नुहुन्थ्यो होला भनेर । विडम्बना मेरी आमा यो धर्तीमा हुनुहुन्न । यी सबै कुरा मनका अनुभूति हुन्, मनका अनुभूतिलाई जति तन्कायो उति नै तन्किन्छन् । 

योबिचमा इजरायलमा जति समय बिताएँ र बिताउँदै छु, मलाई अनुभूत भइरहेछ, यहाँ महिलालाई सम्मान गरिन्छ । रातिको समयमा महिलाका लागि सुरक्षा कानुन, सम्मान, श्रमको उच्च कदर, नागरिकको बचाउ यावत् कुरा मलाई असाध्यै राम्रा लागे । 

विदेश भन्दैमा सबै कुरा नराम्रो हुन्छ भन्न मिल्दैन । नियम–कानुनमा रहेर आफूले पसिना बगाए बमोजिमको कमाइ हुन्छ भने यही ठुलो कुरा हुन्छ । म एउटा श्रमिक हुँ, मेरो श्रमको सम्मान जहाँ हुन्छ मलाई त्यही ठाउँ मन पर्छ । यसको मतलब यो होइन कि मलाई स्वदेश मन पर्दैन । अवश्य आफ्नो देश, आफ्नो भाषा–संस्कृति, आफ्ना मान्छे— सबै मन पर्छन्, माया लाग्छ तर आर्थिक पक्ष ठुलो कुरा रहेछ । 

हाम्रो देशमा नेताहरू पदका लागि र सात पुस्तालाई पुग्ने सम्पत्ति कमाउनका लागि भ्रष्टाचारमा व्यस्त छन् । नेताका कार्यकर्ता कमिसन खानमा तल्लिन छन् । कोही राष्ट्रसेवक कर्मचारीलाई देश लुटेर घर–जग्गा जोड्न ठिक्क छ । चपेटामा हामीजस्ता साधारण जनता परेका छौँ, जसले दुःख स्वदेशमा होइन विदेशमा गर्नुपरेको छ । 

अब यही कामना गरौँ । इजरायलमा भएका सबै नेपाली सुरक्षित छौँ, हुनेछौँ, अफवाहको पछि नलागौँ । नेपालीले नेपालीको खेदो नखनौँ । इजरायलमा युद्ध हुँदा, नेपाली युद्धको चपेटामा पर्दा कैयौँ नेपाली खुसी भएको कुरा सामाजिक सञ्जालमा प्रशस्तै देख्न सकिन्छ । यति धेरै क्रूर र अमानवीय नबनौँ । हामी मान्छे हौँ, मान्छेको व्यवहार गर्न सिकौँ र सकौँ । जति डरलाग्दो भयावह अवस्था समाचारमा देखाइन्छ, त्यस्तो अवस्था नभएको जानकारी पनि यहीँबाट गराउँछु । जहाँ छौँ, आफ्नो ख्याल राखौँ भन्न चाहन्छु । 

अबको सपना यस्तो होस्, हाम्रो देश यस्तो बनोस् जहाँ हाम्रा सन्तान स्वदेशमै रहने रहनेछन्, आफ्नो पसिना आफ्नो ज्ञान त्यहीँ पोख्नेछन् र समुन्नत भविष्य बनाउनेछन् । 
जय नेपाल, जय मातृभूमि । 

(गुल्मी, हाल इजरायल) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पवित्रा गौतम
पवित्रा गौतम
लेखकबाट थप