सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा नमोबुद्धमा मनसुनजन्य विपद् उद्धार बेस क्याम्प स्थापना

शुक्रबार, १३ असार २०८२, १२ : ०९
शुक्रबार, १३ असार २०८२

सारांश

  • पाँचखालस्थित सशस्त्र प्रहरी बलले नमोबुद्धमा मनसुन विपद् उद्धार बेस क्याम्प स्थापना गरेको छ।
  • प्रहरीले बाढीपहिरो र सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गर्दै उद्धार र राहतको लागि तयारी गरेको छ।
  • विपद् प्रतिकार्यका लागि काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहमा स्वयंसेवक तालिम सञ्चालन भइरहेको छ।

काभ्रेपलाञ्चोक । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ ।

सशस्त्र बलले तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा क्याम्प स्थापना गरेको जनाएको छ । प्रहरी निरीक्षक आलोक बस्नेतको नेतृत्वमा स्थापित क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ । 

यसैगरी, सो प्रहरी टोलीले बीपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्तिसुरक्षा कायम गर्नाका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पुर्याउने छ । 

हेडक्वार्टरले बिपी राजमार्ग क्षेत्रअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा मनसुनजन्य घटनालक्षित बेस क्याम्प स्थापनाको तयारी भइरहेको जनाएको छ । हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ । उसले गत जेठ १२ गते पनौती नगरमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त प्रकृतिको तालिम दिएर अभियानको सुरुआत गरेको थियो । 

यसैगरी बनेपा नगरपालिकामा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै गत जेठ अन्तिम साता तीनदिने विपद् स्वयंसेवक आधारभूत तालिम दिइएको छ । तालिममा विपद् पूर्वतयारी, विपद्–उद्धार त्यसपश्चात्का प्रतिकार्यहरु राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको थियो । 

हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईंले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीनदिने तालिम प्रदान गर्दै जाने जानकारी दिए । तालिम अवधिभर रेडक्रसले प्राविधिक सहयोग गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप