मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
समाचार

महाकाली सन्धि सही थियो, अब पञ्चेश्वर परियोजना कार्यान्वयन गर्छौँ : प्रधानमन्त्री ओली

शनिबार, १४ असार २०८२, १५ : ५३
शनिबार, १४ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धि सही भएको र यसलाई कार्यान्वयन गर्ने बताए।
  • ओलीले नेकपा एमालेमाथि प्रहार भएको र पार्टी फुटाउने प्रयास भएको गुनासो गरे।
  • उनले एमालेले राष्ट्रको सार्वभौमसत्ता र स्वाधीनतालाई तलमाथि हुन नदिने बताए।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँग गरिएको महाकाली सन्धि सही भए पनि त्यसको बहानामा नेकपा एमालेमाथि प्रहारका साथै पार्टी फुटाउने सम्मको काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अब यसलाई कार्यान्वयन गर्ने दिशामा आफू अघि बढ्ने स्पष्ट पारेका हुन् ।

मदन भण्डारीको ७४ औँ जन्म जयन्तीमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘महाकाली सम्झौता कार्यान्वयन गर्न पञ्चेश्वर परियोजना पनि कार्यान्वयन गर्छौँ । सम्झौता अनुसार बिजुलीको पैसा लिइराखेका छौँ । पानी लिँदैछौँ, लिन्छौँ । सम्झौता अनुसार चाँदनी दोधारामा १० क्युबिक पानी लिन्छौँ । पहिले प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा गर्छौँ । 

उनले नेकपा एमालेले राष्ट्रको सार्वभौम सत्ता, सम्प्रभुता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता र स्वभिनालाई अलिकति तलमाथि हुन नदिने स्पष्ट पारे । उनले बहुदलीय जनवादले यसलाई नसहने बताए । 

 ‘त्यो सम्झौता ठिक थियो । तर, त्यसबेला देश बेचे, नदी खोला बेचे भनेर भनियो,’ उनले गुनासो गरे । अर्को पटक पनि पार्टी फुटाए पनि त्यही मजबुतीका साथ एमाले पुनः फर्किएको उनको भनाई थियो । उनले भने, ‘दिउँसै टर्च बालेर खोज्दा नभेटिने गरी धुलो पार्छु भनियो । नेकपा धुलो पार्न सकिने शक्ति होइन । कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्छु भन्नु बेग्लै कुरा हो । तर, नेकपा एमाले साधारण फलामको टुक्रा होइन ।’

उनले नेकपा एमाले देख्दाको आकार जस्तो नभएर दुनियाँको वामपन्थी र कम्युनिस्ट आन्दोलनमा असाधारण शक्ति भएको पनि दाबी गरे । उनले एमाले झुसे बारुलो नभएको स्पष्ट पारे ।

‘चिल भनेको ठुलो सिकारी पक्षी हो, सानो चिबे भन्ने चराले लखेटेर हैरान बनाइदिन्छ । आकार मात्र हेरे हुँदैन । त्योसँग विचारको दम छ कि छैन । त्यसको उद्देश्यमा सहीपना छ कि छैन । त्यसको प्रतिबद्धता कस्तो छ । अनेक कुराहरू हुन्छन् । त्यहाँ सही नेतृत्व पनि हुन्छ । सही विचार अङ्गीकार गरेर हिँड्ने प्रतिबद्धता छ कि छैन भन्ने कुरा हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप