बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वर्षाका कारण दुम्किबासमा वैकल्पिक सडक अवरुद्ध

आइतबार, १५ असार २०८२, १४ : १७
आइतबार, १५ असार २०८२

सारांश

  • वर्षाका कारण नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको वैकल्पिक सडक अवरुद्ध भएको छ।
  • खरङ्गे खोलामा आएको बाढीले गर्दा साना तथा यात्रुवाहक सवारीसाधनको यातायात पूर्ण रुपमा बन्द भएको छ।
  • डाइभर्सन र वैकल्पिक बाटोमा बाढी आएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ, र नयाँ पुल निर्माण भइरहेको छ।

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रुपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ । 

आज बिहानदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा साना तथा यात्रुवाहक सवारीसाधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

होङ्सी गेट–सर्दी–ज्यामिरे हुँदै जाने वैकल्पिक सडकमा पर्ने खरङ्गे खोलामा आएको बाढीका कारण यातायात पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । ठूला सवारीसाधनलाई दुम्कीबास स्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सनबाट वारपार गराइँदै आएको थियो भने साना तथा यात्रुवाहक सवारी साधनलाई वैकल्पिक सडकमा सञ्चालन गरिएको थियो ।

बाढीका कारण डाइभर्सनसमेत बगाएको र वैकल्पिक बाटोको खोलामा बाढी आएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । 

खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध भएसँगै सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि राजमार्ग डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको छ ।

पानी पर्दा डाइभर्सनमा क्षति हुने हुँदा प्रायःजसो राजमार्ग अवरुद्ध हुँदै आएको छ । भाँचिएको ठाउँमा नयाँ पुल निर्माण गरिँदैछ । उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।  पुल बनेपछि डाइभर्सनको दुःख अन्त्य हुनेछ । उता दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा पानी पर्नेबित्तिकै सडक चिप्लो भएर यातायात अवरुद्ध हुने समस्या भने कायमै रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप