बागमती, लुम्बिनी र मधेसको बजेट असन्तुष्टिमा कांग्रेसले हस्तक्षेप गर्ने
सारांश
- नेपाली कांग्रेसले बागमती, मधेस र लुम्बिनी प्रदेश सरकारको बजेटमा देखिएको असन्तुष्टि मिलाउने भएको छ।
- प्रदेश सरकारका अर्थमन्त्रीहरूले ल्याएको बजेटमा विवाद बढेपछि केन्द्रले हस्तक्षेप गर्ने निर्णय गरेको छ।
- मधेस प्रदेशमा सरकार परिवर्तनको सम्भावना र लुम्बिनीमा बजेटको विरोध भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रले बागमती प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारले बजेट ल्याएपछि देखिएको असन्तुष्टि हस्तक्षेप गरेर मिलाउने भएको छ ।
तीन वटै प्रदेश सरकारमा कांग्रेसका अर्थमन्त्री छन् । उनीहरूले ल्याएका बजेटमा असन्तुष्टि चुलिएपछि आइतबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा यसबारे गम्भीर समीक्षा भएको थियो ।
मधेसमा कांग्रेस सांसद सुनिलकुमार यादव अर्थमन्त्री छन् । बागमतीमा कांग्रेस सांसद कुन्दनराज काफ्ले अर्थमन्त्री छन् भने लुम्बिनीमा कांग्रेस सांसद धनेन्द्र कार्की अर्थमन्त्री छन् । तीनै प्रदेशमा विवाद चरमोत्कर्षमा पुगेपछि पदाधिकारी बैठकमा छलफल भएको हो ।
महामन्त्री गगन थापाले प्रदेश सरकार सञ्चालनमा गम्भीर समस्या देखिएकाले कसरी अगाडि बढ्ने भन्ने विषयमा पदाधिकारी बैठकमा छलफल भएको जानकारी दिए । ‘प्रदेशका सरकार सञ्चालनका सन्दर्भमा गम्भीर समस्या देखियो,’ महामन्त्री थापाले रातोपाटीसँग भने, ‘आजको पदाधिकारी बैठकमा छलफल गर्यौँ । भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा थप छलफल गर्छौँ ।’
पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, सहमहामन्त्री उमाकान्त चौधरी तथा प्रवक्ता डा. प्रकाशशरण महतले तीन प्रदेशका अर्थमन्त्रीले ल्याएको बजेटपछि देखिएको विवादले पार्टीलाई अप्ठ्यारो पार्ने भन्दै निराकरणका लागि केन्द्रले हस्तक्षेप गर्नुपर्ने बताएका थिए । उनीहरूको प्रस्तावमा सभापति देउवादेखि सबै नेताहरू सहमत देखिएका एक पदाधिकारीले जानकारी दिए ।
प्रदेश तहमा पटक–पटक छलफल हुँदा पनि बजेटबारे समस्याको समाधान ननिस्किएको भन्दै केन्द्रले हस्तक्षेप गरेर मिलाउने धारणा नेताहरूको छ ।
‘पार्टीका सांसदहरू प्रदेशका अर्थमन्त्री भएका स्थानमा बजेटपछि चर्को असन्तुष्टि देखिएको छ । यसले पार्टीलाई समस्या हुन्छ । कतै त गठबन्धनमा समेत समस्या देखिने अवस्था आएको छ,’ नेताहरूको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले रातोपाटीसँग भने, ‘त्यसपछि सभापतिसहितका नेताहरूले उहाँहरूको भनाइमा समर्थन जनाउनुभयो । पार्टीले हस्तक्षेप गर्नुपूर्व भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिको कुरा सुन्ने भन्ने भएको छ ।’
प्रदेश तहमा पटक–पटक छलफल हुँदा पनि बजेटबारे समस्याको समाधान ननिस्किएको भन्दै केन्द्रले हस्तक्षेप गरेर मिलाउने धारणा नेताहरूको छ । प्रदेशका सरकारमा सहभागी नेताहरूसँग केन्द्रीय समितिमा र बाहिर पनि नेताहरूले कुरा गर्ने निष्कर्ष पनि पदाधिकारी बैठकको छ ।
‘पहिला प्रदेश सभापतिहरूले केन्द्रीय समिति बैठकमा राख्ने धारणा सुन्ने, त्यसपछि बैठकमा र बाहिर पनि नेताहरूले छलफल गरेर केन्द्रबाटै मिलाउने भन्ने भएको छ,’ ती पदाधिकारीले भने ।
लुम्बिनीमा त कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नै बजेटको चर्को विरोध गरेर विज्ञप्ति नै निकालेका छन् ।
पहिला प्रदेशलाई नै मिलाउन दिने भन्ने केही नेताले धारणा राखे पनि विषय गम्भीर देखिएपछि केन्द्रले ध्यान दिएर हस्तक्षेप नगरी नमिल्ने देखिएको निष्कर्षमा नेताहरू पुगेका थिए । ‘पहिला त हल्ला हो, प्रदेशबाटै मिलिहाल्छ भन्ने थियो,’ एक पदाधिकारीले भने, ‘सबै विषयमा बुझ्दा विषय गम्भीर रहेको देखियो । केन्द्रले ध्यान दिएर हस्तक्षेप नगरी मिल्दैन भन्नेमा पुग्यौँ ।’
मधेस प्रदेशमा बजेटमा देखिएको विवादका कारण सरकार नै तलमाथि हुने अवस्थामा पुगेको छ । पार्टी नेता सतिशकुमार सिंहको नेतृत्वको सरकारले पार्टीको नीति र जनताको भावना अनुरूपको बजेट ल्याउन कांग्रेसका अर्थमन्त्री यादवले नदिएको भन्दै सरकारबाट बाहिरिने तयारीमा जनमत पार्टी छ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा सरकार छोड्नु पर्ने प्रस्ताव पेस भएको छ । मधेसमा पार्टीभित्रै पनि बजेटलाई लिएर तीव्र असन्तुष्टि छ ।
बागमती प्रदेशमा अर्थमन्त्री काफ्लेले गण्डकी प्रदेशको जिल्ला नवलपरासी पूर्वमा बजेट राखिदिएको भन्दै चर्को आलोचना भइरहेको छ । सत्तारुढ दल एमाले र प्रतिपक्षी माओवादीले पनि बजेट बजेटजस्तो नभएको भन्दै चर्को विरोध गरिरहेका छन् ।
लुम्बिनीमा त कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नै बजेटको चर्को विरोध गरेर विज्ञप्ति नै निकालेका छन् । पार्टीको संस्थापन पक्षका अर्थमन्त्री कार्कीले इतर समूह र पार्टीका प्रदेश समिति सभापतिलाई ‘इग्नोर’ गरेको भनेर चर्को आलोचना भएको छ । लुम्बिनीको बजेटमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले पनि सन्तुष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण