सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्‍याली सम्पन्न

आइतबार, १५ असार २०८२, १७ : ५९
आइतबार, १५ असार २०८२

काठमाडौँ । बागमती अटो–जिमखाना च्याम्पियनसिप तथा टिडिएस मोटर र्‍याली सम्पन्न भएको छ । बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोट्र्स क्लब तथा जियोन ओभरल्याण्डको आयोजनमा शनिबार बनेपास्थित चण्डेस्वरी ड्राइभिङ स्कुलमा सम्पन्न भएको हो । 

आशिष भारती र वर्षा बस्नेतले बागमती अटो–जिमखाना च्याम्पियनसिपको उपाधि जितेका छन् । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठ तेस्रो भए भने महिलातर्फ विपाश्ना तामाङले वर्षा बस्नेतलाई पछ्याइन् ।

टिडिएस र्‍यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडीले उपाधि हासिल गरे भने विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पुजा पाख्रिन र नविन लामा तेस्रो स्थानमा रहे ।

पुरुषतर्फ १७ र महिलातर्फ ६ गरी कूल २३ ड्राइभरले अटाे ेजिमखानामा प्रतिस्पर्धा गरेका थिए । जसमा पुरुषतर्फ क्वालिफाइङ राउण्डपछि शीर्ष ८ ड्राइभर फाइनल चरणमा पुगेका थिए । महिलातर्फ भने ६ जना ड्राइभर नै प्रारम्भिक चरणपछि फाइनल चरणमा पुगेका थिए ।

क्वालिफाइङ चरणमा पनि शीर्ष स्थानमा रहेका आशिषले अन्तिम चरणमा पनि उत्कृष्ट लय कायम राख्दै अन्य ड्राइभर भन्दा उत्कृष्ट समय निकाल्दै उपाधि जिते । पुरुषतर्फ राजकुमार कार्की दोस्रो तथा विप्लक श्रेष्ठले तेस्रो भए । 

यस्तै महिलातर्फ प्रारम्भिक चरणमा विपाश्ना तामाङ शीर्ष स्थानमा रहेकी थिइन् तर अन्तिम चरणमा वर्षाले उत्कृष्ट समय निकाल्दै बाजी मारिन् र बेस्ट महिला ड्राइभर अवार्ड प्राप्त गरिन् । 

अटो–जिमखानाका पुरुषतर्फ विजेता आशिषले नगद १ लाख, दोस्रो राजकुमारले ५० हजार प्राप्त गरे । महिलातर्फ बेष्ट फिमेल ड्राइभर अवार्ड सहित वर्षाले नगद ५० हजार प्राप्त गरिन् । सबै विजेताहरूले सर्टिफिकेट, सिल्ड र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै अटो–जिमखाना च्याम्पियनसिप अघि सम्पन्न टिडिएस (टाइम–डिस्ट्यान्स–स्पिड) मोटर र्‍यालीमा प्रवेश पौडेल र प्रदीप पौडेलको जोडी पहिलो, विप्लक श्रेष्ठ र राजन गिरी दोस्रो तथा पुजा पाख्रिन र नविन लामा तेस्रो स्थान प्राप्त गरे । टिडिएस र्यालीका सबै विजेताहरूलाई सिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य रामचन्द्र श्रेष्ठ, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नेपाल अटोमोबाइल एसोसिएसनका सचिब महेश अधिकारी र सन्तोष न्यौपाने, कोषाध्यक्ष मनि नेपाल, सह–कोषाध्यक्ष कमला क्षेत्री, बागमति अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र पचाछे र सचिव यज्ञप्रसाद पौडेल तथा मोटोभर्स स्पोट्र्स क्लबका अध्यक्ष आशिष रौनियार र जियोन ओभरल्याण्डका सञ्चालक जियोन लगायतले पुरस्कृत गरे । 

अटोजिमखनामा प्रतिस्पर्धा हुनुअघि टिडिएस (टाइम–डिस्ट्यान्स–स्पिड) मोटर र्‍याली सम्पन्न भएको थियो । र्‍याली ललितपुरस्थित रोयल टुलिप, ग्वार्कोबाट सुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी, पनौती हुँदै बनेपाको चण्डेश्वरी ड्राइभिङ स्कुलमा पुगेर सम्पन्न भएको थियो ।

र्यालीको औपचारिक शुभारम्भ ग्र्वोकोस्थित रोयल टुलिप काठमाडौँबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने तथा कोशी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष प्रकाश कपुरीले संयुक्त रूपमा गरेका थिए । 

अटो–जिखाना कम्पीटीसन र टिडिएस र्‍यालीमा गरी ३२ गाडीसहित कुल ६१ जना खेलाडी (ड्राईभर्स) को सहभागिता थियो । 

२५ जना दक्ष मार्सलहरूको टोली परिचालन गरिएको थियो । र्‍याली तथा जिमखाना दुवै इभेन्टमा नासा नेपाल ट्रेनिङ एण्ड मार्शल कमिसनका प्रमुख यदुराज लामिछाने नेतृत्वको मार्शल टिमले सञ्चालन गरेको थियो भने स्पोट्र्स एण्ड इभेन्ट अफिसर अंकित भण्डारीले स्वागत र सञ्चालन गरेका थिए । 

अटो–जिमखानाका विजेताहरूले यस वर्ष श्रीलङ्का, ताइवान तथा भारतमा हुने एसिया अटो–जिमखाना च्याम्पियनसिपहरूमा खेल्ने अवसर पाउनेछन् । 

विजेताले प्राप्त गरेको रकम एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा सहभागिताको प्याकेजको लागि प्रयोग गरिने यसअघि नै जानकारी गराइसकिएको छ ।

कार्यक्रममा गत वर्ष थाइल्याण्डको बैंककमा भएको एसियन कप अफ सर्किट रेसिङ च्याम्पियनसिपमा सहभागी नितिका गजुरेललाई कोशी प्रदेश खेलकुद विकास बोर्ड तथा कोशी अटोमोबावाइल्स एसोसिएसनको तर्फबाट प्राप्त नगद ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । 

महिला सशक्तीकरण, ड्राइभ टुरिजम र एडभेञ्चर स्पोट्र्सको संयोजन रहेको यस च्याम्पियनसिपलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले आर्थिक सहयोग गरेको थियो भने नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप