बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सिमेन्टको व्यापार सकारात्मक छ, यसले उद्योगको दिगोपन संकेत गर्छ’

आइतबार, १५ असार २०८२, १९ : ०३
आइतबार, १५ असार २०८२

सारांश

  • शिवम सिमेन्टले 'गुणस्तरको मामलामा नो कम्प्रोमाइज' अभियान सुरु गरेको छ, जसले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।
  • कम्पनीले बजार हिस्सा २०-२५% ओगटेको र ओपीसीमा अग्रणी रहेको जनाएको छ, साथै सरकारी नीति र बजारका अवसरबारे चर्चा गरेको छ।
  • शिवम सिमेन्टले उपभोक्तालाई गुणस्तरीय उत्पादन र सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै गुणस्तरमा सम्झौता नगर्न आग्रह गरेको छ।

शिवम‍् सिमेन्टले ‘गुणस्तरको मामलामा नो कम्प्रोमाइज’ भन्ने नाराका साथ एक वृहत् सामाजिक सचेतना अभियान सुरु गरेको छ । कम्पनीले उक्त अभियानमार्फत निर्माण क्षेत्रमा मात्र नभई आम मानिसको जीवनशैली र व्यवहारमा समेत सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।

कम्पनीले निर्माणको काम केही सुस्त हुने समय वर्षायामको ‘अफ–सिजन’मा यो अभियान ल्याउनुको कारण यसले उपभोक्ता र बजारमा पर्ने प्रभाव, नेपाली सिमेन्ट बजारको वर्तमान अवस्था, अवसर र चुनौतीलगायत विषयमा केन्द्रित रहेर शिवम‍् सिमेन्टका उपमहाप्रबन्धक राममणि त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंशः

समग्रमा सिमेन्ट बजारको वर्तमान अवस्था कस्तो छ ? 

नेपाली सिमेन्ट बजार अहिले सकारात्मक दिशातर्फ उन्मुख छ । केही समय अघिसम्म उद्योगबिच अत्यधिक मूल्य प्रतिस्पर्धा थियो । जसले गर्दा कुनै पनि उद्योगले राम्रो मुनाफा लिन सकिरहेको थिएन । तर गत मंसिरयता बजारमा एक किसिमको स्थायित्व आएको छ । सबै कम्पनीहरूले मूल्यमा थोरै सुधार गरेका छन् । जसले गर्दा उद्योगहरू उत्साहित भएका छन् । 

६–७ वर्षअघिकै मूल्यमा सिमेन्ट बेच्न कम्पनीहरू सफल भएका छन् । यसले उद्योगको स्वास्थ्य र दिगोपनका लागि राम्रो संकेत गरेको छ र व्यापार पनि तुलनात्मक रूपमा राम्रो बाटोतिर गइरहेको हामीले महसुस गरेका छौँ ।

rammani-tripathi (1)

यो समग्र परिदृश्यमा शिवम‍् सिमेन्टको बजार हिस्सा कति छ ?

हामीले बजारबाट संकलन गरेको तथ्यांक र आफ्नो बिक्रीलाई तुलना गर्दा शिवम‍् सिमेन्टले करिब २० देखि २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । विशेषगरी ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) मा हामी पहिलो नम्बरमा छौँभन्दा फरक पर्दैन । हामी बजारको एक अग्रणी कम्पनी हौँ ।

निर्माणको अफ–सिजन मानिने यो समयमा ‘नो कम्प्रोमाइज’ जस्तो बृहत् क्याम्पियन ल्याउनुको उद्देश्य के हो ?

यो क्याम्पेन निर्माणको सिजन वा अफ–सिजनलाई हेरेर ल्याइएको होइन । यो हाम्रो ब्रान्डको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो । ‘नो कम्प्रोमाइज’ हाम्रा लागि नारा मात्र होइन, यो हाम्रो कार्यशैली र दर्शन हो । 
हामीले यो अभियानमार्फत के सन्देश दिन खोजेका छौँ भने जीवनको कुनै पनि क्षेत्रमा गुणस्तर र इमानदारितासँग सम्झौता गर्नु हुँदैन । घर निर्माण जीवनकै सबैभन्दा ठुलो लगानी हो । 

यस्तो महत्त्वपूर्ण काममा कमसल सामग्री प्रयोग गरेर वा प्रक्रियामा सम्झौता गरेर पछि पछुताउनु नपरोस् भन्ने हाम्रो चाहना हो । यो अभियानले उपभोक्तालाई सचेत गराउँदै सही निर्णय लिन प्रेरित गर्छ । जुन सिजन वा अफ–सिजन दुवै हुँदा केही फरक पर्दैन । 

rammani-tripathi (6)

शिवम‍्ले सुरु गरेको क्याम्पियन सिमेन्टको विज्ञापन मात्र हो कि यसले अरू केही सन्देश दिन खोजेको हो ?

शिवम‍् सिमेन्टले चलाएको क्याम्पियन सिमेन्टको विज्ञापन मात्रै होइन । यदि विज्ञापन मात्रै गर्नु थियो भने हामी ‘हाम्रो सिमेन्ट किन्नुहोस्, यति बलियो छ’ भन्न सक्थ्यौँ । तर, ‘नो कम्प्रोमाइज’ एउटा सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान हो । यसले उपभोक्ता, निर्माता, बिक्रेता र समग्र समाजलाई नै एउटा सकारात्मक सन्देश दिन्छ ।

जस्तोः घर बनाउने व्यक्तिले गुणस्तरमा सम्झौता नगरोस्, सिमेन्ट उत्पादकले आफ्नो उत्पादनको गुणस्तरमा सम्झौता नगरोस्, बिक्रेताले सही चिज बेच्नमा सम्झौता नगरोस् र समाजको कुनै पनि व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्न सम्झौता नगरोस् भन्ने हाम्रो मूल भाव हो । 

हाम्रो विज्ञापनमा पनि तपाईंले ट्राफिक प्रहरीले आफ्नो कर्तव्य पालनामा कसैसँग सम्झौता नगरेको देख्नुहुन्छ । त्यो एउटा प्रतीक हो । यसले शिवम‍् सिमेन्टको ब्रान्डलाई त सम्झाउँछ नै, त्योभन्दा बढी समाजमा एउटा सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ ।

उपभोक्तालाई सचेत गराउन शिवम‍् सन्देशजस्ता कार्यक्रम पनि ल्याउनुभएको छ, यो के हो ?

‘शिवम‍् सन्देश’ उपभोक्तालाई प्राविधिक रूपमा सबल र सचेत बनाउने हाम्रो अर्को महत्त्वपूर्ण पहल हो । घर बनाउने सामान्य मानिसलाई निर्माणसम्बन्धी प्राविधिक ज्ञान हुँदैन । उहाँहरू ठेकेदार वा मिस्त्रीको भरमा पर्नुहुन्छ । कहिलेकाहीँ सही जानकारीको अभावमा गलत निर्णय हुन सक्छ ।

त्यसैले हामीले निर्माणका हरेक चरण, जग्गा छनोटदेखि लिएर नक्सा, ढलान, फिनिसिङ र इन्टेरियरसम्मका विषयमा सरल भाषामा बुझ्न सकिनेगरी जानकारीमूलक भिडियो र सामग्रीहरू ‘शिवम‍् सन्देश’ मार्फत उपलब्ध गराएका छौँ । यो एक किसिमको संग्रह हो ।

जसले उपभोक्तालाई आफ्नो घर बनाउँदा के सही, के गलत भनेर छुट्याउन मद्दत गर्छ र उहाँहरूलाई आत्मविश्वासी बनाउँछ ।

rammani-tripathi (3)

सरकारी नीतिका कारण पनि सिमेन्ट उद्योगलाई अप्ठ्यारो परेको गुनासो सुनिन्छ नि ?

सरकारले लिएका केही नीतिगत कुराहरूले समग्र उद्योग र बजारलाई प्रभाव पार्छ । पछिल्लो बजेटमा सरकारले प्रतिकिलो लाग्दै आएको अन्तःशुल्कलाई हटाएर समग्र मूल्यको ५ प्रतिशत लगाउने निर्णय गर्‍यो । यसले गर्दा प्रतिबोरा सिमेन्टको मूल्यमा २५ देखि ३० रुपैयाँसम्मको भार थपिएको छ । 

एकातिर लोडसेडिङजस्ता समस्याले उद्योगहरूले आफ्नै पावर प्लान्ट चलाएर उत्पादन लागत बढाइरहेका छन्, अर्कोतिर यस्तो नीतिले उपभोक्तामाथि मूल्यको चाप बढेको छ । यद्यपि, सरकारले उद्योग स्थापना भएका ठाउँमा पूर्वाधार विकास, बाटोघाटो निर्माणजस्ता कुरामा सहयोग पनि गरेको छ । तर, नीतिगत स्थायित्व उद्योगका लागि निकै महत्त्वपूर्ण हुन्छ ।

नयाँ उपभोक्ताले शिवम‍् सिमेन्ट नै किन रोज्ने?  अरूभन्दा के फरक छ ?

हामीले जस्तोसुकै कठिन परिस्थितिमा पनि उपभोक्ताको साथ छोडेका छैनौँ । चाहे त्यो नाकाबन्दीको समय होस् वा कोभिड–१९ को महामारी, जब अरू उद्योग बन्द थिए, हामीले आफ्नो फ्याक्ट्रीबाट सिमेन्ट उपलब्ध गरायौँ । कोभिडको समयमा हामीले मोबाइल एपबाटै अर्डर लिएर घर–घरमा सिमेन्ट पुर्‍यायौँ । यो हाम्रो विश्वसनीयताको प्रमाण हो ।

rammani-tripathi (5)

शिवम‍् सिमेन्ट नेपालको एक मात्र प्रमुख निजी कम्पनी हो, जसले ओपीसी सिमेन्ट मात्र उत्पादन गर्छ । यसको अर्थ, हाम्रो उत्पादनमा गुणस्तरको एकरूपता छ । हामीले एउटै गुणस्तरको उत्पादन मात्र बजारमा पठाउँछौँ ।

हामी नेपाल गुणस्तर अवार्ड पाउने पहिलो सिमेन्ट कम्पनी हौँ । यो सरकारी निकायबाटै हाम्रो गुणस्तर प्रमाणित भएको हो ।

शिवम‍्ले सिमेन्ट बेचेर मात्र चुप लाग्दैनौँ । हामीसँग ‘मोबाइल भ्यान’ छ, जसमा सिमेन्ट परीक्षण गर्ने मेसिनहरू हुन्छन् । उपभोक्ताले चाहेमा हामी उहाँको घर निर्माणस्थलमै गएर सिमेन्टको गुणस्तर परीक्षण गरिदिन्छौँ । हाम्रो इन्जिनियरहरूको टोलीले निःशुल्क प्राविधिक सल्लाह दिन्छ । हाम्रो टोल–फ्री नम्बरमार्फत जुनसुकै वेला सम्पर्क गर्न सकिन्छ।

शिवम‍्को वितरण सञ्जाललाई यति बलियो बनाएका छौँ कि, उपभोक्ताले मागेको समयमा सिमेन्ट पाउनुहुन्छ । हामीले दिन सक्ने प्रतिबद्धता मात्र गर्छौँ र गरेको प्रतिबद्धता पूरा गर्छौँ ।

नेपाली सिमेन्ट बजारका भावी अवसर र चुनौतीहरू के–के देख्नुहुन्छ ?

अवसरहरू प्रशस्त छन् । देश विकासको क्रममा छ । ठुला–ठुला पूर्वाधार निर्माण हुँदैछन् । भूकम्पपछिको पुनर्निर्माणले पनि सिमेन्टको माग बढाएको छ । अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा हटेर एक किसिमको समझदारी बनेको छ, यो सकारात्मक अवसर हो ।

rammani-tripathi (2)

चुनौतीको कुरा गर्दा, अस्थिर सरकारी नीति, बिजुलीको अभाव, उत्पादन लागतमा हुने वृद्धि प्रमुख हुन् । अहिले भएका उद्योगहरूले आफ्नो क्षमता विस्तार गरिरहेका छन् । भविष्यमा माग र आपूर्तिबिच सन्तुलन कायम राख्नु एउटा चुनौती हुनेछ । तर, सबै कम्पनीहरू मिलेर अघि बढे र सरकारले सहयोगी नीति लिए सिमेन्ट उद्योगको भविष्य उज्ज्वल देख्छु ।

अन्त्यमा, आम उपभोक्तालाई तपाईंको सन्देश के छ ?

शिवम‍् सिमेन्ट एउटा उत्पादन मात्र होइन, यो लाखौँ नेपालीको विश्वास हो । हामी यो विश्वासलाई कहिल्यै टुट्न दिँदैनौँ । हाम्रो ‘नो कम्प्रोमाइज’ अभियान यही विश्वासलाई थप बलियो बनाउने एउटा माध्यम हो । 
शिवम‍् उपभोक्तालाई सधैँ गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा दिन प्रतिबद्ध छौँ । घर बनाउँदा होस् वा जीवनको कुनै पनि निर्णय लिँदा, गुणस्तरमा कहिल्यै सम्झौता नगर्नुहोस् भन्ने आग्रह मात्रै हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप