काठमाडौँमा पुग्यो बागमतीको ११ प्रतिशत बजेट
सारांश
- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ, जसमा काठमाडौं जिल्लाले सबैभन्दा बढी बजेट पाएको छ।
- काठमाडौंले कूल बजेटको ११.९ प्रतिशत रकम पाएको छ भने दोस्रोमा मकवानपुरले १०.६ प्रतिशत बजेट पाएको छ।
- बजेटले पूर्वाधार निर्माण र विकासलाई प्राथमिकता दिएको छ, जसअनुसार विभिन्न जिल्लाहरूमा बजेट विनियोजन गरिएको छ।
हेटाैँडा । बागमती प्रदेश सरकारको कूल बजेटको ११ प्रतिशत बढी रकम काठमाडौँ जिल्लामा परेको छ । कुल विनियोजनको पुँजीगत तर्फको ११.९ प्रतिशत बजेट काठमाडौंमा परेको छ ।
बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय , संस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र केही महत्त्वपूर्ण आयोजना अन्तर्गतका विकास बजेटमा काठामडौंले ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि असार १ गते सार्वजनिक गरेको ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँको बजेटमा पुँजीगत तर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ, (६१ प्रतिशत), विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विवरण अनुसार यो बजेटले पूर्वाधार निर्माण र विकासका क्षेत्रमा उच्च प्राथमिकता दिएको छ ।
प्रदेश सरकारको कुल बजेटमध्ये ११.९ प्रतिशत (३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैयाँ) काठमाडौँमा विनियोजन गरिएको छ भने दोस्रोमा मकवानपुरका लागि १०.६ प्रतिशत (३ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ) बजेट विनियोजन गरिएको छ । तेस्रो स्थानमा काभ्रेले १०/१० प्रतिशत बजेट पाएको छ । काभ्रे र नुवाकोटमा (३ अर्ब ३० करोड २५ लाख ७० हजार रुपैयाँ) बजेट विनियोजन भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको गृह जिल्लामा पनि १० प्रतिशत बजेट विनियोजन गरिएको छ । नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार रुपैयाँ बजेट प्राप्त गरेको हो ।
सिन्धुपाल्चोकमा ८.४ प्रतिशत (२ अर्ब ७९ करोड ९५ लाख ४० हजार रुपैयाँ) बजेट विनियोजन हुँदा आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेको गृह जिल्ला दोलखा ८.३ प्रतिशत (२ अर्ब ७४ करोड ९९ लाख ५० हजार रुपैयाँ) बजेट विनियोजन भएको छ ।
चितवनमा ७.५ प्रतिशत (२ अर्ब ४८ करोड ५८ लाख ४० हजार रुपैयाँ), सिन्धुलीमा ६.८ प्रतिशत (२ अर्ब २५ करोड ९६ लाख ८० हजार रुपैयाँ), ललितपुरमा ६.७ प्रतिशत (२ अर्ब २२ करोड ५४ लाख रुपैयाँ), रामेछापमा ६.१ प्रतिशत (२ अर्ब ३ करोड ११ लाख ४० हजार रुपैयाँ), धादिङमा ६.१ प्रतिशत (२ अर्ब १ करोड ४० लाख ५० हजार रुपैयाँ), भक्तपुरमा ४.८ प्रतिशत (१ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ) र रसुवामा २.८ प्रतिशत (९२ करोड ५२ लाख ९० हजार रुपैयाँ) बजेट विनियोजित भएको छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण