बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाले महासचिव पोखरेलको निर्देशन : असार मसान्तभित्र प्रतिवेदन पठाउनू

मङ्गलबार, १७ असार २०८२, २१ : २७
मङ्गलबार, १७ असार २०८२

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनको तयारीका सन्दर्भमा प्रदेश र जिल्ला कमिटीहरूलाई असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका छन् । 

मंगलबार पार्टीका कोशी र मधेस प्रदेशमा पार्टीबाट तोकिनुभएका इन्चार्जहरू, प्रदेश कमिटीका अध्यक्ष तथा अन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरूसँगको बैठकलाई केन्द्रीय कार्यालयबाट भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको विधान महाधिवेशन नीति र विधि निर्माणको महाधिवेशन भएकाले त्यस काममा केन्द्रित हुन आग्रह गरे । 

पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा आयोजना गर्ने निर्णय भएको छ भने केन्द्रीय सचिवालयको बैठकले राजनीतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सङ्गठनात्मक  प्रतिवेदनको जिम्मेवारी महासचिव पोखरेललाई दिएको छ । 

महासचिव पोखरेलले विधान महाधिवेशनमा नीति र विधि निर्माणको काम हुने र राष्ट्रिय महाधिवेशनबाट नेतृत्वको टुङ्गो लाग्ने हुँदा यतिवेला नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने बताए । 

पार्टीको राष्ट्रिय महाधिवेशनको मितिसमेत निर्धारण भई नसकेको अवस्थामा  अहिलेदेखि नै नेतृत्वका सन्दर्भमा पक्ष/ विपक्षमा धार सिर्जना गर्ने प्रयास सञ्चार माध्यमहरूबाट हुन थालेको बताउँदै महासचिव पोखरेलले नीति र विधि निर्माणको काममा केन्द्रित हुन आग्रह गरे । 

उनले पार्टीलाई कमजोर बनाउने गरी सुरु भएका चर्चा र टिकाटिप्पणीप्रति कार्यकर्तालाई सचेत गराउन जिल्ला नेतृत्वलाई निर्देशन दिए ।  

यतिवेला पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन एकताबद्ध नेतृत्व निर्माण आवश्यक रहेको बताउँदै महासचिव पोखरेलले नेतृत्वको विषय पनि पार्टीले एकताबद्ध प्रक्रियाबाट टुङ्गो लगाउने बताए । अहिले राष्ट्रिय महाधिवेशन नभएको समयमा नेतृत्वका विषयमा चर्चा/परिचर्चा आवश्यक नभएको उनले प्रष्ट पारे । 

जतिवेला जे काम गर्नुपर्ने हो त्यसैमा केन्द्रित हुनुपर्ने बताउँदै महासचिव पोखरेलले नवीकृत पार्टी सदस्यता असार मसान्तभित्र प्रमाणीकरण गर्नुपर्ने हुँदा सोही अनुसार केन्द्रीय सङ्गठन विभागमा पठाउन निर्देशन दिए । 

उनले सङ्गठनात्मक प्रतिवेदनमा समावेश गर्नका लागि प्रदेश र जिल्ला कमिटीले पठाउनुपर्ने विषयहरूका बारेमा पनि जानकारी गराए । महासचिव पोखरेलले पुराना कार्यकर्ता, पार्टी प्रवेश प्रक्रियाबाट पार्टीमा जोडिएका, जनसङ्गठनका अधिवेशनपछि कमिटीबाट बाहिरिएका कार्यकर्तालाई व्यवस्थापन गरी भूगोलमा क्रियाशील बनाउने विषयमा ध्यान दिन पनि प्रदेश तथा जिल्ला कमिटीहरूलाई गृहकार्यका लागि ध्यानाकर्षण गरे । 

बैठकमा दुवै प्रदेशका इन्चार्ज, पार्टी अध्यक्ष र सबै जिल्ला कमिटीका अध्यक्ष तथा पदाधिकारीहरूले आ–आफ्ना जिल्लाका कामको रिपोर्टिङ गरेका थिए । 

उनीहरूले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गरिसकेको, पालिका, वडा तहका कमिटीका अधिवेशन, टोल कमिटी गठन, जनसङ्गठनहरूको क्रियाशीलता लगायत विषयमा जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप