बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तरवार्ता

लोकगायिका राधिका हमाललाई प्रश्न : जेरीजस्तै वाचक बन्न लाग्नुभएको हो ?

‘तीजको गीतमा विकृति बढ्यो, केही भाइबहिनीहरूलाई नियन्त्रण गर्नुपर्ने छ’
शुक्रबार, २० असार २०८२, २० : ३९
शुक्रबार, २० असार २०८२

सारांश

  • चर्चित गायिका राधिका हमालले दुई हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन्।
  • उनले तीज गीतको तयारी गरिरहेकी छिन् र नयाँ तीज गीत 'पाइजोडा' ल्याउँदैछिन्।
  • हमालले नयाँ पुस्तासँगको सहकार्य र लोक संस्कृतिको संरक्षणमा जोड दिँदै आएकी छन्।

राधिका हमाल नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित र स्थापित गायिका हुन् । ‘टलक्कै टल्कियो’, ‘क्याम्पस पढ्न आउने’, ‘लरक्कै लर्केको’लगायत थुप्रै हिट गीत दिएकी हमाले दुई हजारबढी गीतमा स्वर दिएकी छन् । 

सुमधुर स्वरका माध्यमबाट लाखौँ श्रोताको मनमा बस्न सफल उनी लोक, तीज, भेगिए, देउडा, काँठे, पूर्वेली, भजन, भाषाभाषी, चलचित्रदेखि गुरुङ गीतसम्म गाएकी छन् । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय उनी आफ्नो मौलिक गायन शैलीका कारण पनि परिचित छिन् । 

लोकगीतको मर्मलाई आत्मसात् गर्दै गीत गाउने हमालले अघिल्लो पुस्तादेखि नयाँ पुस्तासँग पनि उत्तिकै सहजताका साथ सहकार्य गर्दै आएकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वरिष्ठ उपाध्यक्ष उनी नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक महासंघको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा छिन् । 

संघसंस्थामा रहेर नेपाली लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन र साङ्गीतिक क्षेत्रमा देखिएका विकृति न्यूनीकरणमा सक्रिय उनी अहिले तीज गीत गायनमा पनि व्यस्त छिन् । केही अगाडिसम्म धार्मिक कार्यमा सक्रिय हमालसँग रातोपाटीले गरेको छोटो कुराकानीको सम्पादित अंशः

पछिल्लो समयको व्यस्तता के कस्तो छ ?

व्यस्तताको त पराकाष्ठा छ, कुरै नगरौँ । कहिले रोपाइँ कार्यक्रम, कहिले आबद्ध विभिन्न संघसंस्थाको बैठक र कहिले मेला महोत्सवका साङ्गीतिक प्रस्तुतिले साह्रै व्यस्त छु । व्यस्तताले घरपरिवारलाई समय दिनसमेत मुस्किल परेको अवस्था छ ।

बजारमा तीजका गीत आउन थालिसके, तपाईंको तयारी के छ ?

म अहिले धमाधम साथीहरूको तीजका गीत गाइरहेकी छु । जसमा तेजस रेग्मी, पुरुषोत्तम गैरेलगायत थुप्रैका गीत गाइसकेकी छु । त्यो विस्तारै सार्वजनिक हुने क्रममा छन् । केही आउने क्रममा छन् । मेरो आफ्नै एउटा तीज गीत ‘पाइजोडा’ पनि ल्याउँदै छु । जसको रेकर्ड सकेर भिडियो निर्माणको क्रममा छ । भिडियो २२ गतेपछि सुटिङ गर्ने व्यवस्थापन गर्दै छु । केही गीत अझै गाउन बाँकी छन् । आफ्नै लगानीको एउटा भए पनि मेरो स्वर रहेका तीजका धेरै गीत आउँदै छन् ।

यसपालि तपाईंको स्वरमा कस्ता खालका तीज गीतहरू छन् ? 

मैले गाएका गीतहरू यो साल धेरै पीर–व्यथाका छैनन् । अहिले खुसीयालीका गीतको ट्रेन्ड चलेको छ । एउटा गीतमा त अहिले चलेको ईभी (इलेक्ट्रोनिक गाडी)को विषयको पनि छ । जसमा चढेर माइत जाने रमाइलो प्रसङ्ग छन् । मेरो ‘पाइजोडा’ भन्ने गीतचाहिँ पुरानै शैलीको मौलिक भाकामा छ । 

तीज गीतमा हरेक वर्ष विकृति भित्रिने क्रम बढ्दो छ । यो वर्ष पनि त्यस्तै हुने हो कि ? 

radhika_hamal_5_enHCGHzCcg

मेरो दृष्टिमा पछिल्लो समय गायक गायिका संयम हुनुभएको हो कि जस्तो लागेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले विकृति विसंगतिविरुद्ध विभिन्न क्रियाकलाप गरिरहेको छ । केही नयाँ भाइबहिनीहरूलाई अझै नियन्त्रण गर्नुपर्ने पनि छ । मैले सधैँभरि एउटै कुरो भन्दै आएकी छु । कलाकार भएर आएपछि जिम्मेवार हुनुपर्छ । कलाकार एउटा ऐनाजस्तो हो । कलाकारले गर्ने क्रियाकलाप समाजले फलो गर्छ । त्यसैले हामी कलाकार सबैले आफै जिम्मेवार बन्नुपर्छ । 

पछिल्ला केही वर्षयता क्रियाकलाप नियाल्ने हो भने तपाईंको धार्मिक गतिविधिमा सक्रियता निकै देख्न सकिन्छ ?

मलाई हाम्रा युवाहरू, जो भविष्यका कर्णधार हुन्, उनीहरू सनातन धर्म र आध्यात्मिकतासँग जोडिउन् भन्ने लाग्छ । यसले उनीहरूलाई अनुशासित र समाजप्रति उत्तरदायी बनाउँछ । अहिलेका युवाहरू कुलत र गलत बाटोमा लाग्नबाट जोगिउन् भन्ने पनि मेरो चाहना हो । मैले पशुपति कोटिहोममा मेरा स्वर्गीय बा–आमाको नाममा समय दान गरेँ, गण्डकी कोटिहोममा पनि सहभागी भएँ । यस्ता कार्यक्रममा मेरो नेतृत्वमा भजन प्रतियोगिता पनि हुँदै आएको छ । यो हाम्रो संस्कृति बचाउने एउटा अभियान पनि हो ।

कतिपयले त अब राधिका हमाल पनि जेरी (बबिता बानियाँ) जस्तै वाचक बन्ने अनुमान गरेका छन् नि ?

radika

हा हा (हाँस्दै) अहो ! होइन, वाचनकै बनेर निस्किने भनेर अनुमान गरिसके ? तर त्यो सोचचाहिँ छैन । मलाई समाजसेवा, राजनीतिमा इन्ट्रेस्ट छ । राजनीतिमा म टिकट नै पाइसकेको मान्छे हुँ । धर्म राजनीतिलाई पनि सिकाउने, अनुशासित बनाउने एउटा माध्यम पनि हो । म पब्लिकले रुचाएको फेसन भएकोले केही गर्‍यो कि बाहिर चर्चा भइहाल्छ । म आध्यात्मिक मान्छे हुँ, त्यसैले यस्ता कार्यक्रममा जोडिँदा अरूलाई पनि सकारात्मक सन्देश जाओस् भन्ने सोच र उद्देश्य मात्र हो ।

तपाईं लोकदोहाेरीबाट चिनिएको गायिका, अहिले लोकदोहोरी गीत कम भएजस्तो लाग्दैन ?

हो, मेरो लोकदोहोरी पछिल्लो समय एकदमै कम भएको छ । मलाई थाहा छ, धेरैले पनि यही भन्नुहुन्छ । म जहाँ–जहाँ जान्छु । नयाँ सुन्नुपर्‍यो भन्नुहुन्छ । जहिल्यै मैले गाउने गीत ‘क्याम्पस पढ्न आउने’, ‘झोर्ले’, ‘ढल्कयो जवानी’, ‘रातो साडी’लगायत नै गाउने गरेको छु । नयाँ गीत अरूको त गाएको गायै छु । 

म संस्थाको काम र अन्य कार्यक्रममा धेरै व्यस्त भएँ, जसले गर्दा आफ्नै नयाँ लोक तथा दोहोरी गीत ल्याउन भने सकिनँ । यो विषयमा मैले अलि ध्यान नदिएकै हो । अब ध्यान दिन्छु र नयाँ गीत छिट्टै ल्याउने कोसिस गर्छु ।

नयाँ पुस्ताको आगमनसँगै पुराना पुस्ताका गीत कमी हुन थालेको हो र ?

यो स्वाभाविक प्रक्रिया हो, जुन हरेक क्षेत्रमा हुन्छ । मचाहिँ अपवादको रूपमा छु । म पुरानाको अलावा नयाँ पुस्तासँग पनि काँधमा काँध मिलाएर हिँड्न सकिरहेकी छु । यसको मुख्य कारण, निरन्तरता र मेरो बानी–बेहोरा हो । म आफूलाई कहिल्यै सिनियर भनेर घमन्ड गर्दिनँ । मैले नभ्याउँदा नयाँ भाइबहिनीलाई आफ्नो ठाउँमा अवसर दिने गरेको छु । अन्य गीतसगीतको तुलनामा लोक तथा दोहोरी गीत कमी भएको हो । चलचित्रमा र फ्युजन लोकदोहोरी गीत बनेकोले पनि कमी देखिएको हो ।

अर्काे कुरो, अहिले कलाकार विदेशका कार्यक्रममा पनि निकै व्यस्त छन् । कलाकारको साङ्गीतिक व्यस्तता बढेपछि गीतसंगीत त कमी भइहाल्छ नि ।

साङ्गीतिक क्षेत्रमा नयाँ पुस्ताले सिनियरको महत्त्व नबुझेको गुनासो सुनिन्छ, त्यस्तो हो र ? 

मलाईचाहिँ त्यस्तो लाग्दैन । आफूलाई नलागेर सबैलाई त्यस्तै भन्न मिल्दैन । मैले जति नयाँ पुस्ताको संगत गरेकी छु । माया गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ । यो विषय ‘टिट फर ट्याट’ भन्छन् नि, त्यस्तै हो । आफूले अरूलाई कस्तो गर्‍यो । त्यो अनुसारको व्यवहार पाउने हो । सबैले सबैलाई मान्नैपर्छ भन्ने पनि छैन । तर अनुशासितचाहिँ हुनुपर्छ । नयाँ साथीहरूले ल है अग्रजहरूले यहाँसम्म धानेर आइदिनु भएर हामी जोडिन पायौँ भनेर सम्मान गर्न सक्यो, सिक्यो भने भोलिका पुस्ताले पनि उहाँहरूलाई सम्मान गर्छ । 

यो एउटा पुस्ता हस्तान्तरण हो नि । नयाँ पुस्ता अनुशासित भएर अगाडि बढ्नुपर्ने भने पक्कै देखिन्छ ।

अहिलेको समय समग्र गीतसंगीतको अवस्था कस्तो देख्नुभएको छ ?

धेरै राम्रो पनि होइन र नराम्रो पनि भन्न मिल्दैन । यसलाई प्लसतिर लाने कि माइनसतिर ? हाम्रो हातमा छ । गीतसंगीतको बजार पनि एक किसिमले भन्ने हो भन्न हो भने सेयरबजार जस्तै–जस्तै हो । कहिले धेरै बढ्छ, कहिले घट्छ । कसरी माथि लाने हामीले सोच्नुपर्छ ।

गीतसंगीतको क्षेत्रमा भित्रिन खोज्ने नयाँ कलाकारलाई के भन्नुहुन्छ ?

म हिजो र आज पनि नयाँका लागि एउटै कुरो भन्छु । तपाईँसँग जे क्षमता छ, त्यसलाई तिखार्न र निखार्नका लागि निरन्तर लगनशील भएर संघर्ष गर्नुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा शिक्षा र ज्ञान हो । पढेर, बुझेर र यो क्षेत्रलाई साधनाको रूपमा लिएर लामो समय टिक्छु भन्ने सोचले आउनुपर्छ । कसैको चर्चा वा कमाइ देखेर मात्र क्षणिक रहरले आउनु हुँदैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप