शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खानपान

‘समयमा खानुस्, स्वस्थ खानुस्’

जतिखेर फुर्सद हुन्छ, त्यतिवला मात्र खाँदा मोटोपना स्वतः बढ्छः डाइटिसियन नबिना फैजु
शनिबार, २१ असार २०८२

स्वस्थ जीवनका लागि सन्तुलित र पोसिलो खानपान अत्यन्त महत्त्वपूर्ण हुन्छ। हाम्रो शरीरलाई आवश्यक ऊर्जा, वृद्धि, रोग प्रतिरोधात्मक क्षमता तथा मानसिक सन्तुलनका लागि खानपानले मुख्य भूमिका खेलेको हुन्छ।

तर, नेपालमा खानपानमा धेरैले ध्यान दिइरहेका हुँदैनौँ । त्यही भएर आजदेखि हामी रातोपाटी डटकममा खानपानबारे एउटा नयाँ शृङ्खला सुरु गर्न गइरहेका छौँ ।

यस शृङ्खलामा हामी मानव स्वास्थ्यमा हामीले खाने खानाको महत्त्वको बारेमा जानकारी दिने प्रयास गर्ने छौँ । आजको यो पहिलो एपिसोड ‘स्वस्थ खानपान’ मा केन्द्रित रहनेछ ।

हामी यस एपिसोडमा स्वस्थ रहन के खाने ? कसरी खाने ? कति खाने ? कति वेला खाने ? जस्ता प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौँ । प्रस्तुत छ डाइटिसियन नबिना फैजुसँग दीपा दाहालले गरेको कुराकानीको सम्पादित अंश–

  • हामीले स्वस्थ खानपानका बारेमा धेरै ठाउँमा पढ्दै र सुन्दै आएका छौँ । खासमा स्वस्थ खानपान भनेको के हो ?

–आजभोलि स्वस्थ खानपानको बारेमा मानिसमा पहिलाभन्दा धेरै सचेतना आइसकेको छ। स्वस्थ खाना त हामी खान्छौँ नै । अहिले स्वस्थ खानपानमा के पर्छ ? त्यसमा के–के हुँदो रहेछ भन्ने जिज्ञासा सबैमा छ। सामान्य रूपमा स्वस्थ खानपान भन्नाले हामी स्वस्थ हुन चाहिने खाना नै हो । जस्तै, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, फ्याटयुक्त खाने कुराहरू । यी सबै समूहका खाने कुराहरू उचित मात्रामा मिलाएर खान सक्यौँ भने त्यसैलाई हामी सन्तुलित आहार भन्छौँ। सन्तुलित आहारले हाम्रो शरीरलाई ऊर्जा दिनेदेखि लिएर प्रतिरोधात्मक क्षमताहरूको वृद्धि र विकासमा मुख्य भूमिका खेलेको हुन्छ।

  • खानपानसँगै पोषणको कुरा पनि आउँछ । पोषण भनेकोचाहिँ के हो र यसले हाम्रो स्वास्थ्यमा कस्तो भूमिका खेलिरहेको हुन्छ ?

–स्वस्थ खाना खाँदा त्यसमा भएका पोषक तत्त्व हाम्रो शरीरले लिन्छ। यसको मद्दतले हाम्रो शरीरले कोशिकाहरूको वृद्धि–विकास गर्छ । हाम्रो मानसिक र शारीरिक क्षमता वृद्धि गर्छ । यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतादेखि लिएर शरीरलाई तन्दुरुस्त बनाउने काम गर्छ । हाम्रो शरीरलाई खानाबाट प्राप्त हुने पोषक तत्त्वलाई हामीले ‘न्युट्रिसनल ब्यालेन्स’ वा पोषण भनेर बुझ्छौँ ।

NF

  • हामी नेपालीहरूले सामान्य रूपमा खानेकुराको मूल्याङ्कन गर्दा त्यसमा पोषक तत्त्व पुगेको हुन्छ कि हुँदैन ?

–हामीले नेपालीहरूले खाने टिपिकल खाना दाल, भात र तरकारी हो । हामीले लामो समय कोदो, फापरजस्ता खानेकुरालाई ‘गरिबको खाना’ भनेर उपेक्षा गर्‍यौँ । तर अहिले यसैलाई सुपर फुडमा राखिएको छ । यो एकदमै पोसिलो छ, यसमा कार्बोहाइड्रेट, फ्याटमात्रै होइन, माइक्रोन्युट्रिएन्टहरू, क्याल्सियमहरू पनि पाइन्छ भनेर ट्रेन्ड चलिरहेको छ । यो एकदमै राम्रो ट्रेन्ड हो। हामी अहिले खानेकुरामा पोसिलो छ है भनेर ‘ब्याक टु पास्ट’ मा गइरहेका छौँ । हामी फेरि गुन्द्रुक खाइरहेका छौँ । पहिला त यस्तो पनि खान्छ ! यो त गाउँघरतिरको मान्छेले खाने हो भनेर भनिन्थ्यो । तर अहिले विभिन्न रोग आइसकेपछि पुरानै ठिक रहेछ भनेर हामी त्यतातिर गइरहेका छौँ ।

फेरि खानेकुरा खाँदा पोषक तत्त्व हुन्छ नै । हाम्रो दाल, भात, तरकारी एकदमै ब्यालेन्स्ड छ। त्यसलाई हामीले सही मात्रामा कसरी खाने भन्ने मात्र हो । भात पनि पोषणयुक्त खाने कुरा हो। तर भातमात्रै खाने हो त ? सबै कुरा ब्यालेन्समा राखेर खान जान्यौँ भने हामीले परम्परागत रूपमा खाइरहेको दाल, भात, तरकारी, कोदो, फापर नै हाम्रो लागि एकदमै स्वस्थ खानेकुराहरू हुन् ।

  • यसलाई सन्तुलितचाहिँ कसरी बनाउने ?

–कति खाने भन्ने मानिसको शरीरअनुसार फरक–फरक हुन्छ । बालक र वयस्कमा छुट्टाछुट्टै पोषक तत्त्व चाहिन्छ । क्यालोरी छुट्टाछुट्टै चाहिन्छ । त्यसपछि फिजिकल एक्सरसाइजको कुरा हुन्छ । धेरै काम गर्दा जति इनर्जी चाहिन्छ, हामी बसीबसी काम गर्दा त्यति चाहिँदैन।

nabina phaiju (2)

प्रायः हामी भात धेरै खान्छौँ । त्यो हाम्रो पुर्ख्यौली चलन नै भनौँ– भात धेरै खाने, तरकारी कम खाने । पहिले–पहिले भात धेरै खाँदा पनि ठिकै हुन्थ्यो । बुढापाकाले पहिला हामी भात धेरै खाएर पनि स्वस्थ छौँ, तिमीहरूले भात नै धेरै खाँदैनौँ भन्नुहुन्छ । तर त्यतिखेर उहाँहरूको फिजिकल एक्सरसाइज एकदमै धेरै थियो । खेतीबारीको काम गर्नुहुन्थ्यो, हिँड्ने, डुल्ने, पहाड चढ्ने गर्नुहुन्थ्यो । भात धेरै खाँदा पनि डाइजेस्ट गर्न सक्नुहुन्थ्यो, तर अहिले हाम्रो जीवनशैली हेर्नुहोस्, बच्चाहरू पनि मोबाइलमात्रै हेर्ने, खाँदा पनि टिभी हेर्दै खाने ।

अहिले हामीलाई खानाले धेरै इनर्जी दिन्छ तर बसिराख्दा त्यो इनर्जी प्रयोग गर्नै पाउँदैनौँ । त्यही भएर खानाको मात्रा मिलाएर खान जान्यौँ भने हाम्रो शरीरलाई एकदमै फाइदा दिन्छ।

अब रोग अनुसार पनि हामीले खानपानमा परिवर्तन गर्नुपर्ने हुन्छ। उदाहरणका लागि केरा । केरामा हाई पोटासियम हुन्छ । अब कसैको रगतमा पोटासियम लेभल धेरै छ भने उहाँहरूलाई पोटासियम धेरै भएको खानेकुरा दिन भएन । त्यही भएर सबैले यति उति खानुपर्छ भन्दा पनि मानिस अनुसार कति खाने भनेर हामी निर्धारण गर्छौं ।

मलाई पोसिलो खानेकुरा चाहिन्छ, मलाई स्वस्थ हुनुछ भन्ने इच्छा जहाँ हुन्छ, त्यहाँ उपाय पनि सँगसँगै निस्किन्छ। हामीले इग्नोर गरेकोमात्रै हो भन्छु म। सजिलै छ त।
  • खानेकुराको मात्रासँगै खाना खाने समयले फरक पर्छ कि पर्दैन ?

–पक्कै पर्छ । समयले हाम्रो खानपानमा मुख्य भूमिका खेलेको हुन्छ । हामी समयमा खाँदैनौँ, खाएपछि टन्न खान्छौँ। त्यसले हाम्रो शरीरलाई एकदम अल्छी बनाउँछ। आजकल नेपालीको रोग भनेरै चिनिएको छ– ग्यास्ट्राइटिस। त्यो किन हुन्छ ? हामीले समयमा नखाएर। हामीले खाने समय निर्धारण गरेका हुँदैनौँ। हामीलाई जतिखेर मन लाग्यो, जतिखेर भोक लाग्यो, त्यतिवेला मात्रै खान्छौँ। अझ भोक लागेको वेलाभन्दा पनि जतिखेर फुर्सद हुन्छ, त्यतिवेला मात्र । यसले हाम्रो मेटाबोलिजम सुस्त भइदिन्छ । मेटाबोलिजम सुस्त हुने बित्तिकै हाम्रो मोटोपना स्वतः बढिहाल्छ। मोटोपना बढ्ने बित्तिकै ग्यास्ट्राइटिस त हुन्छ नै, मधुमेह, कब्जियत जस्ता दीर्घकालीन रोगहरू पनि देखापर्छन् ।

  • त्यसो भए मानिसको व्यस्त दिनचर्यामा कसरी सन्तुलित आहार खाने ?

–मलाई पोसिलो खानेकुरा चाहिन्छ, मलाई स्वस्थ हुनुछ भन्ने इच्छा जहाँ हुन्छ, त्यहाँ उपाय पनि सँगसँगै निस्किन्छ। हामीले इग्नोर गरेकोमात्रै हो भन्छु म। सजिलै छ त। पहिले नै तयार गरेर खाजा लाने व्यवस्था गर्नुपर्छ । टिफिन भन्छौँ नि, त्यो लाने बानी गर्नुपर्छ हामीले। त्यो पनि सकिँदैन भने परम्परादेखि चलिआएको सातु खान सक्छौँ । सातु एकदमै स्वस्थ खानेकुरा हो । त्यो सँगसँगै हामीले नट्स, फलफूलहरू ब्यागमा राख्ने। त्यसरी पनि हामी स्वस्थ खानाको लागि समय व्यवस्थापन गर्न सक्छौँ।

अस्वस्थ खानेकुरा, प्याकेजिङ गरिएका खानेकुराले एकदमै भिजुअलाइज देखिने असर भनेको मोटोपना नै हो।
  • हामी स्वस्थ खानपानको कुरा त गर्छौं तर व्यवहारमा अस्वस्थ खानालाई नै प्राथमिकता दिन्छौँ । यस्तो किन हुन्छ र यसलाई कसरी परिवर्तन गर्न सकिन्छ ?

–जे अगाडि छ, जे सजिलो छ, त्यो खाने हाम्रो बानी हुन्छ। अझ विज्ञापनहरूमा यो हेल्दी छ भनेको हुन्छ, ए हो रहेछ है भनेर त्यतैतिर जान्छौँ। हेल्दी खानुपर्छ भनेपछि हेल्दी कुरा पनि उपलब्ध हुनुपर्‍यो । हाम्रो ब्यागमा नट्स, सातु, फलफूल राख्यौँ वा टिफिन राख्ने बानी भयो भने साथीभाइहरूले पनि हामीलाई छेक्न सक्दैनन्। बरु हामीले साथीभाइहरूलाई होइन, अब हेल्दी खानुपर्छ है भनेर सँगसँगै टिफिन ल्याउने बानी बसाल्न सकिन्छ ।

  • सबैभन्दा सजिलै पाउने फास्टफूड र प्रोसेस्ड खाना हुन्। यसले स्वास्थ्यमा कस्तो असर पर्छ ?

– अस्वस्थ खानेकुरा, प्याकेजिङ गरिएका खानेकुराले एकदमै भिजुअलाइज देखिने असर भनेको मोटोपना नै हो। प्याकेजिङ गरेको खानालाई स्वादिलो बनाउनै पर्‍यो। नुन, मसलाको मात्रा बढी राख्नै पर्‍यो। अब इन्स्ट्यान्ट चाउचाउकै कुरा गरौँ। घरमा केही छैन भने टक्क पानीमा हाल्यो, उमाल्यो। सजिलो पनि भयो, छिटो पनि भयो। यसले मोटोपना त बढाउने नै भयो। नुन बढी खाँदा प्रेसर पनि बढ्ने भयो । यसले मधुमेह सँगसँगै अरू रोगहरू पनि बिस्तारै निम्त्याउँछ।

nabina phaiju (3)

  • फास्टफूडको सट्टामा त्यही समयमा, त्यति नै मीठो खानेकुराको अर्को विकल्प केही हुन्छ कि हुँदैन, जसले शरीरलाई पनि स्वस्थ नै राखोस् ?

– स्वस्थ खानेकुरा खाँदा म स्वस्थ हुँदैछु, त्यही भएर यो खाना मलाई चाहिन्छ र यो मिठो भए पनि आफ्नो लागि, मिठो नभए पनि आफ्नो लागि खाएको हुँ भनेर सोच्नुपर्छ । यो सोचेर खानुभयो भने धेरै चिल्लो, पिरो खानुको सट्टा बिस्तारै हाम्रो स्वाद पनि परिवर्तन हुँदै जान्छ । हामीले चिल्लो, एकदम डिप फ्राई खानेकुरा खाइरहेका हुन्छौँ, त्यो अनहेल्दी छ भनेर मानसिकता बनायौँ भने त्यस्ता खानेकुराहरू खाने बानी हामीले बिस्तारै हटाउन सक्छौँजस्तो लाग्छ। अब यो खानेकुरा स्वस्थ छ, त्यही भएर यसलाई मैले मिठो मानेर खानुपर्छ है भनेर त्यो भावना आफूमा सिर्जना गर्न सक्यौँ भने सादा खाना पनि स्वस्थ र मिठो मानेर खान सक्छौँ।

  • आजभोलि अर्ग्यानिक खानेकुराको पनि खुबै चर्चा भइरहेको हुन्छ । यसको वास्तविकता के हो ?

– अर्ग्यानिक खाना भन्नाले हामी पेस्टिसाइड वा अन्य विषादी प्रयोग नभएको, केमिकल प्रयोग नगरिएको तथा जेनेटिकल्ली मोडिफाइड नगरेको खानालाई बुझ्छौँ । खानेकुरा पखालेर वा पकाएर खाँदा कुनै कुनै पेस्टिसाइड र विषादीको मात्रा हट्दैन । हामीले त्यस्ता खानेकुरा खायौँ भने हाम्रो शरीरलाई पक्कै पनि फाइदा गर्दैन। यता अर्ग्यानिक खानामा एन्टिअक्सिडेन्टको मात्रा एकदमै बढी पाइन्छ। त्यस्तै ओमेगा–३ फ्याट्टी एसिडहरू जस्ता पोषक तत्त्व नन–अर्ग्यानिकभन्दा अर्ग्यानिकमा खानामा नै धेरै मात्रामा पाइन्छ। त्यही भएर अर्ग्यानिक खानेकुरा खान सक्यौँ भने हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो हो।

स्वस्थ भइकन पनि हामी एकदम फिट एन्ड फाइन देखिन सक्छौँ। यसका लागि सामाजिक सञ्जालको पछि लाग्नुभन्दा पनि स्वास्थ्यकर्मी वा डाइटिसियनसँग उचित परामर्श लिन पर्छ ।
  • सागसब्जी र फलफूल हाम्रो शरीरको लागि किन आवश्यक हुन्छ ? यो कति मात्रामा खाँदा शरीरलाई राम्रो हुन्छ ?

–हामीले अघि पनि भन्यौँ, भात कम खानुपर्छ, सागसब्जी बढी खानुपर्छ। त्यहाँ प्रोटिनको मात्रा म्यानेज गर्नैपर्छ। सबै कुरा ब्यालेन्समा राख्नुपर्छ। सागसब्जी फाइबरयुक्त तथा माइक्रोन्युट्रिएन्टयुक्त हुन्छ। यो यति मात्रा वा उति मात्रामा खानेभन्दा पनि शरीरको आवश्यकता अनुसार सबैका लागि छुट्टाछुट्टै हुन्छ । सामान्यतया एक गाँस भात खान्छौँ भने दुई गाँस तरकारीको हिसाबले हामीले खानुपर्छ। तर फेरि त्यसमा पनि कुन तरकारी तपाईंको शरीरलाई चाहिने, त्यसमा छनोटतिर पनि जान सक्छौँ । त्यस्तै फलफूल पनि कुन खाने, कति खाने भन्ने हुन्छ । त्यसका लागि उमेर अनुसार वर्गीकरण गर्नुपर्छ ।

  • खानपानबारे फैलिएका सामान्य भ्रमहरू के–के छन् ?

–धेरै कुराहरू सुन्नमा आउँछ। जस्तै कार्बोहाइड्रेट खायो भने मोटाइन्छ । भात कमै खानैपर्छ। धेरै भात खायो भने मोटाउँछ भनेर भातै नखाने । जेरो कार्ब्समा जाने। अहिले त किटो डाइट पनि आइसकेको छ। अहिले हाम्रै ओपीडीमा पेसेन्टहरू आइरहनुहुन्छ, म किटो डाइट फलो गरिरहेको छु भनेर। प्रोटिनमात्रै खाँदा हाम्रो शरीरमा के हुन्छ ? त्यसलाई हाम्रो शरीरले पचाउन सक्छ त ? वास्तवमा धेरै प्रोटिन भयो भने हाम्रो किड्नीमा असर गर्छ ।

उहाँहरू सुरुवाती चरणमा आउनुभयो भने त धेरै लक्की। बिस्तारै हामी उहाँहरूलाई डाइट मोडिफाई गर्नेतिर जान्छौँ। फेरि नेपाली खानपानमा हामीलाई मासु धेरै मनपर्छ। सांस्कृतिक रूपमा पनि हामी मासु धेरै खाने। त्यसमा पनि अब किटो डाइट भनेपछि कार्ब्स नखाने । त्यसले के गर्छ ? दुब्लाउँछ। हेर्दाचाहिँ अब स्लिम देखिरहेको हुन्छ तर उसको शरीरभित्र के भइरहेको छ ? उसको अङ्गहरूले सही काम गरिरहेको छ कि छैन ? आवश्यक पोषण पुगिरहेको छ कि छैन उसको शरीरलाई ? त्यतातिर हाम्रो ध्यान जाँदैन । बाहिरी रूपमा मात्रै जान्छ। कार्ब्स नै जेरो गरेपछि वजन त कम हुन्छ, तर त्यसको नकारात्मक प्रभाव पनि हुन्छ। यस्ता कुरामा ध्यान दिन एकदमै आवश्यक छ।

दीर्घकालीन रूपमा स्वस्थ हुनको लागि सबैभन्दा पहिले म अब स्वस्थ र सन्तुलित आहार खान्छु है भनेर मानसिक रूपमा तयार हुनुपर्छ ।
  • यस्ता भ्रम फैलिने भनेको सामाजिक सञ्जालबाट हो। मानिसहरू यसबाट चाँडै प्रभावित हुनुहुन्छ । उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?

– मचाहिँ सुरुमा प्रश्न गर्न चाहन्छु– तपाईं के चाहनुहुन्छ ? तपाईं एपिरियन्समा गुड लुकिङ चाहनुहुन्छ कि साँच्चिकै स्वस्थ बन्न चाहनुहुन्छ ? स्वस्थ भइकन पनि हामी एकदम फिट एन्ड फाइन देखिन सक्छौँ। यसका लागि सामाजिक सञ्जालको पछि लाग्नुभन्दा पनि स्वास्थ्यकर्मी वा डाइटिसियनसँग उचित परामर्श लिन पर्छ । कन्सल्टेन्टसँग एकचोटि सल्लाह गरेर आफ्नो समस्या सेयर गर्ने र त्यसमा केही परिवर्तनहरू ल्याउन सकिन्छ कि भन्ने कुराहरूतिर ध्यान दिनुपर्छ।

  • दीर्घकालीन रूपमा स्वस्थ रहन आम मानिसलाई के सल्लाह दिनुहुन्छ ? कस्तो खालको खानेकुराहरूले दीर्घकालीन रूपमा स्वस्थ राख्छ ?

– दीर्घकालीन रूपमा स्वस्थ हुनको लागि सबैभन्दा पहिले म अब स्वस्थ र सन्तुलित आहार खान्छु है भनेर मानसिक रूपमा तयार हुनुपर्छ । व्यस्त त जहिले भइरहन्छ । व्यस्तताको बाबजुद पनि हामीलाई चाहिने ऊर्जा सन्तुलित आहारले मात्रै दिन सक्छ है भनेर बुझ्नपर्‍यो। जतिसुकै व्यस्त भए पनि हामीले खानाको लागि समय निकाल्नै पर्छ भनेर भन्छु।

  • स्वस्थ रहनलाई महत्त्वपूर्ण हुने मुख्य तीन खानेकुरा के हुन् ?

–तीन खानेकुरा भनेर यो नै भन्दा पनि सबैभन्दा महत्त्वपूर्ण सन्तुलित आहार नै हो । अनि अर्को कुरा भनेको हामीले पानी पर्याप्त मात्रामा पिउनुपर्छ। खाना खानामात्र भन्दा पानीलाई पनि हामीले छुटाउन सक्दैनौँ । पानी पनि त्यति नै खानुपर्छ सन्तुलित रूपमा। अनि त्यसपछि सँगसँगै समयको कुरा पनि आउँछ । समयमा खानुपर्छ। हामीले एकैचोटी धेरै नखाने भनेर अघि पनि कुरा गर्‍यौँ । स्वस्थ रहनका लागि यी एकदमै आवश्यक चिज हुन्।

2

  • व्यस्तताले खान बिर्सिने, अनियमित हुने धेरैको बानी हुन्छ । यसका लागि केही उपाय छन् ?

– काम गरेपछि आरामले खाऔँ भन्ने हाम्रो सोच हुन्छ। त्यही भएर सबै काम पहिले सक्काइदिऊँ भन्ने हुन्छ । तर म खानाका लागि तालिका बनाउनुपर्छ भन्छु । खाना आरामले खानै पर्छ भन्ने त छँदैछ। किनभने चाँडै–चाँडै खाने बानी पनि एकदमै नराम्रो हो। खानको लागि समय त चाहिन्छ नि। तर त्यो कार्यव्यस्ततामा पनि बिचबिचमा हल्का स्न्याक्स लिन सकिन्छ ।

थोरै–थोरै खाने, एकैचोटी धेरै नखाने। त्यसको लागि तालिका बनाउने । दुई–तीन घण्टाको फरकमा हामीले तालिका बनाउन सक्यौँ भने राम्रो हुन्छ । यसमा पनि हेल्दी स्न्याक्स । आफूलाई क्यालोरी कति चाहिन्छ ? यसका लागि डाइटिसियनसँगै सल्लाह गरेर खानाको तालिका मिलाएर खान सक्यौँ भने त्यो समय सम्झिहाल्छौँ नि । यसलाई व्यवस्थापन गर्न सक्यौँ भने व्यस्तता भएता पनि हाम्रो त्यो खाना खाने बानी बसिसक्छ । अनि कुनै दिन त्यो समयमा खाएनौँ भने भोक लागिहाल्छ हामीलाई । हाम्रो मेटाबोलिजम हामीले शरीरलाई जसरी इन्ट्रोड्युस गर्‍यो, त्यसमा नै बिस्तारै ढल्दै जाने त हो । त्यही भएर खाने तालिका बनाउनु एकदमै आवश्यक छ।

  • खाना खाएपछि हुने अल्छीपना कम गर्नलाई केही उपाय छ कि छैन ?

–त्यसको उपाय भनेकै हामीले पेटभरि टम्म हुनेगरी एकैचोटी नखाने नै हो । त्यसपछि समय मिलाएर खाने । बिहान ७ बजे ब्रेकफास्टमा तपाईंले हेल्दी डाइट लिनुभयो, जस्तै एउटा अण्डा र थोरै चना। अब तपाईंलाई ९ बजे खाना खाने बानी छ भने बिहान केही नखाईकन एकैचोटी खाना खाँदाको भोकभन्दा कम भइसकेको हुन्छ। तपाईंले कमै खानुहुन्छ त्यतिखेर। अब त्यो खाँदा पनि तरिका अलिकति मिलाउन सक्छौँ । जस्तै पहिले एक ग्लास दाल मज्जाले पियो अनि त्यसपछि भात खायो भने त दालले पहिले नै पेट भरिएको हुन्छ। त्यसले भात कम रुच्छ।

nabina phaiju (1)

नत्र सामान्यरूपमा हामी भात र तरकारी ग्वामग्वाम खान्छौँ । त्यसको साटो एक ग्लास दाल खाएरमात्र भात खायो भने हाम्रो प्रोटिन ब्यालेन्स पनि मिल्छ। भात कम रुचेपछि कार्ब्स पनि हाम्रो कम मात्रामा जान्छ। त्यसले गर्दा निन्द्रा लाग्ने वा अल्छी हुने गरी पेट पनि फुल्दैन। बरु टाइम टाइममा खायो, ठिक्क खायो । दुई घण्टापछि नै फेरि हामीले केही सलादहरू वा फलफूलहरू खान सक्छौँ। यसरी दिनभरिको टाइम टेबल म्यानेज गरेर खायौँ भने निन्द्रा लाग्न दिँदैन। उता शरीरलाई जति इनर्जी दिनुपर्ने त्यो पनि दिइराख्छ। एकैचोटी खाँदा मेटाबोलिजम पनि स्लो भइदिन्छ । हामीलाई निन्द्रा लाग्ने मुख्य कारण पनि यही हो।

  • पानी एक दिनमा कति पिउँदा शरीरलाई राम्रो हुन्छ ?

– यो कुरा हामी बस्ने वातावरणले पनि निर्धारण गर्छ। धेरै गर्मी ठाउँमा हुनुहुन्छ भने तपाईंको शरीरले धेरै नै पानी माग्छ किनभने धेरै पसिना जान्छ। तपाईं सामान्य वातावरण वा चिसो ठाउँ हुनुहुन्छ भने त कम तिर्खा लाग्छ। चिसो पानी नखाने भनेर त्यति पानी पनि खाइँदैन । कतिपय वेला पानी खायो भने ट्वाइलेट मात्रै जानुपर्छ भनेर हामी खाँदैनौँ । तर सामान्य रूपमा दिनको २–३ लिटर पानी चाहिँ खानैपर्छ।

  • एउटा डाइटिसियनको रूपमा आम मानिसलाई खानपानको बारेमा के भन्न चाहनुहुन्छ ?

–हाम्रो स्वास्थ्यको लागि, हामी स्वस्थ हुनका लागि चाहिने भनेकै पोसिलो र सन्तुलित आहार हो । हामीलाई ऊर्जा प्रदान गर्न, दैनिक काम गर्नको लागि पनि हामीलाई खानेकुरा नै चाहिन्छ। तपाईंलाई केही कुराको कमी भयो र तपाईंले औषधि खानुभयो भने त्यो त छोटो समयको लागिमात्र हो । तर खाना जहिले नै खानुपर्छ। जसरी तपाईंहरू औषधि समय–समयमा खानुहुन्छ, खाना पनि त्यसरी नै समय–समयमा खानुभयो भने यसले तपाईंलाई ऊर्जावान् बनाइराख्छ। त्यही भएर स्वस्थ खानुस्, टाइममा खानुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया