सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
सारांश
- युवाहरूले प्रहरी लाठीचार्ज र अश्रुग्यासको सामना गर्दा इन्स्टाग्राम रिल्स र मीममार्फत व्यंग्यात्मक शैलीमा विरोध प्रदर्शन गरेका छन्।
- परीक्षा अनियमितताको विरोधबाट सुरु भएको यो आन्दोलन सरकारको जवाफदेहिता खोज्ने अभियानमा परिणत भएको छ, जसमा शिक्षामन्त्रीको राजीनामा माग गरिएको छ।
- प्रविधि र समाजका विज्ञहरूका अनुसार, यो प्रवृत्तिले इन्टरनेट युगमा हुर्किएको पुस्ताले राजनीतिलाई आफ्नो दैनिक जीवनको अभिन्न अंगको रूपमा कसरी अनुभव गर्छ भन्ने देखाउँछ।
सोमबार २० वर्षीया छवि (नाम परिवर्तन) दिल्लीको एउटा मेट्रो स्टेसन बाहिर केही बेर रोकिइन्।
छवि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनमा सहभागी हुन आएकी थिइन्।
उनले आफ्नो फोन रेलिङमा अडाएर केही कदम पछाडि गइन् अनि एउटा छोटो ‘फिट चेक’ (पहिरन देखाउने) भिडिओ रेकर्ड गरिन्। यसमा उनले प्रदर्शनमा जानुअघि आफ्नो पहिरन देखाएकी थिइन्।

उनले क्यामेरातिर हेर्दै मुस्कुराएर भनिन्, ‘साथीहरू, म प्रहरीबाट कुटाइ खान जाँदैछु।’
केही घण्टापछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गर्यो। यसै क्रममा ककरोच जनता पार्टी (सीजेपी) का हजारौँ समर्थक संसद्तर्फ मार्च गरिरहेका थिए।
युवाहरूको नेतृत्वमा भएको यो आन्दोलन परीक्षामा भएको अनियमितताको विरोधबाट सुरु भएर सरकारको जवाफदेहिता खोज्ने ठुलो अभियानमा परिणत भयो।
प्रदर्शनकारीहरू परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्। प्रधानले भने राजीनामा दिन अस्वीकार गरेका छन्।
विपक्षले राजनीतिक फाइदाका लागि विद्यार्थीहरूको प्रयोग गरिरहेको उनको आरोप छ।

सोमबार प्रशासनले प्रदर्शन स्थल वरपर मोबाइल इन्टरनेट सेवा बन्द गरेको थियो। बेलुकासम्म प्रहरीले धेरै मानिसलाई कुटपिट गरेको प्रदर्शनकारीहरूको भनाइ थियो। यता प्रहरीले भने आफ्ना धेरै अधिकारीहरू पनि घाइते भएको बताएको थियो।
जब छविले त्यो साँझ आफ्ना भिडिओहरू अपलोड गरिन्, तब एउटा कुरा सबैभन्दा फरक देखियो। मार्च सुरु हुनुअघि उनले प्रहरीबाट कुटाइ खाने कुराको मजाक उडाएकी थिइन्।
साँझको भिडिओमा उनी मुस्कुराइरहेकी थिइन्। छवि प्रहरीहरूसँग उभिएर तस्बिर खिचाइरहेकी थिइन्, जितको संकेत (भिक्ट्री साइन) देखाइरहेकी थिइन्, भिडको बिचमा भिडिओ रेकर्ड गरिरहेकी थिइन् अनि एकजना घाइते प्रदर्शनकारीको अन्तर्वार्तासमेत लिइरहेकी थिइन्।
यी भिडिओहरू इन्स्टाग्राममा बाढी नै ल्याउने हजारौँ रिल्स र मिम भिडिओहरूमध्येका थिए।
केहीमा रिस प्रस्टै देखिन्थ्यो। केही बेचैनी, डर वा शान्त प्रतिरोधले भरिएका थिए। तर सबैभन्दा बढी ध्यान तान्ने कुरा भने अक्सर उनीहरूको व्यंग्यात्मक शैली थियो।
- इन्स्टाग्राममा रमाइलो गर्दै प्रयोगकर्ताहरू
एकजना युवती प्रहरीको अगाडि उभिएर आनन्दले आफ्नो लिपस्टिक लगाइरहेकी थिइन्।

अर्की एक युवतीले जिस्कँदै सरकारले न्याय दिन नसकेकाले आफू ‘प्रदर्शनमा राम्री देखिने कोसिस गरिरहेको’ बताइन्।
एउटा रिलको सुरुवात सामान्य ‘आउटफिट रिभिल’ (पहिरन देखाउने) भिडिओ जस्तै भयो, तर अचानक दृश्य परिवर्तन भएर अश्रुग्यासबाट बच्न भागिरहेका प्रदर्शनकारीहरूमा पुग्यो।
अर्को एउटा रिलमा अश्रुग्यासको ‘रिभ्यु’ यसरी गरियो, मानौँ कुनै नयाँ रेस्टुरेन्टको समीक्षा भइरहेको छ।
अनलाइन हेर्ने धेरै मानिसलाई यो हाँसोठट्टा र हिंसा बिचमा कुनै तालमेल नभएको जस्तो लाग्यो। तर जुन युवाहरूले यी भिडिओ बनाए, उनीहरूका लागि यसमा कुनै विरोधाभास थिएन।
यस रिपोर्टका लागि कुराकानी गरिएका प्रदर्शनकारीहरूमध्ये कसैले पनि अल्गोरिदम, इन्गेजमेन्ट वा भाइरल हुने कुरा गरेनन्। भिडिओ रेकर्ड गर्नु उनीहरूका लागि प्रदर्शनकै अभिन्न अङ्ग जस्तो भएको उनीहरूको भनाइ थियो।
अनि जब उनीहरूले हाँसोको सहारा लिए, त्यो लगभग सधैँ आफूमाथि नै केन्द्रित थियो।

जस्तै लाठीचार्जबाट बच्न कैयौँ किलोमिटर भाग्नुपरेको कुराको मजाक उडाउनु वा अश्रुग्यासको बिचमा भाग्नुभन्दा केही क्षणअघि ‘आउटफिट रिभिल’ रेकर्ड गरेकोमा हाँस्नु। यी ठट्टाहरूले डरलाई खत्तम भने गरेनन्। बरु डर र हाँसोठट्टा सँगसँगै चलिरहेका थिए।
- रिल्स, मिम र राजनीतिको सङ्गम
इन्टरनेटको युगमा हुर्किएको पुस्ताले प्रदर्शनलाई कसरी अनुभव गर्छ भन्ने कुरा यो प्रवृत्तिले देखाउने विशेषज्ञहरूको भनाइ छ।
प्रविधि र समाजको अध्ययन गर्ने मिचिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पाल भन्छन्, ‘पुराना पुस्ताले राजनीतिक जीवन र दैनिक जीवनलाई फरक-फरक मान्थे।’
उनी थप्छन्, ‘नयाँ पुस्ता यस्तो माहोलमा हुर्किन्छन्, जहाँ राजनीति उनीहरूको मिम, पारिवारिक तस्बिर र दैनिक यात्राहरूसँगै जोडिएको हुन्छ।’
अर्को शब्दमा भन्नुपर्दा, प्रदर्शन पनि रेकर्ड गरिने अर्को एउटा क्षणमा परिणत हुन्छ।
छविले प्रहरी कारबाही सुरु भएपछि पनि भिडिओ रेकर्ड गर्न छाडिनन्। पछि केही मानिसले उनीमाथि हिंसालाई ‘कन्टेन्ट’ जसरी प्रस्तुत गरेको आरोप लगाए।

उनले भनिन्, ‘तर त्यसबेला म जोसमा थिएँ। म डराएकी थिएँ, आत्तिएकी थिएँ। मेरो अगाडि डरको सामना गर्दै हाँस्ने वा रुने दुईवटा मात्र विकल्प थिए।’
अवस्था हिंस्रक भइसकेपछि पनि रेकर्डिङ जारी राख्ने यो प्रवृत्ति विश्वभर नै तीव्र रूपमा सामान्य बन्दै गएको युट्रेक्ट विश्वविद्यालयकी डिजिटल मानवशास्त्री पायल अरोडा बताउँछिन्।
स्मार्टफोनले सर्वसाधारणलाई राजनीतिक उथलपुथलको अभिलेख राख्ने व्यक्ति बनाइदिएको छ। उनीहरू यस्ता क्षणहरू रेकर्ड गरिरहेका छन्, जुन सायद नत्र हराएर जान्थे।
उनी भन्छिन्, ‘कुनै प्रदर्शनलाई रेकर्ड गर्नु आफैँमा एउटा उद्देश्य बन्न पुग्छ। उनीहरूको सन्देश केही यस्तो हुन्छ, ‘यस्तो भएको थियो। हामी त्यहाँ थियौँ।’ हामी यसलाई याद राख्नेछौँ।’

हाँसोठट्टा पनि एउटा निश्चित ढाँचामा बाहिर आयो। कुनै पनि युवा प्रदर्शनकारीले त्यो दिनलाई रमाइलो भनेनन्। उनीहरूले अश्रुग्यास, लाठीचार्ज र शान्तिपूर्ण मार्च अचानक भागदौडमा परिणत हुँदाको अन्योलबारे कुरा गरे।
ठट्टाहरू त पछि आए, लगभग स्वाभाविक रूपमै ती अनुभवहरूलाई आफूसँगै बोकेर हिँड्ने एउटा तरिकाको रूपमा यी कुराहरू बाहिर आए।
- ‘अब राजनीति दैनिक जीवनको हिस्सा हो’
निशान्त शाह हङकङको चाइनिज युनिभर्सिटी अन्तर्गत स्कुल अफ जर्नालिजम एन्ड कम्युनिकेसनका डिजिटल न्यारेटिभ सेन्टरका निर्देशक हुन्।
मानिसहरूले अक्सर यो हाँसोठट्टालाई बेवास्ता वा उदासीनता सम्झिने गल्ती गर्ने गरेको निशान्त शाह बताउँछन्। उनका अनुसार वास्तवमा यसको उद्देश्य ठिक उल्टो हुन्छ।

उनले भने, ‘राजनीति दैनिक जीवनको हिस्सा हो। यो भावनात्मक पनि छ र अनुभवसँग जोडिएको पनि छ।’
हाँसोठट्टा लामो समयदेखि विरोध प्रदर्शनहरूको हिस्सा बन्दै आएको छ। यसले एकजुटता पैदा गर्न सक्छ, तनाव कम गर्न सक्छ र मानिसहरूलाई डरलाग्दो क्षणबाट पार पाउन मद्दत गर्न सक्छ।
शाहले भने, ‘उद्देश्य जतिसुकै कठिन किन नहोस् र सङ्घर्ष जतिसुकै चर्को किन नहोस्, त्यसमा खुसी, हाँसो, गीत र आशा सधैँ रहन्छन्। यी कुराहरूविना आन्दोलन लामो समयसम्म टिक्न सक्दैनन्।’
- नयाँ युगका नयाँ तरिका
२१ वर्षीय ईशान (नाम परिवर्तन) पहिलोपटक कुनै प्रदर्शनमा सहभागी हुन दिल्ली आएका हुन्। जब उनको नजिकै अश्रुग्यासका गोला खसे, तब उनले केही बेर त्यहाँबाट जानेबारे सोचे।
तर त्यसपछि उनले आफ्नो फोन निकाले।
पछि उनले पोस्ट गरेको रिलमा सडकमा फैलिएको सेतो धुवाँ देखिन्थ्यो। त्यसमा एउटा साधारण क्याप्सन लेखिएको थियो, ‘म जमुना (यमुना) पारिको हुँ भन्ने दिल्ली प्रहरीलाई थाहा छैन।’

ईशान हाँस्दै भन्छन्, ‘त्यहाँको गन्ध त अश्रुग्यासभन्दा पनि कडा छ।’
केही भएकै छैन भनेर देखाउनु यो मजाकको उद्देश्य नभएको उनले बीबीसीलाई बताए।
उनले भने, ‘त्यो दिनको सम्झनामा डरलाई हाबी हुन नदिनु यसको उद्देश्य थियो।’
विरोध प्रदर्शनहरूले सधैँ डर र आशालाई एउटै तस्बिरमा राख्ने बाटो खोजेका छन्।
स्वतन्त्रता आन्दोलनमा गीत र भाषण हुन्थे। ट्रेड युनियनहरू ब्यानरसहित मार्च गर्थे। विद्यार्थी आन्दोलनले पोस्टर र सडक नाटकलाई अपनाए।
पछिल्ला वर्षहरूमा नागरिकता कानुनविरुद्ध भएका प्रदर्शनहरूको पहिचान भित्तेलेखन (ग्राफिटी) र सार्वजनिक रूपमा संविधान पढेर बन्यो, जबकि किसान आन्दोलन ट्र्याक्टर र्याली र दिल्लीका सिमानाहरूबाट गरिने लाइभस्ट्रिमका लागि चिनियो।
सीजेपीका धेरै प्रदर्शनकारीहरू जस्तै ईशान पनि इन्टरनेटको युगमा हुर्किएको पुस्ताको भाषामा कुरा गर्छन्। यो भाषालाई सतही सम्झेर बेवास्ता गर्नु भनेको यसको असली उद्देश्य नबुझ्नु भएको शाह बताउँछन्।

शाहले भने, ‘हामी अक्सर नयाँ प्रविधिलाई पुरानो सोचमार्फत बुझ्ने गल्ती गर्छौँ।’
तर उनका अनुसार, मिम भनेको राजनीतिक पोस्टरको आधुनिक रूप मात्र होइन। जब मानिसहरूले यसलाई पुनः बनाउँछन्, यसको प्यारोडी गर्छन् र अरूलाई सेयर गर्छन्, तब यसको अर्थ पनि बदलिँदै जान्छ। यसलाई सेयर गर्नु पनि प्रदर्शनमा सहभागी हुने एउटा तरिका बन्न पुग्छ।
१८ वर्षीय इन्जिनियरिङका विद्यार्थी मनितको हकमा पनि यस्तै भयो। यो उनको पहिलो प्रदर्शन थियो र उनले भिडिओ रेकर्ड नगर्ने लगभग तय गरिसकेका थिए।
उनले भने, ‘म डराएको थिएँ।’
त्यसपछि उनले यताउता हेरे र भने, ‘सबैजना रेकर्डिङ गरिरहेका थिए, क्यामेरासँग कुरा गरिरहेका थिए, बस आफ्नै सुरमा थिए। अनि मैले आफ्नो साथीलाई मेरो भिडिओ रेकर्ड गर्न भनेँ।’
उनको रिल पनि सामान्यतया उनले पोस्ट गर्ने वर्कआउट भिडिओ जस्तै देखिन्थ्यो। तर रिलको अन्त्यमा भने उनको फिटनेस एपले प्रहरीबाट भाग्दाको दौड (रनिङ एक्टिभिटी) रेकर्ड गरिरहेको थाहा हुन्छ।

उनी हाँस्दै भन्छन्, ‘म प्रहरीबाट बचेर निस्किएँ। म भागिरहेँ र यही क्रममा मेरो वर्कआउट पनि पूरा भयो।’
मनितका लागि यही विडम्बना सबैभन्दा महत्त्वपूर्ण थियो।
उनले भने, ‘हरेक युवाले समाचार पढ्दैनन्। यदि हाँसोठट्टाले महत्त्वपूर्ण कुराकानीलाई धेरै मानिससम्म पुर्याउन सक्छ भने, हामीले यसको प्रयोग किन नगर्ने ?’
(केही मानिसको पहिचान गोप्य राख्न उनीहरूको नाम परिवर्तन गरिएको छ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण