सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जनताको पत्र : सांसदहरूलाई एक अपिल

आइतबार, २२ असार २०८२, ०७ : १०
आइतबार, २२ असार २०८२

सारांश

  • लेखकले सांसदहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदलाई नाटक र गफको थलो बनाएको आरोप लगाएका छन्।
  • निजामती विधेयकमा भएको परिमार्जन र अस्पष्टतालाई लिएर सांसदहरूको कार्यशैलीमाथि प्रश्न उठाइएको छ।
  • लेखकले सांसदहरूलाई आत्मसमीक्षा गर्न र जनताको विश्वास जित्न आग्रह गरेका छन्।

प्रिय सांसदज्यूहरू, 
तपाईँहरूका मतदाता जहाँ भए पनि मन सधैँ तपाईँहरूकै कार्यसूचीमा अडिएको हुन्छ । रेडियो खोल्दा होस् वा टेलिभिजन हेर्दा, अथवा सामाजिक सञ्जाल पल्टाउँदा होस्, तपाईँहरूको कुनै न कुनै समाचार टल्किरहेको हुन्छ । तर त्यो टल्किने उज्यालो प्रकाश होइन, त्यो त लाजको राप वा विश्वासको खरानी  । 

लोकतन्त्रमा जनताले तपाईँहरूलाई पाँच वर्षको जिम्मेवारी दिएका हुन्छन् । उनीहरूको अपेक्षा हुन्छ कि संविधानको मर्म पालना होला, कानुन बनाउने काममा विवेक प्रयोग होला र नीति निर्माणमा राष्ट्र हितले प्राथमिकता पाउला । त्यस्तै देशको उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, शिक्षालाई व्यावहारिक बनाउने र स्वास्थ्यलाई सबैको पहुँचमा पुर्‍याउने विषयमा तपाईँहरूको आफ्ना धारणा आउला भनेर जनताले अपेक्षा राखेका हुन्छन् । 

तर, तपाईँहरूले सांसदलाई यस्तो मञ्च बनाउनुभयो जहाँ नाटक देखाउने, चटक गर्ने, गफ चुट्ने, भाषणको खेती गर्ने, गाली र प्रतिगाली प्रतियोगितामा प्रतिस्पर्धा मात्रै हुन्छ । 

पछिल्लो पटक तपाईँहरूले बनाएको, होइन, बनाएको भनिएको, अझ भनौँ पढ्नै नसकी पास गरिएको निजामती विधेयकबारे सुनेँ—अनि मन एकछिन दिक्दारीले झन्न भयो । “सङ्घीय निजामती सेवा गठन, सञ्चालन तथा सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” अन्ततः पारित भयो रे । फागुन २०८० मा दर्ता भएको विधेयक १४ महिना समितिमा सुतेर, कति लेखा परीक्षण भएर अन्ततः प्रतिनिधि सभाबाट सर्वसम्मतिले पास भयो रे । तपाईँहरू खुसी हुनुभयो, मन्त्री खुसी भए, मिडिया खुसी भयो ! 

तर, त्यो खुसी केही क्षणमै खण्डनमा बदलियो ! पास भएको भनिएको विधेयकमा रहेको ’निजामती सेवाबाट अवकाश भएको कम्तीमा दुई वर्ष नपुगी संवैधानिक पदमा नियुक्ति नहुने’ महत्त्वपूर्ण व्यवस्था अन्तिममा परिमार्जन गरिएर ’आवश्यक भएमा नियुक्ति दिन सकिने’ भनेर ’तर’, ’यदि’, ’यथोचित’ जस्ता अस्पष्ट शब्दले प्रस्ट अर्थको घाँटी निमोठिएको रहेछ ।

सांसदज्यू, के तपाईँहरू सचेत नागरिकलाई मूर्ख ठान्नुभएको हो ? विधेयक पास गरिसकेपछि सांसदभित्र कोही भन्छ-'हामीले यस्तो कुरा देखेकै छैनौँ', कोही भन्छ-'कसले हाल्यो यस्तो कुरा ?’, अनि मन्त्रीको कार्यालय भन्छ— ‘हामीले त समितिमा पठाएकै थिएनौँ !' अब कसलाई दोष दिने ? सांसदलाई ? समिति सचिवालयलाई ? मन्त्रीलाई ? 

मन्त्री, सांसददेखि प्रवक्तासम्मले छुट्टाछुट्टै व्याख्या दिए । विधेयकमा सही गर्ने राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले आफैँले सही गरेको सिफारिससँगै थपिएको वाक्य देख्नुभएन अनि लाजै लजाउने गरी भन्नुभयो, ‘यहाँ बदमासी भएको छ, छानबिन गरियोस्’ । कठै ! सुशासन ।

सांसदज्यू, के तपाईँहरू सचेत नागरिकलाई मूर्ख ठान्नुभएको हो ? विधेयक पास गरिसकेपछि सांसदभित्र कोही भन्छ-'हामीले यस्तो कुरा देखेकै छैनौँ', कोही भन्छ-'कसले हाल्यो यस्तो कुरा ?’, अनि मन्त्रीको कार्यालय भन्छ— ‘हामीले त समितिमा पठाएकै थिएनौँ !' अब कसलाई दोष दिने ? सांसदलाई ? समिति सचिवालयलाई ? मन्त्रीलाई ? 

अब प्रश्न उठ्छ— तपाईँहरूले त्यो विधेयक पढ्नुभयो ? कि मन्त्रीको मुख हेरियो ? कि सचिवालयले के लेखिदियो, त्यसैमा टेबुल ठोकियो ? नयाँ भनिएका, पुराना भनिएका, अझ कति पढेका, कति अनपढ, कम्तीमा नेपाली अक्षर त चिनेका होलान् नि सांसदज्यू, तपाईँहरू त्यहाँ के हेर्न जानुहुन्छ ? कर्मचारीले लेखिदिएको कागजमा आँखामाथि चस्मा राखेर टेबुल ठोक्नु मात्रै हो ? पढ्नु हुँदैन ? सोच्नु हुँदैन ? बहस गर्नु हुँदैन ? देशको नीति विधेयक हो, त्यो पास गर्दा त कम्तीमा “म केमा सहमत छु, केमा छैन“ भनेर बोल्न मिल्दैन ? ’संविधानले अधिकार दिएको संसद्’को प्रयोग गर्ने हैसियतमा तपाईँहरूले विधेयक पढ्नु पर्दैन ? बहस गर्नु पर्दैन ? कि बहस त मिडियाका पर्दामा मात्रै ? 

यो संसद् हो कि खेल मैदान ? तपाईँहरू सांसद हो कि मञ्चीय कलाकार ? 

तपाईँहरूलाई पाँच वर्षको लाइसेन्स दिएर पठाएका हुन् । तर, पाँच वर्षभित्रै तपाईँहरूकै बिचका कति सांसद जेलमा छन्, कति पुर्पक्षमा छन्, कति धरौटीमा छुटेका छन्, कति ज्यान मुद्दा, कति ठगी, कति राज्यविरुद्धको अभियोगमा छन् । अनि ती नै माननीय ? तिनैले मुलुकको नीति बनाउने ? यति भइसकेपछि पनि आत्मग्लानि छैन ? संसद्को मञ्चमा चिच्याउन सकिन्छ, तर मनभित्रको गल्ती स्वीकार गर्न सकिँदैन ? 

तपाईँहरूको रातको निद्रा खुलेको बेला कहिल्यै आत्म समीक्षा गर्नुहोला— के म योग्य छु ? के म राष्ट्रको प्रतिनिधि हुन सक्ने नैतिकता राख्छु ? यदि जवाफ 'छैन' भन्ने आयो भने त्यो नै तपाईको जागरण हो, तपाईंको आत्मा बाँचिरहेछ भन्ने प्रमाण हो । 

कहिले तपाईँहरूले सांसदलाई रणभूमि बनाउनुभयो, कहिले कुर्सी भाँच्यौँ, माइक उचाल्यौँ । कहिले रेस्टुरेन्टजस्तो गफ दिने मञ्च बनाउनुभयो, कहिले लाजै नमानी कपडा खोलेर नाङ्गै भयौँ । कोही सांसदभित्र निद्रामा मस्त छन्, कोही मोबाइलको टिकटक हेर्दै रमाइरहेका छन्, कोही गफ गरेर हाँसिरहेका छन् ।  कहिले देश नै भाडामा दिने भाषण आउँछ, कहिले महिनौंंसम्म संसद् बन्धक बनाइन्छ, तर भत्ता त नियमित खानुहुन्छ- त्यो चाहिँ कहिल्यै बिर्सनुहुन्न । संसदमा २५% सांसद पनि नपुगेर प्रस्ताव पास हुँदैन, सभामुख भन्नुहुन्छ- गणपूरक उपस्थिति छैन, बैठक समाप्त ! 

र हामी...? हामी जनता...? 

प्लेटोले भनेका छन्, “जब सज्जन व्यक्ति राजनीतिमा मौन रहन्छन्, तब उनीहरूमाथि दुष्टहरूले शासन गर्छन् ।” त्यो दिन नहोस्, हाम्रो मौनताले तपाईँहरूजस्ता प्रतिनिधिलाई शासन गर्न दिन्छ, जसलाई आफैँले पास गरेको विधेयक थाहा हुँदैन ।  भगवद्गीता भन्छ- “कर्तव्य निष्ठा बिना कर्म गर्नु अधर्म हुन्छ ।” तपाईंको हस्ताक्षरमा मात्र कानुन बन्नु हुँदैन, तपाईंको विवेक, निष्ठा र अध्ययनबाट बन्नुपर्छ । 

तपाईँहरूको रातको निद्रा खुलेको बेला कहिल्यै आत्म समीक्षा गर्नुहोला- के म योग्य छु ? के म राष्ट्रको प्रतिनिधि हुन सक्ने नैतिकता राख्छु ? यदि जवाफ 'छैन' भन्ने आयो भने त्यो नै तपाईको जागरण हो, तपाईंको आत्मा बाँचिरहेछ भन्ने प्रमाण हो । 

माफ गर्नुहोला, अब तपाईँहरूका बारेमा जनताले व्यङ्ग्य लेख्न थालेका छन् “विधेयक के पास भयो भनेर सांसदले आफैँलाई थाहा नभएको युग सुरु भयो ।“ “अब टेबुल ठोक्ने समय आयो भन्दै सभा रोकिन्छ, कानुन होइन सो पास हुन्छ ।“ “कागज के थियो ? कसैलाई थाहा छैन, ठोकेको सम्झना मात्रै छ ।”

किनभने जनताले अब कानुनमा 'यदि', ’तर’, 'यथोचित' होइन, 'नैतिकता र स्पष्टता’ खोजिरहेका छन् । कर्मचारीका लागि होइन, तपाईँहरूका लागि 'कुलिङ पिरियड' आवश्यक भइसकेको छ— संसदबाट टाढा रहेर आत्मपरीक्षण गर्ने समय । 

अब यत्तिका नाटक देख्दा अरुणा लामाले गाएको त्यो गीत याद आयो— “पोहोर साल खुसी फाट्दा मनले टाले, यसपालि त मनै फाट्यो केले टाल्ने केले सिलाउने ।“ हो-अब मनले टाल्न सक्ने क्षमतासमेत जनतामा सकिएको छ न त धैर्य बाँकी छ, न त तपाईँहरूप्रति कुनै विश्वास । 

अन्त्यमा, यो पत्र हो— विरोधको होइन, जागरणको । व्यङ्ग्यको होइन, विवेकको । मैले चिठी लेख्न बाध्य भएँ । कृपया अब यथार्थमा फर्किनुहोस् । 

सांसदज्यूहरू, तपाईँहरूले अब कम्तीमा संसदमा एउटा सत्य प्रस्ताव राख्नुहोस्— “हामी सक्षम भएनौँ, अब विवेकसहित फिर्ता भयौँ ।”

गीता सम्झाउँछ- कर्तव्य नपाल्नेहरूले स्वतन्त्रता होइन, विनाश भोग्छन् । बुद्ध सम्झाउँछन्— धम्म त्याग्नेहरूले आफैँलाई डुबाउँछन् । प्लेटो चेताउँछन् सज्जन मौन बस्दा, शासन दुष्टका हातमा पुग्छ । 

भवदीय, 
एक नागरिक, तपाईँको भोटर
हालः ब्रीसवेन अस्ट्रेलिया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव पौडेल
सञ्जीव पौडेल
लेखकबाट थप