बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विज्ञका कुरा

काठमाडौँमा कोब्रा !

आइतबार, २२ असार २०८२, ११ : ४९
आइतबार, २२ असार २०८२

केही दिन अगाडि मेरो साथीले ललितपुर जिल्लाको गोट्टीखेल जाने क्रममा कोब्रा सर्प देखेछन् । उनले कोब्रा सर्पको फोटो अनि भिडियो पनि खिचेका रहेछन्, जुन मैले पनि हेर्न पाएँ ।

मेरालागि काठमाडौँमा देखिएको कोब्रा सर्पको भिडियो पहिलो थियो, तर मैले एक दैनिक पत्रिकामार्फत ६ वर्ष अगाडि नै (विसं.२०७६ मा) ‘तराईका विषालु सर्प काठमाडौँ सर्दै !’ भन्ने शीर्षकमा लेख प्रकाशित गरेको थिएँ । तराईमा मात्र सीमित देखिने गरेका किटजन्य रोगहरू पहाड अनि हिमालतिर सर्दै गर्दा विषालु सर्पको बसाइ सराइको सम्भावनालाई पनि नकार्न सकिँदैन भन्ने आशय लेखमा थियो ।

अहिले यो फोटो अनि भिडियोले वर्षौँ अगाडि गरेको त्यो मेरो अनुमान सही भएको सङ्केतको रूपमा लिन सकिन्छ । यो घटनाले केही प्रश्न भने पक्कै उब्जिएको देखिन्छ । जस्तै के काठमाडौँमा कोब्रा सर्प बढ्दै जाला ? अनि यसबाट काठमाडौँ लगायत पहाडी इलाकामा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याको बारेमा हामी सजग वा तयार छौँ त ?    

ललितपुरमा मात्र होइन, केही दिन अगाडि काठमाडौँको दक्षिणकाली क्षेत्रका विभिन्न स्थान (गोपालेश्वर, भन्ज्यान, सोखोल, फूलचोक)मा पनि तराईमा देखिँदै आइरहेका १० वटा विषालु किङ्ग कोब्रा देखिएको भन्ने खबर आएको थियो । सम्भवतः यो घटना कुनै संजोगमात्र हो र थियोजस्तो लाग्दैन । अर्थात् तराईबाट झुक्किएर, विभिन्न सामानसँगै काठमाडौँ आइपुगेको हो भन्ने मात्र देखिँदैन । कोब्रा सर्पले काठमाडौँको वातावानुकूल आफूलाई ढाल्दै गएको प्रारम्भिक सङ्केतको रूपमा लिन सकिन्छ ।

त्यस्तै काठमाडौँ बाहिर पनि सन् २०१८ मा गौरीशंकर संरक्षण क्षेत्रमा संसारकै लामो मानिने किङ्ग कोब्रा देखिएको त्यहाँका संरक्षण प्रमुखले बताएका थिए । त्यहाँ किङ्ग कोब्राले आफ्नो अन्डासमेत कोरलेको उनको भनाइ थियो । यसबाट किङ्ग कोब्राले त्यहाँको वातावरणमा रहन सक्ने गरी आफूलाई अनुकूलन बनाइसकेको भन्ने बुझिन्छ । गौरीशंकर संरक्षण क्षेत्र समुद्री सतहबाट ७,१८१ मिटर माथिसम्म फैलिएको छ । यति उच्च हावापानी भएको वातावरणमा किङ्ग कोब्रा सर्प देखिनु आफैँमा एउटा दुर्लभ घटना मानिन्छ भने बैज्ञानिकहरूका लागि खोज अनुसन्धानको विषयसमेत बनेको देखिन्छ ।                

हाल नेपालमा मनसुन भित्रिसकेको छ । काठमाडौँको एकमात्र सर्पदंश उपचार गर्ने टेकु अस्पतालको तथ्याङ्कलाई आधार मान्ने हो भने असार र साउन महिना सर्पदंशका बिरामीले अस्पताल भरिभराउ हुने गर्दछ । हाल पनि अस्पतालको शय्यामा अधिकांश बिरामी सर्पदंशकै छन् । विशेषतः काठमाडौँसँग जोडिएका जिल्लाहरूबाट सर्पदंशका बिरामी यस अस्पतालमा उपचारका लागि बढी आउने गर्दछन्, तर यी क्षेत्रबाट विशेषतः ‘हरेउ’ भनिने ‘ग्रीन पिट भाइपर’ सर्पको टोकाइबाट आउने गर्दछन् । यसको विष तुलनात्मक रूपमा कोब्रा, करेतजस्तो विषालु र घातक हुँदैन । केही दिनको निगरानीपछि अधिकांश बिरामी राम्रो भएर जाने गर्दछन् भने केहीमा केही जटिलता देखिने गरे पनि मृत्युदर भने लगभग शून्य प्रायः नै हुने गर्दछ ।

तराईमा हेर्ने हो भने विशेषतः कोब्रा, करेतजस्ता विषालु सर्पको टोकाइबाट बर्सेनि दर्जनौँको मृत्यु हुने गरेको तथ्याङ्क देखिन्छ । हाल ‘हरेउ’ भनिने ‘ग्रीन पिट भाइपर’को टोकाई हुने गरेकोमा कोब्राजस्तो विषालु सर्पको टोकाइबाट बिरामीको संख्या बढ्दै गएमा काठमाडौँ लगायतका पहाडी क्षेत्रहरूमा पनि तराईको जस्तै तथ्याङ्क नदेखिएला भन्न सकिँदैन । अझ कोब्रा, करेत सर्प बारेमा खासै थाहा नहुनु अनि उपचारको लागि जानुपर्ने अस्पतालको बारेमा पनि जानकारी नहुँदा तराईमा भन्दा मृत्युदर बढी पहाडी क्षेत्रहरूमा बढी नहोला भन्न सकिँदैन ।                      

कालाज्वरो, मलेरिया, जापानिज एनसेफलाईटिस, डेंगु, चिकुनगुनिया जस्ता कुनै समयमा तराईमा मात्र सीमित देखिने किटजन्य रोग काठमाडौँ लगायत पहाडी अनि हिमाली भेगसम्म पुगिसकेको छ । किटजन्य रोगहरूको यो भौगोलिक स्थानान्तरणको आधारमा मैले कोब्रा, करेतजस्ता विषालु सर्पहरूको समस्या पनि पहाड तथा हिमालसम्म देखिन सक्ने प्रक्षेपण वर्षौँ अगाडि गरेको थिएँ । जलवायुको तीव्र परिवर्तन नै किटजन्य रोगहरूको भौगोलिक स्थानान्तरण हुनु एक प्रमुख कारण मान्ने गरिन्छ । तर यो बाहेक तापक्रम तराईमा जस्तो नभएको अवस्थामा पनि यस्ता रोग फैलाउने भेक्टरहरू (जस्तै लामखुट्टे, भुसुना) नयाँ ठाउँमा आफूलाई वातानुकूलन बनाउन सक्षम हुन्छन् भन्ने मान्यता र धारणा मैले राख्दै आइरहेको छु । तसर्थ तराईमा सीमित देखिने गरेका कोब्रा, करेत सर्पहरू पनि काठमाडौँ लगायतका पहाडी इलाकामा आफूलाई वातानुकूलन बनाउन सक्षम हुनेमा दुविधा देखिँदैन ।

तसर्थ आगामी दिनहरूमा कोब्रा, करेतजस्ता विषालु सर्पहरूको चुनौतीको सामना तराईमा मात्र नभई काठमाडौँ लगायतका पहाडी इलाकामा बसोबास गर्नेहरूले पनि गर्नुपर्ने अवस्था देखिन्छ । 

अन्तमा, अबको केही वर्षमा कोब्रा, करेतजस्ता विषालु सर्पको टोकाइको समस्या काठमाडौँ लगायतका अरु पहाडी तथा हिमाली भेगमा समेत देखिने सम्भावना प्रबल छ । हाल यी क्षेत्रमा सर्पदंशबाट हुने मृत्युदर लगभग शून्य प्रायः रहेको भएता पनि कोब्राजस्तो विषालु सर्पको संख्या बढेर तराईको भन्दा पनि बढी हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । किनभने तराईमा सर्पदंश वर्षाैंदेखिको जनस्वास्थ समस्या रहेकाले त्यहाँका बासिन्दालाई धेरथोर सर्प सम्बन्धी स्वास्थ समस्या थाहा भएको छ । धेरै ठाउँमा मनसुन सक्रिय भएसँगै अस्थायी सर्पदंश उपचार केन्द्रहरू पनि सक्रिय हुने गरेको अनि महत्त्वपूर्ण पक्ष भनेको सर्पले टोक्ने बित्तिकै तुरुन्तै अस्पताल वा सर्पदंश उपचार केन्द्रसम्म पुग्ने सडक पनि सहज देखिन्छ (उकालो ओरालो नहुँदा), जुन काठमाडौँ लगायत पहाडी क्षेत्रमा छैन ।

(लेखक पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप