थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
सारांश
- कञ्चनपुरका थारु समुदायमा फुटकी च्याउको स्वाद बिस्तारै हराउँदै गएको छ।
- वन क्षेत्रमा डढेलो, जलवायु परिवर्तन र मानवीय कारणले गर्दा फुटकी पाउन मुस्किल भएको छ।
- फुटकी थारु समुदायको संस्कृतिसँग जोडिएको छ, र यसको संरक्षण आवश्यक छ।
कञ्चनपुर। वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ ।
सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । “वर्सात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै सङ्कलन गर्थे,” स्थानीय हवलदार चौधरीले भने, “अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ ।”
वन क्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख बन्दै गएको उनको भनाइ छ । सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुटकी च्याउ भेटिन छाडेको बताउने गरेका छन् ।
स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारु समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारु समुदायले कपुवा भन्ने गर्दछन् ।
थारु समुदायमा कुन च्याउ खान योग्य छ, भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यही ज्ञानले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको हवलदार बताउँछन् । बजारमा फुटकीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकिलो रु चार सयदेखि रु एक हजार तीन सयसम्म पुगेको बन्धुराम चौधरीले बताए ।
“प्रकृति पूजक थारु समुदायले जङ्गलमा पाइने च्याउ, जडीबुटीलगायतका वस्तुहरूलाई परम्परागत रूपमा भान्सामा स्थान दिएका छन्”, उनले भने, “तर अहिले वन क्षेत्रमा यी स्रोतहरू घट्दो छ ।” थारु समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो । बर्सातको बेला अनुकूल वातावरणमा उम्रिने फुटकीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ ।
थारु समुदायमा ‘जलेवा’ र ‘भोटैल’ गरी दुई प्रकारका फुटकी चिनिन्छन् । जलेवा सेतो रङ्गको हुन्छ भने भोटैल कालो वा खैरो हुन्छ । बुढापाकाका अनुसार मयुरले पनि फुटकीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ ।
“फुटकी च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रुपमा रहेको छ”, थारु अगुवा रेवन चौधरीले भने, “जुन अहिले लोपोन्मुख अवस्थामा छ, यसको संरक्षण आवश्यक छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण