१० बजे १० समाचार : सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तदेखि हवाई टिकटमा नयाँ नियमसम्म
आज २०८२ असार २३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा कुलिङ पिरियडबारे छानबिन गर्न समिति गठन, सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त, चार कम्पनीलाई एकै पटक राखियो कालोसूचीमा, २७ गते आउला त काठमाडौँको बजेट ?, स्पेन भ्रमणबारे के भने ओलीले ?, भिजिट भिसामा विदेश जाने नेपालीलाई हवाई टिकटमा नयाँ नियम लगायत छन् ।
१. कुलिङ पिरियडबारे छानबिन गर्न समिति गठन
‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ । ७ सदस्यीय संसदीय विशेष छानबिन समितिमा रहने सांसदहरूको नामसमेत टुङ्ग्याइएको छ ।
२. सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका तीनै जनालाई राष्ट्रपति पौडेलले न्यायाधीशमा नियुक्त गरेका हुन् ।
३. चार कम्पनीलाई एकै पटक राखियो कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटक चार कम्पनी कालो सूचीमा राखेको छ । ती चारवटै कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेमा थोमस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, डीजी इगल कन्स्ट्रक्सन एन्ड विल्डर्स प्रालि, शिवम् कन्स्ट्रक्सन र ग्रीन लिफ प्रालि छन् ।
४. २७ गते आउला त काठमाडौँको बजेट ?
काठमाडौँ महानगरपालिकाले अझै आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेको छैन । महानगरपालिकाको आन्तरिक कलहका कारण बजेट ल्याउन नसकेको हो । यद्यपि, पुराना विवाद तत्काल बिर्सिएर कार्यपालिका बोलाउने ‘फिक्स्ड’ भएको महानगर स्रोतले जनाएको छ । सोही अनुसार असार २७ गते बजेट ल्याउने तयारी भइरहेको स्रोतको भनाइ छ ।
५. स्पेन भ्रमणबारे के भने ओलीले ?
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । उनले भ्रमणका उपलब्धिबारे चर्चा गरे ।
६. भिजिट भिसामा विदेश जाने नेपालीलाई हवाई टिकटमा नयाँ नियम
विदेश जाने नेपालीलाई हवाई टिकटमा नयाँ नियम लागु गरिएको छ । भिजिट भिसामा वैदेशिक यात्रामा जाने नेपाली नागरिकलाई नियमन गर्ने मापदण्डमा दुईतर्फी टिकट अनिवार्य गरिएको हो ।
७. निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रले मनाए जन्मदिन
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार निर्मल निवासमा आफ्नो जन्मदिन मनाएका छन् । सो अवसरमा उनलाई शुभकामना दिन राप्रपाका नेताहरूसहित सर्वसाधारण निर्मल निवासमा पुगेका थिए ।
८. त्रिवि उपकुलपतिका लागि तीन जना सिफारिस
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।
९. आकस्मिक तथा आईसीयूबाहेकका सेवा बन्द गर्ने चिकित्सकको घोषणा
माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै चिकित्सकहरूले भोलि (मंगलबार) आकस्मिक एवं सघन उपचार (आईसीयू) बाहेकका सेवा बहिष्कार गर्ने भएका छन् । नेपाल चिकित्सक सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सेवाहरू बहिष्कार गर्ने घोषणा गरेको हो ।
१०. परिवारकै बलबुतामा चम्किँदै सुदूरपश्चिमका युवा क्रिकेटर
नेपाली क्रिकेटमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडी उल्लेख्य छन् । हालै सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा पनि सुदूरपश्चिमेली तीन खेलाडीले नेपाली टिममा आफ्नो योगदान गरे ।
तर, यस्ता क्रिकेटरले राज्यबाट खासै प्रोत्साहन र सुविधा पाउन नसकेको गुनासो सरोकारवालाले गरेका छन् । यी खेलाडी आफ्नै परिवारको बलबुताबाट खेल जीवनमा संघर्षरत छन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण