परिवारकै बलबुतामा चम्किँदै क्रिकेटका सुदूरपश्चिमेली ताराहरू
सारांश
- नेपालको यू-१६ क्रिकेट टोलीले एसीसी यू-१६ इस्ट जोन कप २०२५ को उपाधि जित्दा सुदूरपश्चिमका खेलाडीको महत्त्वपूर्ण योगदान रह्यो।
- प्रसिद्ध जैसी, सचिन भट्ट र सुशील रावल लगायत खेलाडीहरूले राम्रो प्रदर्शन गरे, तर सुदूरपश्चिममा क्रिकेट पूर्वाधार र अवसरको अभाव छ।
- अभिभावक र प्रशिक्षकले खेलाडीको प्रतिभा विकासका लागि संघर्ष गरिरहेका छन्, तर राज्यको सहयोग र व्यवस्थित संरचनाको खाँचो छ।
धनगढी । मलेसियाको मैदानमा एसीसी यू–१६ इस्ट जोन कप २०२५ को उपाधि नेपाली टिमले हात पार्दा नेपाली क्रिकेटको आशा बनेर युवा खेलाडीहरू उदाए ।
तीमध्ये सुदूरपश्चिम प्रदेशबाट जिल्लादेखि प्रदेशको टोलीमा परेर उक्त प्रतियोगिताका लागि नेपाली टोलीसम्म पुग्न सफल भएका खेलाडी हुन्–सचिन भट्ट र सुशीलबहादुर रावल ।
त्यसैगरी क्रिकेट यात्रा कैलालीबाट सुरु गरेर अहिले काठमाडौँमा क्रिकेट सिकिरहेका छन् प्रसिद्ध जैसी । सुदूरपश्चिमकै भए पनि राष्ट्रिय टिममा उनी बागमती प्रदेशबाट छनोट भएका हुन् ।
यी तीन अनुहार सुदूरपश्चिमका गाउँघरबाट उठेका, घाम–पानी सहेर ब्याट–बल समातेका अन्य हजारौँ खेलाडीका लागि हौसला बनेका छन् ।
बागमतीबाट खेले पनि प्रसिद्ध जैसीको क्रिकेट यात्रा कैलालीको धुलो–माटोबाटै सुरु भएको हो । एसीसी यू–१६ इस्ट जोन कपमा उनले खेलेका ६ खेलमा एक शतक र एक अर्धशतकसहित २७८ रन बनाएका थिए ।

कैलालीको भजनी नगरपालिका–३, पररिया गाउँमा जन्मिएका प्रसिद्ध जैसीमा सानैदेखि क्रिकेटप्रतिको मोह देखिन्थ्यो । घरको दाउरा, च्यातिएको कपडाको डल्ला र छिमेकको चौरबाट उनले क्रिकेटको ‘क ख’ सिके । बाबु कविराज र आमा विमलाजस्ता मध्यम वर्गीय शिक्षक दम्पतीका लागि क्रिकेटर बन्ने छोराको सपना अप्रत्यासित थियो । यद्यपि, त्यो सपना साकार पार्न उनीहरू तयार भए । यतिमात्र होइन, कविराज र विमलाले छोरालाई काठमाडौँमा राखेर खेल र पढाइ सँगसँगै अघि बढाउन सहज तुल्याइदिए ।
मलेसियामा आयोजित प्रतियोगितामा प्रसिद्धले सिंगापुर, जापान र इन्डोनेसियाविरुद्ध ‘नटआउट’ प्रदर्शन गर्दै उत्कृष्ट योगदान दिए । उनको हरेक रनसँग सिङ्गो देशको आशा जोडिएको थियो । उनका बाबु कविराज भन्छन्, ‘उसका सपना पूरा गर्न हामीले आफ्नो रहर मार्यौँ । अब त्यो हाम्रोमात्र होइन, राष्ट्रको सपना हो ।’
सुदूरपश्चिमबाट कप्तानको जिम्मेवारी पाउँदै राष्ट्रिय टिमसम्म चम्केका अर्का खेलाडी हुन् सचिन भट्ट । दाजुहरूको प्रेरणाले उनी क्रिकेटमा सङ्घर्षरत छन् । सचिनका दाइ नरेन भट्टले एसीसी यू–१६ इस्ट जोन कप २०२३ मा नेपाललाई उपाधि दिलाउन शतक प्रहार गरेका थिए ।
कोरोना महामारीका वेला भएको ‘लकडाउन’मा घरको आँगनमै बलिङ सिकेका सचिनले त्यही अभ्यासलाई प्रतिस्पर्धात्मक बनाउँदै उमेर समूहमा राष्ट्रिय टोलीको कप्तान बन्न सफल भए ।
प्रतियोगितामा सचिनले निरन्तर उत्कृष्ट प्रदर्शन गरे । पहिलो खेलमा सिंगापुरविरुद्ध ६.१ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका उनले जापानविरुद्ध ४ ओभरमा मात्र ४ रन दिए । यस्तै, इन्डोनेसियाविरुद्ध १ ओभरमा २ रन, भुटानविरुद्ध ८ ओभरमा १५ रन दिँदै २ विकेट लिए । उनले सेमिफाइनलमा मलेसियाविरुद्ध ६ ओभरमा १६ रनमा १ विकेट र फाइनलमा सिंगापुरविरुद्ध ४ ओभरमा केवल ७ रन दिए ।
उनको स्थिर प्रदर्शनले टिमलाई एकताबद्ध राख्यो । मैदानमा नेतृत्व गर्ने शैली, संयम र रणनीति हेर्दा उनलाई भविष्यको बलिङ कप्तान मानिएको छ । सचिन अहिले कक्षा १० मा अध्ययनरत छन् ।

एनएसएलमा ट्यालेन्ट हन्टमा पर्दै सुदूरपश्चिम रोयल्समा पुगेका खेलाडी हुन् बझाङका सुशील बहादुर रावल । आठ वर्षको उमेरमै खेल मैदान छिरेका उनी प्रशिक्षकको रोजाइमा परे । बझाङमा छनोट हुँदै प्रशिक्षक सुरेन्द्र सिंहको निगरानीमा अभ्यास सुरु गरेका उनी अभावसँग लड्दै दिल्ली पुगे, जहाँ अभ्यास र मजदुरी गरेर खर्च जुटाए ।
देब्रे हाते मिडियम पेस बलर सुशीलको बलिङ गति १२५ किमी प्रतिघण्टासम्म पुग्छ । प्रशिक्षक सिंह भन्छन्, ‘उसको अनुशासन र मेहनत उसको बलभन्दा धेरै गहिरो छ । ऊ छिटै राष्ट्रिय यू–१९ टिममा देखिने सम्भावना बोकेको खेलाडी हो ।’
मलेसियामा फाइनल खेलमा सिंगापुरविरुद्ध सुशीलले ८ ओभर बलिङ गर्दै ३ विकेट लिए । जापानविरुद्धको खेलमा १ विकेट लिएर टोलीको बलिङ लाइन बलियो बनाए ।
जितमा जति आनन्द हुन्छ, त्यस्तै आनन्द मान्दै क्रिकेटमा लाग्ने अवस्था भने नेपालमा छैन । टिमसम्म पुग्नका लागि कठोर सिकाइ गर्नुपर्छ । अझ सुदूरपश्चिममा क्रिकेटका लागि त्यति धेरै संरचना र सुविधा उपलब्ध छैन । यहाँ क्रिकेटको इतिहास लामो भए पनि अहिलेसम्म सो अनुसार सुविधा र संरचना उपलब्ध छैनन् ।
आयआर्जन गर्न सक्ने आँट भएका अभिभावकले क्रिकेटमा कोपिला बनेर लागिरहेका छोराछोरीलाई फुलाउन, फलाउन र मलजल गर्न आफैँ सङ्घर्ष गरिरहेका छन् । प्रसिद्ध जैसीका आमाबुबा दुवै शिक्षण पेसामा छन् । उनीहरूले क्रिकेटमा प्रसिद्धको भविष्य बनाउन रातदिन मेहनत गर्दै क्रिकेट एकेडेमीमा लगानी गरिरहेका छन् । चार जना सन्तानको खर्च जुटाउन उनीहरूलाई धौ धौ छ । तर पनि उनीहरू प्रसिद्धलाई क्रिकेटमा भरपुर साथ दिइरहेका छन् ।
राष्ट्रका लागि खेल्ने भएपछि अब खेलाडीको प्रशिक्षणदेखि शिक्षामा राष्ट्रले नै जिम्मेवारी लिनुपर्ने उनका बुबा कविराज जैशीको भनाइ छ । सचिनलाई उनका दाजु जयरामले छायाजस्तै बनेर साथ दिइरहेका छन् ।
सुशीलका आमाबुबा भारतको बेंगलुरूमा छन् । उनीहरू त्यहाँ काम गर्छन् । सुशील भने दिल्लीमा काम गर्दै क्रिकेट सिकिरहेका छन् । अभावमा रहँदै राष्ट्रका लागि खेल्ने खेलाडीलाई यति लगानीले खास उपलब्धि हासिल नहुने सचिनका दाजु जयरामको भनाइ छ ।
‘हामी अभिभावक सय प्रतिशत लागिरहेका छौँ, राज्यले पनि आधाजति भए पनि भरथेग गर्नुपर्छ,’ उनले भने ।
कतिपय खेलाडी कलिलै उमेरमा आफैँ काम गर्दै क्रिकेट सिकिरहेका छन् । सुदूरपश्चिमबाट धेरै जना भारतमा काम गर्छन् । भारतमा अभिभावकसँग बस्दै त्यहाँ क्रिकेट सिक्नेहरू पनि धेरै छन् ।
‘यहाँ क्रिकेट एकेडेमी छैन, राम्रो सुविधा छैन । त्यही भएर भारतमा क्रिकेट सिक्ने धेरै छन्,’ अभिभावक छवि साउँदले भने ।
भारतमा क्रिकेट सिकेर नेपाली राष्ट्रिय टिमसम्म पुगेका सुदूरपश्चिमेली खेलाडी धेरै छन् । सिक्ने ठाउँमात्र नभइ प्रशिक्षकको पनि अभाव छ । ‘अनेक समस्याका बाबजुद सुदूरपश्चिमबाट राष्ट्रिय टिमसम्म पुग्ने खेलाडीलाई म सलाम गर्छु,’ उनले भने ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरमा मात्रै क्रिकेट एकेडेमी छन् । ती एकेडेमी पनि अभावमा छन् । प्रदेशका पहाडी जिल्लामा क्रिकेट सिकाउने खालका एकेडेमी अहिलेसम्म छैनन् । प्रदेशभर अहिलेसम्म एउटा पनि गतिलो र व्यवस्थित क्रिकेट मैदान निर्माण भएको छैन ।
घरेलु क्रिकेटमा सुदूरपश्चिम बलियो टोली मानिन्छ । गाउँ, जिल्ला र क्षेत्र हुँदै क्रिकेटको माध्यमबाट देश चिनाएका खेलाडी सुदूरपश्चिममा थुप्रै छन् । प्रदेशमा घरेलु क्रिकेटको संरचना पनि मजबुत छ ।
यहाँ उच्चस्तरीय मैदानको अभावमा खेलाडीले खोलाको बगर, खेतका गह्रा, विद्यालयका प्राङ्गण र मन्दिर परिसरमा अभ्यास गर्नुपर्ने बाध्यता छ । मैदान अभावले खेलाडीको तयारीमा देखिएको समस्या र प्रतियोगिता सञ्चालनमा भइरहेका अप्ठ्यारालाई फाप्लाले समाधान गर्ला कि भन्ने आशा पनि अधुरै छ । गौचरनबाट क्रिकेट मैदान बनेको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान कहिले बन्ला भन्ने चासो व्याप्त छ ।
सुदूरपश्चिमको धनगढी रंगशालामा रहेको क्रिकेट एकेडेमीमा क्रिकेट सिकाउने काम गरिरहेका प्रशिक्षक ज्ञानेन्द्र दडीमान क्षेत्री यो उपाधिलाई सुखद सुरुवात मान्छन् तर उनी यतिले मात्रै नपुग्ने बताउँछन् ।
‘यति जितले मात्र पुग्दैन । क्रिकेटमा निरन्तर सफलता चाहियो भने ग्रासरुटमै लगानी गर्नुपर्छ । सुदूरपश्चिमका धेरै खेलाडीमा सम्भावना भए पनि संरचना, प्रतियोगिता र एकेडेमीको कमीले उनीहरू बिचैमा हराइरहेका छन्,’ उनले भने ।
जिल्ला–जिल्लामा स्तरीय एकेडेमी स्थापना, नियमित प्रतिस्पर्धा र दक्ष प्रशिक्षकबाट गुणस्तरीय तालिम, खेलाडीको स्वास्थ्य र पोषणका लागि विशेष कार्यक्रम भए क्रिकेट सिक्नेहरूले राहत पाउँथे । तर अहिले त्यस्तो सुविधा सुदूरपश्चिममा छैन ।
‘अहिले हामी ट्यालेन्ट देखेर रमाइरहेका छौँ, तर त्यो ट्यालेन्टलाई निरन्तरता दिने वातावरण छैन । टिममा परेपछि मात्रै होइन, टिममा पर्नुअघि नै आवश्यक सुविधा चाहिन्छ,’ क्षेत्रीले भने ।
प्रशिक्षक क्षेत्रीले यू–१६ का खेलाडीलाई सिधै सिनियर टिममा लैजान नहुने बताए । ‘तिनीहरूलाई क्रमशः यू–१९ हुँदै सिनियरमा लानुपर्छ । समय दिनुपर्छ । उनीहरूको यो क्षमतालाई अझै बलियो बनाउन संरक्षण गर्नुपर्छ, टिमबाट खेलाडीहरूलाई हराउन दिनुहुन्न । उनीहरूलाई निखार्दै थप बलियो बनाएर सिनियर टिममा लगे नेपाली क्रिकेटले धेरै प्रगति गर्न सक्छ,’ उनले भने ।
सुदूरपश्चिमले राष्ट्रिय टिमका लागि खेलाडी दिइरहेको छ, तर यहाँ संरचना छैन । अभ्यास गर्ने मैदान छैन, प्रतियोगिता हुने स्थान छैन । एकेडेमीको अवस्था कमजोर छ । प्रतियोगितामा पनि एकदम कम मात्रामा हुँदा राष्ट्रिय टिमसम्म बाटो तय गरेर पसिना बगाइरहेका खेलाडीहरूले स्थान नपाउँदै पलायन हुनुपर्ने अवस्था आएको कतिपयको भनाइ छ ।
अछामका क्रिकेटप्रेमी धनसिंह साउँद भन्छन्, ‘जब टिम छनोट हुन्छ, त्यतिखेर मात्रै चासो देखाइन्छ । त्यसअघि कसरी बालकहरू अभ्यास गरिरहेका छन्, कसले उनीहरूलाई खाना, ब्याट, बल उपलब्ध गराइरहेका छन्, त्यसको कसैले वास्ता गर्दैन ।’
सुदूरपश्चिममा क्रिकेट खेल्ने हुटहुटीमा रहेका थुप्रै किशोर छन् । त्यसैले क्रिकेटका लागि प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । ‘हामीसँग सम्भावना छ, तर त्यसलाई सम्भावनामै राख्ने हो कि अवसर बनाउने ?’ उनले प्रश्न गरे ।
२०२३ मा सुदूरपश्चिमबाट चार खेलाडी नेपाली यू–१६ टिममा थिए– नरेन भट्ट, अशोक धामी, आशिष लुहार र सचिन भट्ट । तर २०२५ मा त्यो संख्या घटेर दुईमा सीमित भयो । प्रसिद्ध जैसीले प्रारम्भिक सिकाइ सुदूरपश्चिममै गरे पनि अन्ततः बागमती प्रदेशबाट टिममा परे ।
यसले देखाउँछ– ट्यालेन्ट सुदूरपश्चिममा जन्मन्छ, तर त्यसको व्यवस्थापन र उत्पादन अन्यत्र हुँदैछ । यो गम्भीर सोचको विषय भएको धेरै भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण