आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इको पावर सोलुसन उद्योगमा ट्रक चालकको हत्या : ट्याक्टर चालक पक्राउ, क्षतिपूर्तिको माग

मङ्गलबार, २४ असार २०८२, १५ : २८
मङ्गलबार, २४ असार २०८२

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको इको पावर सोलुसन उद्योग परिसरमा ट्रक चालक गोर्खा बहादुर दोङको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले २५ वर्षीय ट्याक्टर चालक दिपेश कुमार कामतलाई पक्राउ गरेको छ । 

प्रारम्भिक अनुसन्धानमा कामतले लाठी प्रहार गरी सर्लाही हरीवन नगरपालिका–१० ताइवन निवासी ५४ वर्षीय ट्रक चालक दोङको हत्या गरेको पुष्टि भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

गोर्खा बहादुर दोङ पुराना टायर बोकेर सर्लाहीबाट कटहरीस्थित नवनित अग्रवालद्वारा सञ्चालित इको पावर सोलुसन प्रालिमा असार १८ गते कच्चा पदार्थ पुर्‍याउन आएका थिए। ट्रक ९ ना. ५. ख ९६१६ उद्योगको परिसरभित्र प्रवेश गरेलगत्तै ट्याक्टर चालक कामतसँग विवाद भएको थियो। सोही झगडाका क्रममा कामतले लाठी प्रहार गर्दा दोङको टाउकोमा गम्भीर चोट लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घाइते अवस्थामा रहेका दोङलाई सुरुमा जीवन विकास अस्पताल, त्यसपछि कोशी अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगर लगिएको थियो। तर, असार १९ गते चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतककी बहिनी मधुमाया दोङका अनुसार उपचारमा ढिलाइ र सुरक्षामा खटिएका कर्मचारीको लापरबाहीका कारण दोङको ज्यान गएको हो ।

‘उद्योग परिसरमै झगडा हुँदा पनि सुरक्षा गार्ड र उद्योग सञ्चालक नवनित अग्रवालले कुनै हस्तक्षेप गरेनन्। दाजु घाइते भएपछि तुरुन्त ठुला अस्पताल लैजानुपर्नेमा घुमाउँदै ढिलो पुर्‍याइयो,’ मधुमायाले भनिन्, ‘यसमा उद्योगको चरम लापरबाही देखिन्छ ।’

उनका अनुसार गोर्खाको टाउकोमा गम्भीर चोट लागेको थियो र यथोचित उपचारमा ढिलाइ हुँदा उनको मृत्यु भएको हो। मृतक परिवारले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशंका गर्दै गहन अनुसन्धानको माग गरेका छन्। साथै, पीडित परिवारलाई न्याय दिलाउन दोषीलाई कडा कारबाही र उद्योगबाट उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् ।

गोर्खा बहादुर दोङका दुई छोरा छन्, जसको उमेर क्रमशः १३ र ९ वर्ष छ। श्रीमतीसहितको परिवारको जीविकोपार्जन उनी ट्रक चलाएर गरिरहेका थिए । ‘अब उनीहरूलाई शिक्षा र पालनपोषणमा समस्या पर्न जान्छ,’ मधुमायाले भनिन्, ‘त्यसैले उद्योगले क्षतिपूर्तिको जिम्मा लिनैपर्छ ।’

मोरङ प्रहरीले हत्या आरोपमा पक्राउ परेका ट्याक्टर चालक दिपेश कामतविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । 

घटनाको प्रकृति र उद्योगभित्रै भएको झगडालाई ध्यानमा राख्दै थप संलग्नता र लापरबाहीको पाटोमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप