रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेता रवि लामिछाने तथा काठमाडौँका मेयर बालेन्द्र शाहलाई जनताले परिवर्तनको ऐतिहासिक अवसर दिएको बताएका छन् ।
- लिङ्देनले प्रजातन्त्र स्थापनापछि दलहरूले 'लुटतन्त्र' मच्चाएको आरोप लगाउँदै यस पटकको निर्वाचनमा दलहरूको सङ्गठन र पैसाले काम नगरेको र जनताले नयाँ शक्तिलाई विश्वास गरेको बताए ।
- उनले यो अवसरलाई चुकाएमा देशले क्षति भोग्नुपर्ने चेतावनी दिँदै रास्वपालाई निषेधको राजनीति नगरी सहमतिका आधारमा अगाडि बढ्न सुझाव दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक परिवर्तनको जिम्मा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा रवि लामिछाने र बालेन्द्र शाहलाई दिएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यो अवसर कुनै व्यक्ति वा पार्टीका लागि मात्र नभई समग्र देशका लागि ऐतिहासिक भएको बताए ।
अध्यक्ष लिङ्देनले प्रजातन्त्र स्थापनापछि देशमा राजनीतिक दलहरूले ‘लुटतन्त्र’ मच्चाएको आरोप लगाउँदै त्यसमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । ‘हामी कुनै समय फरक–फरक कित्तामा रहेर पनि एउटै कुरा गरिरहेका थियौँ,’ उनले भने, ‘फागुन २१ गतेको निर्वाचनबाट जनताले परिवर्तनका लागि स्पष्ट जनमत दिएका छन् र त्यो जिम्मा रवि लामिछाने र बालेन्द्र शाहको काँधमा आएको छ।’
उनले यस्तो अवसर पार्टी र व्यक्तिको जीवनमा कहिल्यै नआउने बताउँदै यसलाई चुकाएमा त्यसको क्षति देशले भोग्नुपर्ने चेतावनी दिए । ‘यो अवसर चुकाउनुभयो भने धोका व्यक्ति वा पार्टीलाई मात्र होइन, समग्र देशलाई हुनेछ। मलाई विश्वास छ, तपाईंहरूले यो जिम्मेवारी पूरा गर्नुहुनेछ,’ लिङ्देनले भने ।
निर्वाचनको परिणामले परम्परागत राजनीतिलाई चुनौती दिएको बताए । ‘यस पटकको निर्वाचनमा दलहरूको सङ्गठन र पैसाले काम गरेन। झन्डै दुई तिहाइ बहुमत र सङ्गठन नभएका शक्तिलाई जनताले विश्वास गरेका छन्। यो जनविश्वासलाई कुनै पनि हालतमा निराशामा परिणत नगर्नुस्,’ उनले भने ।
अध्यक्ष लिङ्देनले देशको समस्या केवल नेताहरूमा मात्र नभई वर्तमान संविधान र राज्यको संरचनामा पनि रहेको औँल्याए । उनले केवल अनुहार फेरेर मात्र नपुग्ने भन्दै प्रणाली र संरचनागत सुधारमा जोड दिए ।
राजनीतिक सहकार्यका बारेमा बोल्दै उनले निषेधको राजनीति नगर्न र सहमतिका आधारमा अगाडि बढ्न रास्वपा नेतृत्वलाई सुझाव दिए । ‘निषेधको राजनीति होइन, सहमतिको राजनीतिबाट अगाडि बढ्नुस्,’ लिङ्देनले भने ।
उहाँले राप्रपा सकारात्मक प्रतिपक्षको भूमिकामा रहने बताए । ‘हामी सकारात्मक प्रतिपक्ष हौँ। सरकारले गर्ने राम्रा कामको हामी पूर्ण समर्थन गर्छौं, तर गलत काम भएमा कडा खबरदारी पनि गरिरहनेछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण