रास्वपालाई वर्षमानको सुझाव– थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस्
सारांश
- नेकपा नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थिति बसाउने कदमहरू विधिसम्मत र संविधानको परिधिभित्र राख्न सुझाव दिएका छन् ।
- नेता पुनले रास्वपा र नेकपाबीच सुशासन र समाज रूपान्तरणको एजेन्डामा समानता रहेको बताए ।
- उनले रास्वपाले गणतन्त्रका विषयमा स्पष्ट धारणा ल्याउनुपर्ने र बहुमत प्राप्त गर्दा विनम्रता देखाउनुपर्नेमा जोड दिए ।
चितवन । नेकपाका नेता वर्षमान पुनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर जान नहुनेमा सचेत गराएका हुन् ।
सम्बोधनका क्रममा नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठुलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै आफ्नो गृह जिल्लामा आएका सबैलाई अध्यक्षका तर्फबाट स्वागत र महाधिवेशनको शुभकामना व्यक्त गरे ।
नेता पुनले रास्वपा र नेकपाबिच पृष्ठभूमि र काम गर्ने शैली फरक भए तापनि सुशासन र समाज रूपान्तरणको एजेन्डामा धेरै समानता रहेको उल्लेख गरे । ‘हामी सुशासनको पक्षमा छौँ र विगतमा हामीले सहकार्य पनि गरेका छौँ,’ उनले भने, ‘अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबिच धेरै विषयमा सहकार्य भएको छ, थिति बसाउने यहाँहरूको एजेन्डामा हाम्रो साथ रहनेछ ।’
यद्यपि, नेता पुनले रास्वपालाई एउटा विशेष आग्रह र सुझाव दिँदै भने, ‘थिति बसाउन चालिएका कदमहरू विधिसम्मत हुनुपर्छ र संविधानभन्दा बाहिर नहोस् भन्नेमा यहाँहरूको पर्याप्त ध्यान पुगोस् । उनले यो महाधिवेशनबाट गणतन्त्रका विषयमा रास्वपाले आफ्नो स्पष्ट धारणा ल्याउनुपर्नेमा जोड दिए ।
राजनीतिमा बहुमत प्राप्त गर्दा विनम्रता देखाउनुपर्ने आफ्नो दलको विगतको अनुभव रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको सहभागिताले नेपाली राजनीतिमा सकारात्मक उत्साह भरेको बताए । सिङ्गो देशले रास्वपाको यो महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय हुन्छ भनेर नजिकबाट नियालिरहेको भन्दै उनले सफल महाधिवेशनको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
-
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
-
डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण