आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES
Live Updates

LIVE UPDATES : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES

आइतबार, ०७ असार २०८३, १४ : ४०
Live

चितवन । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ । दिउँसो १ बजे सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले उद्घाटन गर्ने कार्यक्रम छ । आइतबार बिहानैदेखि भरतपुरस्थित महाधिवेशनस्थल उद्योग संघ परिसरमा चहलपहल बढेको छ । 

मधेस प्रदेश र १३ जिल्लामा रास्वपाको अधिवेशन गर्न बाँकी

काठमाडौँ । आइतबारदेखि पहिलो अधिवेशन सुरु गर्न गइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन गरेको जनाएको छ ।

मधेस प्रदेश र १३ जिल्लामा भने अधिवेशन नभएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्र सुरु हुने बेलामा बोल्दै महामन्त्री बुर्लाकोटीले अधिवेशन नभएका १३ जिल्ला र मधेस प्रदेशबाट पनि प्रतिनिधि आउने व्यवस्था गरिएको जानकारी दिए । 

त्यस्तै महामन्त्री बुर्लाकोटीले ६०९ पालिकामा पार्टीको तदर्थ समिति गठन भएर अधिवेशन सम्पन्न भएको जानकारी दिए। बाँकी प्रदेश, जिल्ला र स्थानीय तहमा अधिवेशन गर्ने तयारी भइरहेको उनले बताए । 

पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा नबोलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढकालले पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले लेखेका छन्,‘आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना,पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ, रवि–बालेन महाधिवेशन स्थल पुगेनन्

काठमाडौँ । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । 

चितवनस्थित उद्योग संघ परिसरमा रहेको महाधिवेशन स्थलमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह हालसम्म पुगेका छैनन् ।  तर, महामन्त्री कवीन्द्र बुर्लाकोटी, भुपदेव शाह लगायतका केही नेता भने महाधिवेशनस्थलमै छन् ।

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा : काे- काे पुगे ?

काठमाडौँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु भरतपुर पुग्ने क्रम जारी छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहीबेरमा चितवन पुग्ने जनाइएको छ भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका  छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।

रास्वपा महाधिवेशन उद्घाटन अघिको माहोल, तस्बिरमा हेर्नुहोस्

चितवन । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले कार्यक्रम उद्घाटन गर्दैछन् ।

आइतबार बिहानैदेखि भरतपुरस्थित महाधिवेशनस्थल उद्योग संघ परिसरमा चहलपहल बढेको छ । महाधिवेशन उद्घाटन अघिका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

हेर्नुहोस् तस्बिरहरु :

रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए ।

स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेर कीर्तिमान बनाएको छ ।

आज (आइतबार) दिउँसो १ बजे गेष्टहाउस चौरमा हुुने महाधिवेशन उदघाटन समारोहमा रास्वपाले राष्ट्रिय मान्यता प्राप्त दल तथा देशको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका दलका प्रमुख नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरेको छ । तर पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई बाहेक अन्य कोही पनि रास्वपाको महाधिवेशन उदघाटनसत्रमा सहभागी नहुने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले शीर्ष नेताहरू नपठाउने भएका छन् ।

यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मधेस प्रदेश बाहेकका अन्य क्षेत्रका प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्दै दाबी विरोधका लागि समय सीमा समेत तोकेको छ।

निर्वाचन समितिका अनुसार बागमतीबाट ७४४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । त्यस्तै लुम्बिनीबाट ६३६, सुदूरपश्चिमबाट ५५०, गण्डकीबाट ४७७ कोशीबाट ३९३ र कर्णालीबाट ३४३ महाधिवेशन प्रतिनिधि छानिएका छन् । मधेस प्रदेशका प्रतिनिधिको संख्या भने सार्वजनिक भएका छैनन् ।  

महाधिवेशनमा सबै प्रदेशबाट जम्मा ४ हजार २११ प्रतिनिधि सहभागी हुने बताइएको छ ।

रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्‍यो चेकजाँच (तस्बिरहरु)

चितवन । राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधिवेशनस्थलमा सेना र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

Aarmy check_RSP nepal (1)Aarmy check_RSP nepal (2)Aarmy check_RSP nepal (3)Aarmy check_RSP nepal (4)Aarmy check_RSP nepal (5)Aarmy check_RSP nepal (6) 

गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो महाधिवेशनको अवसरमा शुभकामना दिएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा सङ्गठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।'

थापाले थप भनेका छन्– 'यो महाधिवेशन रास्वपाका लागि विचार, सङ्गठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो। यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जबाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।'

रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरिएको छ ।

आइतबार केन्द्रीय निर्वाचन आयोगले  महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको हो ।

यस्तो छ पुनः प्रकाशित निर्वाचन कार्यतालिका : 

तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागीहरूले गर्मीबाट राहत पाउन मोहीको सहारा लिइरहेका छन् । 

विभिन्न डेरीले स्टल नै राखेर दुग्धजन्य पदार्थ विक्री वितरण गरेकोमा सहभागीहरूलाई मोहीले आकर्षण गरेको हो । 

rsp mohi (1)

रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन स्थलमा हेल्थ डेक्स सञ्चालन गरिएको छ । ‘रास्वपा हेल्थ डेक्स’ नाम दिइएको उक्त डेक्समा अहिलेसम्म २३ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

724390315_3365836286951146_2380471759289150824_n 

स्वास्थ्य परीक्षण गराउन आउनेहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी अरुण केसीले बताए । महाधिवेशनस्थल अत्याधिक गर्मी रहेकाले सचेत रहन र प्रशस्त पानी पिउन समेत उनले आग्रह गरेका छन् । 

रास्वपा महाधिवेशन उद्घाटन सत्र : व्यवस्थापनमा र्‍याट, बाउन्सर र  सुरक्षामा नेपाल प्रहरी (तस्बिरहरु)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आज भव्य रुपमा उद्घाटन हुँदैछ ।

RSP opening_NPL (1)RSP opening_NPL (2)RSP opening_NPL (3)RSP opening_NPL (4)RSP opening_NPL (5)RSP opening_NPL (6)RSP opening_NPL (7)RSP opening_NPL (8)RSP opening_NPL (9)RSP opening_NPL (10)

प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा उपस्थित हुँदैछन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनको भरतपुरमा आजबाट सुरु हुने पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ५ पार्टीका अध्यक्ष सहभागी हुन लागेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत उद्घाटन सत्रमा उपस्थित हुने निश्चित भएको हो । लामिछानेको पार्टीको महाधिवेशन हो भने अन्य ४ पार्टीका अध्यक्ष रास्वपा महाधिवेशनमा शुभकामना मन्तव्य दिन सहभागी हुन लागेका हुन् ।  त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने भएका छन् ।

उनीहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह पनि महाधिवेशनमा सहभागी हुँदैछन् । रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री शाहले महाधिवेशनको घण्टी बजाएर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज उद्घाटन हुँदै छ । चितवन स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा हुने उद्घाटनको सुरक्षा व्यवस्थापन चुस्त पारिएको सुरक्षा निकायहरुले जनाएका छन् ।

नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की महाधिवेशन स्थलको सुरक्षा व्यवस्थापनबारे बुझ्न चितवन पुगेका छन् । समग्र सुरक्षा व्यवस्थापनको मनिटरमा नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्रका एआईजी गणेश ठाडामगर खटिएका छन् ।

एआईजी उमा प्रसाद चतुर्वेदीले महाधिवेशन अवधिभर समग्र सुरक्षा व्यवस्थापनको मनिटर गर्ने प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘जिल्ला सुरक्षा समितिले तयार गरेको योजना मुताबिक प्रहरी परिचालन गरिएको छ ।’

दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

 पार्टी स्थापनादेखिका आरोह-अवरोह र कठिन संघर्षका दिनहरूलाई स्मरण गर्दै उनले कार्यकर्ताको भावना र न्यायको पक्षमा आवाज बुलन्द गर्न आफू केन्द्रीय नेतृत्वमा पुग्नुपर्ने बताएका छन् । 

आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै सांसद बोहराले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वैकल्पिक राजनीतिको यात्रामा सामना गरेका चुनौतीहरूको चर्चा गरेका छन् । सुरुवाती दिनमा कतिपयले रास्वपाको अभियानलाई 'केही महिनाको रहर' भन्दै होच्याए पनि आफूहरू कहिल्यै विचलित नभएको उनको भनाइ छ।

रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता आउन थालेका छन् । 

आइतबार दिउँसो भरतपुरस्थित उद्योग संघको खुला चौरमा रास्वपा महाधिवेशनको उद्घाटन समारोह हुँदै छ । त्यसका लागि ११ बजेदेखि नै नेता कार्यकर्ता आउने क्रम सुरु भएको हो । 

RSP mahadhibesan karyakarta_NPL (1)RSP mahadhibesan karyakarta_NPL (2)RSP mahadhibesan karyakarta_NPL (3)RSP mahadhibesan karyakarta_NPL (4)RSP mahadhibesan karyakarta_NPL (5)RSP mahadhibesan karyakarta_NPL (6)RSP mahadhibesan karyakarta_NPL (7)RSP mahadhibesan karyakarta_NPL (8)RSP mahadhibesan karyakarta_NPL (9)RSP mahadhibesan karyakarta_NPL (10)RSP mahadhibesan karyakarta_NPL (11)RSP mahadhibesan karyakarta_NPL (12)RSP mahadhibesan karyakarta_NPL (13)

रास्वपाको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष

चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन् । 

उनी आइतबार बिहान चितवन पुगेका हुन् । उद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना दिने कार्यक्रम छ । आजै रास्वपाको महाधिवेशन उद्घाटन हुँदैछ । 

रास्वपा महाधिवेशनमा कुन दलबाट को नेता हुँदैछन् सहभागी ?

काठमाडौँ । चितवनको भरतपुरमा आजबाट सुरु हुने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरेको रास्वपाले जनाएको छ । 

तर, रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुने भएका छन् । कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन् । एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली तथा नेकपाबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन् । 

त्यस्तै, जनमतका अध्यक्ष डा.सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन् । यता श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन् । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् ।

छोरी बोकेर चितवन ओर्लिए प्रधानमन्त्री बालेन

चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् । उनी आइतबार बिहान चितवन ओर्लिएका हुन् । उनले आफ्नी छोरीलाई समेत चितवन लगेका छन् । 

बालेन रास्वपाका वरिष्ठ नेता हुन् भने आजै रास्वपाको पहिलो महाधिवेशन उद्घाटन हुँदैछ । 

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा चितवन जाने भएका छन् ।

आइतबार बिहान पहिला उपसभापति पुष्पा भुसाललाई पठाउने तय गरेर सभापति थापाले फेसबुकमा रास्वपालाई पहिलो महाधिवेशनको शुभकामना दिएका थिए । तर, पछि  शुभकामना दिन पनि नगएको भन्दै उनले फेसबुकमा राखेको पोस्टमा र बाहिर चर्को आलोचना भएपछि थापा जान लागेका हुन् । 

कांग्रेसका एक पदाधिकारीले पहिला उपसभापति भुसाललाई पठाउने तय गरिएको तर, पछि धेरै प्रतिक्रिया आएपछि सभापति थापा आफैँ जाने कार्यक्रम बनेको जानकारी दिए । 

रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)

काठमाडौँ । रास्वपाको महाधिवेशनमा गण्डकी प्रदेशमा ४७७ प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा गण्डकीबाट ४७७ जनालाई समेटिएको हो । 

रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)

काठमाडौँ । रास्वपाको महाधिवेशनमा सुदूरपश्चिम प्रदेशमा ५५० प्रतिनिधि सहभागी हुने भएका छन् । 

पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा सुदूरपशिचमबाट ५५० जनालाई समेटिएको हो । 

प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)

काठमाडौँ । रास्वपाको महाधिवेशनमा प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुने भएका छन् ।

पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा प्रदेशबाट १६३ जनालाई समेटिएको हो । 

रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएर मंगलबारसम्म चितवनमा चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया