सानेपामा विद्या भण्डारीको चर्चा, बालुवाटारमा रिपोर्टिङ
सारांश
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक सम्पन्न भयो।
- बैठकमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका विषय र प्रधानमन्त्रीको स्पेन भ्रमणबारे छलफल भयो।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने विषयमा नेताहरूले राखेको धारणाबारे पनि चर्चा भयो।
काठमाडौँ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयबारे चर्चा भएको छ ।
दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखकलाई लिएर बालुवाटार गएका थिए । बालुवाटारमा उनीहरू पुग्नु अगावै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, महासचिव शङ्कर पोखरेल र पार्टी उपमहासचिवसमेत रहेका आफ्ना प्रमुख सल्लाहकार रहेका विष्णु रिमाललाई राखेर वार्ता गर्नका लागि तम्तयार भएर बसेका थिए ।
कांग्रेस उपसभापति खड्काका अनुसार बालुवाटारमा दुई दलका शीर्ष नेताहरूको नियमित बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री ओलीको स्पेन भ्रमण, समसामयिक राजनीतिक परिस्थिति र कांग्रेसको एक सातासम्म चलेको केन्द्रीय समितिको बैठकबारे कुराकानी भएको खड्काले जानकारी दिए ।
‘दुई दलका शीर्ष नेताहरूको नियमित बैठक हो । प्रधानमन्त्रीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउनुभयो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लामो समयसम्म बस्यो । के के विषयमा चर्चा भयो भनेर सोध्नुभयो,’ उपसभापति खड्काले रातोपाटीसँग भने, ‘कांग्रेस बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा फर्किने विषयमा नेताहरूले राखेको धारणाबारे पनि चर्चा भयो ।’
कांग्रेस बैठकमा उठेको विषयबारे मात्रै ओलीसहितका नेताहरूलाई जानकारी गराइएको खड्काले बताए । बाहिर त सभापति देउवाले प्रणालीमाथि कुरा उठ्ने भन्दै यसबारे चासो राखेको विषय आइरहेको छ नि भन्ने रातोपाटीको प्रश्नमा खड्काले भने, ‘एमालेको आन्तरिक राजनीतिका विषयमा हामीले चासो राख्ने कुरा हुँदैन । हाम्रो बैठकमा भएको चर्चाबारे मात्रै जानकारी गराइएको हो ।’
देउवाले त्यसबारे कुनै चासो नराखेको खड्काले बताए । एक सातासम्म चलेर सोमबार (हिजो) सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा फर्कने विषयमा धारणा राखेका थिए ।
बैठकमा निधिले भनेका थिए, ‘रिटायर्ड राष्ट्रपति राजनीतिमा फर्किने कुराले एमालेलाई प्रभाव पर्ला । तर, यो एउटा पार्टीको मात्र विषय होइन, प्रणालीसँग सम्बन्धित विषय हो । हामीले ल्याएको प्रणालीमा विश्वास गर्छौँ । एमाले विभाजन होला भनेर हामीलाई खुसी लाग्ला । टुक्राटुक्रा होला भन्ने लाग्ला । एमालेमा के होला भन्ने एउटा कुरा हो । तर, समग्रमा राजनीतिक प्रणालीको विषय कांग्रेसले नोटिसमा लिने कि नलिने ?’
महामन्त्री शर्माले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउने विषयबारे भनेका थिए, ‘राष्ट्रपति संस्थाको गरिमा उच्च ढङ्गले स्थापित गर्न सकिएको छैन । एक दशकपछि पूर्वराष्ट्रपति राजनीतिमा आएपछि यो विषयमा विधिवत् रूपमा डकुमेन्टमा बोल्नुपर्छ । यस पछाडिका विषयमा गाम्भीर्य राख्नुपर्ने हुन्छ,’ शर्माले भनेका थिए, ‘देशले अभिभावकविहीनताको अनुभूति गर्न सक्छ । पूर्व राष्ट्रपतिलाई अभिभावक मान्नुपर्ने हुन्छ । हामीसँग राष्ट्रपति र प्रधानमन्त्रीका उम्मेदवारको अभाव छैन । तर, समाजमा नायक खोज्ने मनोविज्ञान हुर्किँदा हामीले यस्ता विषयतर्फ पनि ख्याल गर्नुपर्छ ।’
त्यसबाहेक शीर्ष नेताहरूको बैठकमा रसुवामा बाढीले मच्चाएको वितण्डा, नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयलगायत समसामयिक राजनीतिबारे कुराकानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण