बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

रसुवागढीमा बाढीको क्षति : गृहमन्त्रीले संसद्लाई गराए जानकारी

बुधबार, २५ असार २०८२, १४ : ४२
बुधबार, २५ असार २०८२

सारांश

  • गृहमन्त्री रमेश लेखकले रसुवागढीमा आएको बाढीबाट भएको जनधनको क्षतिको जानकारी गराए।
  • बाढीले २ जना प्रहरी, ११ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता पारेको छ।
  • बाढीले मितेरी पुल बगायो, सडक अवरुद्ध भयो र रसुवागढी हाइड्रो लगायतका संरचनामा क्षति पुग्यो।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिबारे संसद् बैठकलाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले यसबारे जनाकारी गराएका हुन् । 

उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे खोला हुँदै भोटेकोसीमा आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताए ।  घटनामा भएको क्षतिको विवरण र खोज उद्धार राहत तथा पुनर्निर्माण गरिने कार्यहरूबारे अवगत गराउँदै लेखकले भने, ‘उक्त घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित  १९ जना बेपत्ता भएको अवस्था छ । हालसम्म धादिङस्थित धादिङ क्षेत्रको त्रिशूली किनारमा नाम वतन नखुलेका २ शव फेला परेको ।’

त्यस्तै उनले रसुवा, धादिङ र नुवाकोटमा तीन वटा शरीरका अङ्ग फेला परेको भन्दै नुवाकोटस्थित विदुरमा त्रिशूलीमा दायाँ खुट्टा नभएको पुरुषको शव फेला परेको तथा वेनिघाट चरौदिमा अन्दाजी ४०, ४५ वर्षका अर्का पुरुषको शव फेला परेको बताए । 

मन्त्री लेखकले भरतपुरमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको भन्दै यो सहित २० पुगेको बताए ।  उनले भौतिक क्षतिको पनि विवरण सुनाए ।  ‘मितेरी पुल बगाएको, आवतजावत पूर्ण रुपमा बन्द भएको, बाढीका कारण स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको छ’, मन्त्री लेखकले भने, ‘सवारी साधनतर्फ सुख्खा बन्दरगाह भन्सार २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको । रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाएको । संयुक्त जाँच चौकी पनि क्षतिग्रस्त भएको । त्यसमा रहेका साधन समेत बगाएको । ३० जनाको हवाई उद्धार गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप