बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चालकलाई ‘दोष’ थुपारेर सुरक्षा हुन्न

बिहीबार, २६ असार २०८२, १२ : ४५
बिहीबार, २६ असार २०८२

चालकको लापरवाही र तीव्र गतिको कारण दुर्घटना भएको भनेर दुर्घटनापछि अवैज्ञानिक तर्क गर्ने गरिएको छ । चालकको हातमा स्टेरिङ हुन्छ भन्दैमा ‘खाल्डो देखेनौ ? ओभर स्पिड चलाउनु हुँदैन भनेर थाहा थिएन ?’ भनेर भन्न पाइयो तर त्यति मात्र दुर्घटनाको कारक देख्नु पूर्ण गलत हो । 

सडक दुर्घटनापछि जति पनि समिति बने, सबैमा मुख्य कारक चालकको लापरवाही भन्ने वाक्य पर्छ । दोष थुपारेको हो कि केही दुर्घटनामा हो पनि ! हो, लापरबाही किन गर्‍यो भनी अनुसन्धान हुनुपर्छ । चालकलाई पनि आफू मर्न त इच्छा हुन्न होला ? किन लापरबाही गर्छ । यो विश्लेषण गरेका छौ ? छैनौँ । 

सुरक्षित सडकमा ठुलो गल्ती हुँदा पनि दुर्घटनाको सम्भावना र क्षति कम हुन्छ । खराब सडक पूर्वाधारमा सानो गल्तीबाट पनि ठुलो क्षति हुन्छ । यो कुरा मनन नगर्ने ?

स्विडेनले एउटा रणनीति सुरु गर्‍यो ‘जिरो भिजन’ भनेर । संसद्बाट पास गरेर उसले के भन्यो भने मानिस भनेको मानिस हो, सवारी भनेको यन्त्र हो । दुवैबाट गल्ती हुन सक्छ । त्यसैले यस्तो खालको पूर्वाधारमा लगानी गरौँ जसले सवारीको र मानिसको गल्तीलाई समेत सुधारेर क्षति कम गर्न सक्छ । आज विश्वको नम्बर एक सडक सुरक्षा भएको देश बनेको छ, स्विडेन । सुरक्षाका लागि सुधार सडक पूर्वाधारबाटै हुनुपर्छ भन्ने यसबाट प्रस्ट हुन्छ । हाम्रो हाई–वेमा दायाँपट्टि चिया पकाउने अनि चिया बेच्न बायाँपट्टि लैजाने चलन छ । त्यस्तो पनि राजमार्ग हुन्छ ? 

राजमार्गमा खसी–बाख्रा हिँडेका हुन्छन् । कुखुरा छोडिदिने चलन छ । राजमार्गमा जनावरले दुर्घटना गराइरहेका छन् । गाईवस्तु चराउन जाने मान्छेले दुर्घटना गराएका हुन्छन् । 

अहिले पनि कतिपय सडक ज्यानमारा छन् । वर्षामा त्यहाँ सवारी हिँडाउन हुँदैन भन्ने थाहा छ । त्यस्ता सडक तत्काल बन्द गर्नुपर्छ तर हामी गर्दैनौँ । दुर्घटना हुन्छ, दोष चालकलाई । 

पुल भत्किन्छ । डाइभर्सन खोलाबाट, बाढी आएको खोलामा गाडी हालिन्छ, गाडी बगाउँछ, जनताको सुरक्षामा त खेलबाड गरिन्छ । त्यो कसको कमजोरी हो त ? त्यो चालकको कमजोरी हो वा गाडी धनीको कमजोरी वा प्रशासनको ? 
चालकको पेसा हो, जागिर हो, साहुले भोलि जागिरबाट हटाउला भन्ने हुन्छ । रोजगारीको ग्यारेन्टी भएमा पनि उसले त्यसरी जोखिम मोलेर अप्ठेरो बाटोमा गाडी हाल्ने अवस्था आउने थिएन । 

हाम्रोमा स्पिड लिमिटका बारेमा राज्यका निकायले अहिलेसम्म यस्तो हो भनेको छैन । रिङरोड ८ लेनको बनाएर स्पिड लिमिट ५० तोकिएको छ । ५० मात्रै चलाउन पाउने भए सडक किन ८ लेनको बनाएको भनेर ६० प्रतिशत सडक प्रयोगकर्ताले भन्ने गरेका छन् । 

अहिले ट्राफिक प्रहरीले चाहिनेभन्दा बढी काम गरिरहेको छ । उसको काम कारबाही गर्ने मात्रै हो तर सचेतनाको काम पनि ट्राफिक प्रहरीले गर्दै आएको छ । सरकारले ट्राफिक सचेतनाका लागि छुट्टै संयन्त्र बनाउन आवश्यक छ । खै चालकलाई जनचेतना ? 

राज्यले लगानी गरी चालकलाई तालिम दिनुपर्छ । 

सीप, ज्ञान र दक्ष चालक बनाउन राज्यले लगानी गर्नुपर्छ । 

रोजगारी सुरक्षित भयो भने चालकले साहुलाई भन्न सक्छ— यो सडक वा मौसम वा सवारी खराब छ, सुधार नहुन्जेल म सवारी चलाउँदिनँ । सकारात्मक सोच र धारणा विकास गर्ने खालका ट्रेनिङ चालकलाई दिनुपर्छ । मानसिक स्वास्थ्य चालक बनाउन लगानी गर्नुपर्छ । चालकको र सहचालकको पेसा मर्यादित बनाउनुपर्छ । चालकलाई सम्मान गरी उत्तरदायी बनाउनुपर्छ । 

(लेखक गजुरेल यातायात विज्ञ हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आशिष गजुरेल
आशिष गजुरेल
लेखकबाट थप