बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पुराना दलहरू अब सुध्रनै नसक्ने गरी पतनको दिशातिर उन्मुख हुँदैछन् : डा.भट्टराई

बिहीबार, २६ असार २०८२, २२ : ०२
बिहीबार, २६ असार २०८२

सारांश

  • डा. बाबुराम भट्टराईले पुराना दलहरू सुध्रिन नसक्ने बताए, उनीहरू पतनको दिशातिर उन्मुख भइरहेका छन्।
  • संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयकलाई लिएर भट्टराईले पुरानो दलहरूको आलोचना गरे।
  • भट्टराईले कार्यकारी प्रमुखको स्वेच्छाचारिता नियन्त्रण गर्ने संयन्त्रको आवश्यकता औंल्याए, र नयाँ शक्तिहरूको उदय आवश्यक रहेको बताए।

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना दलहरू सुध्रिनै नसक्ने गरी पतनको दिशातिर उन्मुख भइरहेको बताएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,'पुराना दलहरूले सत्ता र प्रतिपक्षमा पालैपालो बसेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिँदै आएका भन्दै पुराना दलहरू अब सुध्रनै नसक्ने गरी पतनको दिशातिर उन्मुख हुँदैछन् भन्ने पछिल्लो प्रमाण उनीहरूले चोचोमोचो मिलाएर संसद्‌बाट पारित गरेको संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक हो ।' 

प्रधानन्यायाधीश र निर्वाचन आयोग, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका लोकतन्त्रका महत्त्वपूर्ण खम्बा मानिने संवैधानिक अङ्गहरूको नियुक्ति गर्ने, राज्यका तीन वटै अङ्गका टाउकाहरूले भरिएको, संविधानमै किटान भएको ६ सदस्यीय संवैधानिक परिषद्‌मा प्रम र अर्को एक जना सदस्यले मात्र मनपरी नियुक्ति गर्न पाउने प्रावधान विधेयकमा राख्नु जस्तो हास्यास्पद, निर्लज्ज, स्वेच्छाचारी, अलोकतान्त्रिक, असंवैधानिक हर्कत अरू के हुन सक्छ भन्दै भट्टराईले प्रश्न समेत गरे । 

उनले लेखेका छन्,'कार्यकारी प्रमुखको सम्भावित स्वेच्छारिता नियन्त्रण गर्ने, देशमा निष्पक्ष निर्वाचन गराउने, सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने, समावेशिता र सङ्घीयता कार्यान्वयन गर्ने लगायतका जिम्मेवारी पाएका अङ्ग र व्यक्तिको नियुक्ति एक जनालाई साथ लिएर प्रमले मात्र गर्न पाउने हो भने त्यो कस्तो लोकतन्त्र हुन्छ ? आम जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र संसदीय अनुमोदनको व्यवस्था भएको भए अर्कै कुरा हुन्थ्यो ! त्यो त यिनीहरू सुन्नै चाहन्नन् !'

उनले पुराना दल र तिनका टाउका नसुध्रिने भन्दै आफ्नो चिहान आफै खनिरहेको बताए । नयाँ र वैकल्पिक शक्तिहरूको उदयलाई पुराना दलहरूले अपरिहार्य बनाइरहेको समेत उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप