मौद्रिक नीतिसँगै आर्थिक गतिविधि बढ्ने निजी क्षेत्रको अपेक्षा, कसले के भने ?
सारांश
- नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले निजी क्षेत्र उत्साहित भएको छ, जसले आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
- मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा बढाएको छ, व्यक्तिगत घर कर्जाको सीमामा वृद्धि गरेको छ, र ब्याजदर घटाउन सहयोग पुग्ने संकेत गरेको छ।
- नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले भने मौद्रिक नीतिप्रति असन्तुष्टि जनाएको छ, किनकि यसले अटोमोबाइल व्यवसायीका मागहरूलाई सम्बोधन गरेन।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ वर्षको मौद्रिक नीतिप्रति निजी क्षेत्र उत्साहित देखिएको छ ।
लामो समयदेखि शिथिल भएको आन्तरिक अर्थतन्त्रलाई मौद्रिक नीतिले लयमा ल्याउन सक्ने निजी क्षेत्रको विश्वास छ । घरजग्गा, सेयर बजार जस्ता विषयमा मौद्रिक नीति खुकुलो आउँदा अर्थतन्त्रमा त्यसको सकारात्मक असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ जस्ता संघ संस्थाको बुझाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले समग्रमा आर्थिक गतिविधिलाई बढाउने अपेक्षा व्यक्त गरे । मौद्रिक नीति खुकुलो आएको र यसले धेरै क्षेत्रमा सहजता ल्याउने उनको विश्वास छ ।

अध्यक्ष ढकालले भने, ‘मौद्रिक नीति खुकुलो नै आयो । यसले धेरै कुराहरूमा सहज बनायो, जस्तै सेयर बजार र घरजग्गा कारोबारमा राम्रो भयो ।’ उनले महासंघले माग गरेका सबै कुराहरू पूर्ण रूपमा सम्बोधन नभए पनि अनावश्यक रूपमा कडा गरिएका प्रावधानहरूलाई खुकुलो बनाउनु सकारात्मक भएको बताए ।
मौद्रिक नीतिले सेयर धितो कर्जाको सीमा बढाएको, व्यक्तिगत घर कर्जाको सीमामा वृद्धि गरेको र बैंकहरुको ब्याजदर घटाउन सहयोग पुग्ने संकेत गरेको ढकालको भनाइ छ ।
‘यो हिसाबले अर्थतन्त्रको गतिविधि बढ्छ, पोजेटिभ हिसाबकै म्यासेज दिएका छ,’ उनले भने ।
ब्याजदर घट्ने संकेत देखिएको र समग्रमा आर्थिक गतिविधि चलायमान हुनेमा आफू आशावादी रहेको ढकालले बताए । मौद्रिक नीतिको कार्यान्वयनले शिथिल रहेको अर्थतन्त्रलाई गति दिने उनको विश्वास छ ।
पाण्डे नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नयाँ मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई गति दिन खोजेको प्रतिक्रिया दिए ।

उनले नीतिले पुँजी बजार र घरजग्गा क्षेत्रलाई प्रवर्द्धन गर्दै समग्रमा अर्थतन्त्रलाई सकारात्मक गति (इम्पेटस) दिने खालको देखिएको बताए । अध्यक्ष पाण्डेले परिसंघले माग गर्दै आएको चालु पुँजी कर्जा मार्गदर्शनको विषयमा पनि मौद्रिक नीतिले सम्बोधनको प्रयास गरेको बताए ।
उनले भने, ‘हामीले यसलाई स्थगन गर्न माग गरेका थियौँ, अहिले उद्योगअनुसार समीक्षा गर्ने भनिएको छ, जुन सकारात्मक छ ।’ घरजग्गा कर्जामा पहिलो घर खरिदकर्ताका लागि ८० प्रतिशतसम्मको कर्जा प्रवाह सीमा (लोन टु भ्यालु रेसियो) र अन्यको हकमा ७० प्रतिशत कायम गरिनुले बजारलाई लचिलो बनाउन खोजेको देखिने उनले बताए ।
उनका अनुसार मौद्रिक नीतिले वित्तीय नीतिको लक्ष्यलाई सहयोग गर्ने प्रयास गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिलाई ‘सजगतापूर्वक ल्याइएको लचिलो नीति’ को ब्याख्या गरे । यसले शिथिल आर्थिक गतिविधि विस्तारमा सहजता प्रदान गर्ने उनको विश्वास छ ।

उद्यमी व्यवसायीको मागअनुसार कर्जाको पुनर्तालिकीकरण, चालु पुँजी कर्जा निर्देशिकाको परिमार्जन र घरजग्गा कारोबारलाई दिइएको सुविधा सकारात्मक रहेको अग्रवालले बताए ।
१० प्रतिशत रकम तिरेर कर्जा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्थाले पीडित व्यवसायीलाई ठुलो राहत दिने उनको भनाइ छ । त्यस्तै, सेयर धितो कर्जाको सीमा २५ करोड पुर्याइनु र घर किन्नका लागि कर्जा सीमा ३ करोड गरिनुले सेयर बजार र घरजग्गा दुवै क्षेत्रलाई गति दिने अध्यक्ष अग्रवालको भनाइ छ ।
बैंकले मूल्याङ्कन गरेको ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्थाले कारोबारलाई सहज बनाउने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी आएको बताइन् । उनले बजारमा नगद प्रवाह बढ्ने तथा आर्थिक गतिविधिलाई चलायमान बनाउँदै अर्थतन्त्र सुधारमा मदत पुग्ने गरी आएको उल्लेख गरिन् । उनले भनिन्, ‘आगामी आर्थिक वर्षको लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउँछ । निजी क्षेत्र मैत्री छ । घरजग्गा कारोबार र सेयर बजारको लागि राम्रो सुधार हुने देखिएको छ ।’

पूर्वअध्यक्ष राणाले निक्षेप दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गर्दा निक्षेपकर्तालाई निरुत्साहित हुने देखिएको बताइन् । तर राष्ट्र बैंकको यो निर्णयले बजारमा भएको तरलता व्यवस्थापनमा भने सहजता ल्याउने उनको भनाइ छ । उनले घर कर्जाको सीमा बढ्दा कारोबारमा वृद्धि हुने अवस्था रहेको बताइन् । घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम सीमा ३ करोड रुपैयाँ निर्धारणले व्यवसायीहरूलाई राहत मिलेको उनको भनाइ छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघका निवर्तमान अध्यक्ष भेषराज लोहनीले राष्ट्र बैंकले गरेका तीन व्यवस्थाले घरजग्गा कारोबारमा सुधार हुने अपेक्षा गरे । उनले भने, ‘समग्रमा मौद्रिक नीति राम्रो छ । यसले तीन वटा कुरालाई सहजीकरण गरेको छ । एउटा घरकर्जाको सीमा ३ करोड पुर्याउने, लोन टु भ्यालु अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइने भनिएको छ। यसलाई सकारात्मक लिएका छौँ ।’
यद्यपि उनले सरकारका अन्य नीतिमा सहजीकरण गर्नुपर्ने बताए । अहिले पनि दुई सय बढी पालिकाले जग्गाको वर्गीकरण नगरेको र भू-उपयोग नियमावली संशोधनको म्याद असार मसान्तमा सकिने हुँदा समस्या बाँकी नै रहेको उनको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नयाँ मौद्रिक नीति सकारात्मक रहेको र यसले वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउने गरी मौद्रिक नीति आएको बताए ।
उनले संघले दिएका धेरै सुझावहरू समेटिएर आएकाले नीतिलाई सकारात्मक रूपमा लिएको बताए । अध्यक्ष कोइरालाले मौद्रिक नीतिले घरजग्गा व्यवसाय, सेयर बजार, साना ऋणीदेखि खराब कर्जा तथा तरलता व्यवस्थापनसम्मका विषयलाई सम्बोधन गर्न खोजेको देखिने बताए ।
‘धेरै कुरा त अब एकीकृत निर्देशन आउँदा नै विस्तृतमा थाहा होला,’ कोइरालाले भने, ‘तर समग्रमा भन्दा अहिलेको आर्थिक अवस्था चलायमान हुने किसिमको मौद्रिक नीति आएको छ ।’
नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले नेपाल राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिलाई सेयर बजारका लागि ‘एकदम सकारात्मक’ र ‘विन–विन सिचुएसन’ को संज्ञा दिए । उनले मौद्रिक नीतिका व्यवस्थाहरूले बजारमा तरलता प्रवाह बढाउने, बैंकहरूको मुनाफामा सुधार ल्याउने र समग्रमा लगानीकर्ताको आत्मविश्वास बढाउने बताए ।

रौनियारले भने, ‘मौद्रिक नीति एकदमै राम्रो र सकारात्मक आएको छ । यसले बजारलाई सकारात्मक नै लैजान्छ र आइतबारदेखि नै यसको असर देखिन सक्छ ।’
रौनियारका अनुसार, मौद्रिक नीतिका धेरै पक्षहरूले पुँजी बजारलाई प्रत्यक्ष लाभ पुर्याउने छ । सेयर धितो कर्जाको सीमा वृद्धिः व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइनुलाई उनले सबैभन्दा ठुलो कदम मानेका छन् । ‘प्रतिव्यक्ति १० करोडले कर्जा सीमा बढ्नु भनेको बजारमा अर्बौँ रुपैयाँ थपिनु हो, यसले पुँजी बजारलाई ठुलो टेवा पुग्छ,’ उनले भने ।
राष्ट्र बैंकले निक्षेपको ब्याजदर घटाउने नीति लिएकाले बैंकमा थुप्रिएको पैसा बजारमा आउने वातावरण बनेको उनको भनाइ छ ।
घर कर्जाको सीमा २ करोडबाट ३ करोड पुर्याइनु र त्यसको मार्जिन पनि ८० प्रतिशत गरिनुले रियल स्टेट क्षेत्रलाई चलायमान बनाउने उनले बताए । बैंकहरूलाई आवश्यक परेमा राइट सेयर जारी गर्ने बाटो खोल्दिनुले उनीहरूको पुँजीको आधार बलियो हुने उनको भनाइ छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्यमीहरूको लागि ल्याएका केही व्यवस्था सकारात्मक रहेको बताए । उनले मौद्रिक नीतिले लघु, घरेलु तथा साना मझौला उद्योगलाई ३ करोडसम्मको न्यून ब्याजदरमा कर्जाको व्यवस्था ल्याउन सकारात्मक रहेको बताए ।

उनले लघु,घरेलु तथा साना मझौला उद्योगलाई ३ करोड कर्जा उपलब्ध गराउने माग अहिले आएर सम्बोधन भएका स्वागत योग्य रहेको बताए ।
- नाडाको फरक मत
नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले भने राष्ट्र बैंकले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिप्रति आपत्ति जनाएको छ ।
अटो व्यवसायीहरूको माग र गुनासोलाई सम्बोधन नगरी नीति ल्याएको भन्दै नाडाले आपत्ति प्रकट गरेको हो । शुक्रबार नै एक विज्ञप्ति जारी गर्दै नाडाले भनेको छ ‘मौद्रिक नीति हामी अटोमोवाइल व्यवसायीहरूको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको हामीले महसुस गरेका छौँ । सो मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रले दिएको सुझावहरूलाई गम्भीरतापूर्वक नलिएको मात्र होइन कहीँ कतै सम्बोधन समेत गरिएको छैन ।’

अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विद्यमान नीतिहरूलाई अहिले पनि यथावतै राखिएको जनाएको छ । नीतिमा सवारी ऋण, आयात प्रक्रिया, र औद्योगिक मान्यतामा कुनै उल्लेखनीय सुधार नगरिएको नाडाले जनाएको छ ।
सवारी ऋणको सन्दर्भमा, विशेष गरी इन्धनबाट चल्ने तथा लग्जरी सवारी साधनहरूको प्रावधानमा अझै पनि कडाइ गरिएको नाडाको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण