शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

एन्फामा फिफाको ‘कन्ट्रोल फन्डिङ सिस्टम’ हट्यो

फुटबल खेलमाथि भइरहेको प्रहारलाई कामबाटै जवाफ दियौँ : एन्फा
शनिबार, २८ असार २०८२, १९ : ००
शनिबार, २८ असार २०८२

सारांश

  • एन्फाले अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा वित्तीय पारदर्शिता कायम गरेको घोषणा गर्‍यो।
  • एन्फाले फिफाको कन्ट्रोल फन्डिङ सिस्टम हटाउन सफल भएको जनाएको छ।
  • यो सिस्टम २०२१ मार्च १५ देखि लागू भएको थियो।

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा निर्वाचित वर्तमान कार्यसमितिको कार्यकालमा वित्तीय पारदर्शिता र सुशासन कायम गर्दै विश्व फुटबल महासंघ (फिफा) बाट सन् २०२१ मार्च १५ देखि लागू भएको कन्ट्रोल फन्डिङ सिस्टम हटाउन सफल भएको घोषणा गरेको छ। 

फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जिएइसिसी) को १० जुलाई २०२५ को निर्णय अनुसार फिफाबाट कायम रहेको कन्ट्रोल फन्डिङ हटाइएको जानकारी फिफाको पत्राचारबाट प्राप्त भएको एन्फाले जनाएको हो।

एन्फाले समग्र विकास, आर्थिक पारदर्शिता, सुशासन र फुटबल खेल प्रवर्द्धनमा उत्कृष्ट योगदान गरेबापत सन् २०२४ अक्टोबर २९ मा एएफसी (एसियन फुटबल कन्फेडेरेसन) बाट ‘एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४’ बाट पनि पुरस्कृत भएको स्मरण गराएको छ। यी दुई महत्त्वपूर्ण निर्णयहरूले एन्फा पूर्ण रूपमा आर्थिक सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त सङ्घमा रूपान्तरण भएको पुष्टि गर्ने र अध्यक्ष नेतृत्वको कार्यसमितिले गरेको प्रतिबद्धता पूरा भएको जनाउने महासचिव किरण राईले विज्ञप्तिमार्फत जनाएका छन्।

फिफाद्वारा नियन्त्रित फन्डिङको अवस्था, विभिन्न चुनौतीहरू र भद्रगोल अवस्थामा रहेको सङ्घलाई सही नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित सन् २०२२ जुन २० मा निर्वाचित भएपश्चात् अध्यक्ष नेम्वाङसहित कार्यसमिति पदाधिकारी तथा सदस्यहरू एवं सचिवालयको निरन्तर प्रयासका साथै सम्पूर्ण सङ्घमा आबद्ध सदस्य संस्थाहरूको सहयोग र समन्वयको सामूहिक तथा सङ्गठित प्रयासबाट यो सकारात्मक परिणाम हासिल भएको एन्फाले बताएको छ।

वर्तमान नेतृत्व र कार्यसमिति निर्वाचित भएको दिनबाटै सुरु भएको फुटबल खेलको विकासमा अवरोध, विभिन्न प्रकारका षड्यन्त्र, असहयोग, पूर्वाग्रही आरोपहरू हुँदै अविश्वासको प्रस्ताव लगायतका सबै प्रकारका चुनौतीहरूलाई सामना गरी खराब प्रवृत्तिहरूलाई पराजित गर्दै यो सफलतासम्म आइपुग्नुमा सङ्घका पदाधिकारी तथा सदस्यहरू, जिल्ला फुटबल सङ्घहरू, ए–बी–सी डिभिजनका क्लबहरू, प्रदेश फुटबल सङ्घहरू, खेलाडी, प्रशिक्षक, रेफ्री र महिला फुटबल सङ्घहरूले महत्त्वपूर्ण निर्णायक भूमिका खेलेको एन्फाले स्मरण गरेको छ। साथै अध्यक्ष लगायत नेतृत्वलाई विश्वास, समर्थन र साथका लागि सङ्घमा आबद्ध सबै सदस्य संस्थाहरूलाई एन्फाले धन्यवाद ज्ञापन गरेको छ।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वको कार्यसमिति र सचिवालयले इमानदारीपूर्वक कार्य सम्पन्न गरिरहँदा विभिन्न प्रकारका गलत प्रवृत्तिहरू, नेपाली फुटबल खेलको विकास, प्रगति र सफलता नचाहने पूर्वाग्रही र स्वार्थी समूहहरूबाट फुटबल खेल विकासका कामहरूमा गरिएका विभिन्न प्रकारका अवरोधहरू, दैनिक कुप्रचार, भ्रम र नेपाली फुटबल खेलमाथि भइरहेको प्रहारलाई कामबाटै जवाफ दिइएको एन्फाको दाबी छ।

विज्ञप्तिमा भनिएको छ, ‘संघ मुख्यतया फिफा र एएफसीको आर्थिक अनुदानबाट सञ्चालन हुने गर्दछ। तसर्थ, दुवै अन्तर्राष्ट्रिय आबद्धता प्राप्त संस्थाहरूबाट भएको प्रत्यक्ष अनुगमन, लेखा परीक्षण र चेकजाँच पश्चात् भएको उल्लेखित निर्णयहरूले अखिल नेपाल फुटबल सङ्घमा आर्थिक पारदर्शिता र सुशासन कायम रहेको प्रमाणित भएको छ।’

यी निर्णयहरूबाट खराब मनसायले दैनिक रूपमा कुप्रचार गर्ने, युवा खेलाडीहरूमा निराशा छर्ने, नेपाली फुटबल शुभचिन्तक, समर्थकहरूमा भ्रम सिर्जना गरी फुटबल विकासमा प्रहार गर्ने प्रवृत्ति र स्वार्थी समूहहरू पराजित भएका छन् भने सच्चा नेपाली फुटबल समर्थकहरू, फुटबल प्रेमीहरूलाई खुसी तुल्याएको विश्वास एन्फाले लिएको छ।

हालै उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप वुमेन्स क्वालिफायर्स प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टिम र बङ्गलादेशमा सञ्चालन भइरहेको साफ यू-२० वुमेन्स च्याम्पियनसिप २०२५ मा नेपाली राष्ट्रिय महिला यू- २० फुटबल टिमको उत्कृष्ट प्रदर्शनले सन् २०३१ मा सञ्चालन हुने विश्व कप महिला फुटबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने संघको दृढ सङ्कल्प पूरा हुने कुरामा विश्वास जगाएको एन्फाको भनाई छ। पुरुष फुटबलले पनि सिंगापुर, अफगानिस्तान जस्ता राष्ट्रिय फुटबल टिमलाई पराजित गर्दै इतिहास रच्न सफल हुँदै भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास लिएको एन्फाले उल्लेख गरेको छ।

त्यसैगरी, संघबाट प्रस्तावित फुटबल खेलको आफ्नै रङ्गशालाको निर्माण गर्न जग्गा प्राप्तिको सम्बन्धमा प्रधानमन्त्रीबाट सार्वजनिक कार्यक्रममा सरकारको तर्फबाट जग्गा उपलब्ध गराई रङ्गशाला निर्माण कार्य अगाडि बढाउने घोषणाले थप ऐतिहासिक कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री तथा नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप