शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कविता

जिन्दगीको गोलो घाम

सोमबार, ३० असार २०८२, १० : ५८
सोमबार, ३० असार २०८२

जब आँखा रसाउँथे पीडाले
सुनसान थियो आकाश पनि
न कोही मलम बन्न आयो
न स्पर्श बन्न आयो पखाल्न मेरो आँसु ।
तर
जसै भाग्यले मुस्कान ल्यायो ओठमा
नचिनेका अनुहारले पनि ‘नाता’को पर्खाल ठड्याउन थाले ।

म जान्दछु
पैसा नहुँदाको शून्यता कति गहिरो हुन्छ
र त्यो शून्यतामा
कसरी आफन्तका स्वर पनि पराईझैँ लाग्छन् ।
गरेको सब नाता
एकै छिनमा अस्वीकार हुन्छ
जब तिमी गरिब रहन्छौ ।

मान्छे...
शक्तिको पुजारी हो
उक्तिले होइन लाभले चल्ने जात हो ।
जब तिमी चुली चढ्छौ
भीड लाग्छ सँगै फोटो खिच्न
तर जब तिमी फिँजन्छौ
तिम्रै छाया पनि पछाडि फर्किन मान्दैन ।

मैले देखेको छु—
मान्छे त्यो आगो छ
जो अर्काको तापमा रमाउँछ
तर बाल्न चाहँदैन आफ्नै मुटुको मसाल ।
मान्छे त्यो पानी हो
जो बहन्छ जहिले उकालोबाट तलतिर
जहाँ सहज हो, त्यतै ढल्किन्छ ।

कहिलेकाहीँ लाग्छ
नाताभन्दा बलिया त पर्खालहरू रहेछन्—
किनकि ती त भत्किए पनि
पुनः उठाउन सकिन्छ
तर एकपटक चुँडिएको विश्वासको धागो
फेरि गाँस्न सकिन्न ।

जिन्दगी
यो अद्भुत यात्रा हो
जहाँ जन्ममा रित्तै आउँछौँ
र मर्न पनि रित्तै जान्छौँ
तर त्यही बिचको दौडधुपमा
मानिसले भूल गर्छ
कि उसले धर्ती टेकिरहेछ
उडेर हैन ।

तिमी महलको छतबाट गिज्याउन सक्छौ मलाई
तर आँधी आयो भने
त्यही छत तिम्रो ढाल बन्न सक्दैन।

पृथ्वी गोलो छ
आज तिमी माथि छौ
भोलि ममाथि हुनेछु ।

यो सत्ताको झुला हो
जहाँ कोही स्थिर रहँदैन ।

त्यसैले
तिमी जो जीवनको पीडाबाट भाग्न खोज्छौ,
सुन
जीवन बेकार होइन
त्यो त आँसु र हाँसोको मिश्रित अमृत हो ।
जसले पीडा पचाउँछ,
उसले नै सफलताको स्वाद चाख्छ ।

अँध्यारो कहिल्यै अन्तिम हुँदैन
उज्यालो आउँछ
एक दिन
अवश्य आउँछ ।

त्यसैले बाँच
स्वाभिमानका साथ
सत्यका साथ
र जीवनप्रति विश्वासका साथ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आरपी गैरे
आरपी गैरे
लेखकबाट थप