बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
अस्ट्रेलियाले-वेस्ट इन्डिज टेस्ट सिरिज

वेस्ट इन्डिजलाई २७ रनमा अलआउट गर्दै अस्ट्रेलियाको क्लिन स्विप

मङ्गलबार, ३१ असार २०८२, ०४ : ४०
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १७६ रनले हराएर टेस्ट सिरिज ३-० ले जित्यो।
  • मिशेल स्टार्कले १५ बलमा ५ विकेट लिँदै सबैभन्दा छिटो ५ विकेट लिने कीर्तिमान बनाए।
  • वेस्ट इन्डिज दोस्रो इनिङमा २७ रनमा अलआउट भयो, जुन टेस्ट इतिहासकै दोस्रो कम स्कोर हो।

जमैका । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई टेस्ट क्रिकेट इतिहासकै दोस्रो सबैभन्दा कम स्कोरमा अलआउट गर्दै तेस्रो टेस्टमा १७६ रनको शानदार जित हासिल गरेको छ। यो जितसँगै अस्ट्रेलियाले शृङ्खला ३-० ले क्लिन स्विप गरेको छ। 

जमैकामा भएको डे-नाइट टेस्टको तेस्रो दिन वेस्ट इन्डिजले कुल २७ रनमात्र बनाउन सक्यो ।  वेस्ट इन्डिजको यो प्रदर्शन सन् १९५५ यताकै सबैभन्दा खराब हो। यो सन् १९५५ मा इङ्ल्यान्डविरुद्ध न्युजिल्यान्डले बनाएको २६ रनभन्दा मात्र एक रन बढी हो। वेस्ट इन्डिजको यसअघिको सबैभन्दा कम स्कोर सन् २००४ मा इङ्ल्यान्डविरुद्ध बनाएको ४७ रन थियो।

आफ्नो १००औँ टेस्ट खेलिरहेका अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गर्दै ९ रन खर्चेर ६ विकेट लिए। यस क्रममा उनले १५ बलभित्र ५ विकेट लिँदै टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ५ विकेट लिने कीर्तिमान बनाए। यस सफलतासँगै स्टार्कले टेस्ट क्रिकेटमा ४०० विकेटको आँकडा पनि पार गरेका छन्।

अर्का फास्ट बलर स्कट बोल्यान्डले पनि ह्याट्रिक लिँदै पाहुना टोलीलाई शृङ्खला ३-० ले जिताउन महत्त्वपूर्ण भूमिका खेले।

यसअघि, गुलाबी बलले खेलिएको डे-नाइट टेस्टको तेस्रो दिन अस्ट्रेलियाले ९९-६ को स्थितिबाट ब्याटिङ सुरु गरेको थियो तर मात्र २२ रन जोड्न सक्यो। वेस्ट इन्डिजका अल्जारी जोसेफले २७ रन खर्चेर ५ विकेट लिएका थिए।

यी दुई टोलीबिच अब पाँच खेलको टी-२० शृङ्खला हुनेछ । यो जुलाई २१ मा जमैकाबाट सुरु हुनेछ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप