शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विकास निर्माण

नेपालकै पहिलो चार लेनको ‘मादी पुल’मा ७१ प्रतिशत भौतिक प्रगति, कहिले सकिएला काम ?

मङ्गलबार, ३१ असार २०८२, १६ : ००
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • मुग्लिन-पोखरा सडकखण्डमा निर्माणाधीन मादी नदीको पुल नेपालकै पहिलो चार लेनको मोटरेबल पुल हो।
  • पुल निर्माणको लागत १ अर्ब २१ करोड रहेको छ, र निर्माण कम्पनीले ५ वर्ष मर्मत सम्भार गर्नेछ।
  • २०७९ भदौमा सुरु भएको पुल निर्माण २०८३ माघसम्ममा सम्पन्न हुने आयोजना प्रमुखले बताएका छन्।

काठमाडौँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडकमा पर्ने मादी नदीमा ३१८ मिटर लम्बाइको मोटरेबल पुल निर्माण हुँदैछ । तनहुँको सदरमुकाम दमौली नजिकै व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा पृथ्वी राजमार्गकै सबैभन्दा लामो ‘आर्क डिजाइन’को चार लेनको पुल निर्माण भइरहेको छ । 

यो नेपालकै पहिलो चार लेनको मोटरेबल पुल रहेको मुग्लिन–पोखरा सडक आयोजना पूर्वीखण्डले जनाएको छ  । आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार हालसम्म नेपालमा अरु चार लेनको मोटरेबल पुल निर्माण भएको छैन ।

मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत पूर्वीखण्ड अर्थात् आँबुखैरेनी जामुने सडक खण्डमा पर्ने यो पुलको कुल लागत १ अर्ब २१ करोड छ । डिजाइन एण्ड बिल्ड ठेक्का अनुसार निर्माण सम्झौता भएको यो पुल नेपाली निर्माण कम्पनीले नै डिजाइन गरेको हो ।

एएनके निर्माण सेवा र चाइनिज निर्माण कम्पनीको संयुक्त रूपमा ठेक्का लिएर निर्माण भइरहेको यो पुलको करिब ५ वर्ष मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने छ ।

मादी नदीमा निर्माणाधीन पुलमा ६ वटा स्पान हुनेछन् । ६ मध्ये ४ वटा स्पानको काम सकिएको र बाँकी काम मनसुनपछि पूरा गरिने आयोजना प्रमुख भण्डारी बताउँछन् ।

‘अहिले मनसुनका क्रममा बाढी आएर निर्माणलाई प्रभावित तुल्याइरहेको छ । बाँकी स्पान मनसुन सकिएपछि निर्माण सुरु हुन्छ,’ उनले भने, ‘अहिले बनाउँदा पानीको बहावले क्षति पुग्ने र निर्माणमा अवरोध हुन्छ ।’

२०७९ भदौ २२ गते निर्माण सम्झौता भएको यो पुल २०८२ भदौ २० अन्तिम म्याद छ । हालसम्म ७१ प्रतिशत निर्माण सम्पन्न भएको छ । तर यो म्यादमा निर्माण सम्पन्न हुन नसक्ने आयोजनाले जनाएको छ । 

‘सरकारले यसको डिजाइनको स्वीकृति १३ महिनापछि मात्रै दिइएको थियो, जसका कारण निर्माणमा ढिलाइ भएको हो । त्यत्रो अवधिसम्म रोकिएर पनि ७१ प्रतिशत भौतिक प्रगति भनेको राम्रो हो,’ आयोजना प्रमुख भण्डारीले भने, ‘यो निर्माण व्यवसायीको प्रशंसायोग्य काम भएको छ । डिजाइन स्वीकृत हुन समय लाग्यो ।’

भण्डारीका अनुसार पुल आसपास पर्ने घर र जग्गाको मुआब्जा वितरणमा समस्या थियो । भर्खर समस्या समाधान भएको र अघिल्लो हप्तामात्रै मुआब्जा वितरण सुरु भएको उनले बताए । उनले भने, ‘वर्षा सकिनेबित्तिकै पुलको एप्रोच सडक निर्माण सुरु गर्छौं ।’

madi pul (9)

यो पुल २०८३ को माघसम्ममा निर्माण सम्पन्न हुने आयोजना प्रमुख भण्डारीले बताए । हाल सञ्चालनमा रहेको मादी पुल दुई लेनको छ । यसको लम्बाइ ३७० मिटर छ । 

कुल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु गरिएको थियो । एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा मुग्लिन–पोखरा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेन सडकलाई चार लेन र ६ लेनमा विस्तार भइरहेको छ । 

पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा विभाजन गरी विस्तार सुरु गरिएको सो सडकको पूर्वी खण्ड (मुग्लिन–जामुने) को लम्बाइ ४१÷४५ किलोमिटर र पश्चिम खण्ड (जामुने–पोखरा) को लम्बाइ ३९÷५५ किलोमिटर छ । यसमध्ये हालसम्म पूर्वी खण्डको ८५ प्रतिशत र पश्चिम खण्डमा ५५ प्रतिशत काम सम्पन्न भएको छ । 

यस्तै पूर्वी खण्डको यही असार २९ गते म्याद सकिएको छ भने पश्चिम खण्डको आगामी पुसमा म्याद सकिँदैछ । पूर्वी खण्डको कालोपत्रको काम सम्पन्न भएको छ । अब फूटपाथ निर्माण लगायतको काम बाँकी छ । पश्चिम खण्डको २०८३ असार मसान्तसम्म म्याद थप गर्न आवश्यक भएको आयोजनाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप