शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्रिविहीन मन्त्रालय

मन्त्री फेरबदलको हल्ला हुँदा पनि सामान्य प्रशासन ‘सामान्य’

मङ्गलबार, ३१ असार २०८२, १६ : ४०
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रीविहीन भएको छ।
  • मन्त्रीको राजीनामापछि मन्त्रालयका कर्मचारीहरूले खासै फरक नपरेको प्रतिक्रिया दिएका छन्, दैनिक कामकाज यथावत चलिरहेको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भगवती न्यौपानेलाई नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरिरहेका छन्।

काठमाडौँ । देशभरिको कर्मचारी प्रशासनको विभागीय मन्त्रालय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री विहीन बनेको छ । मन्त्री राजकुमार गुप्ताको घुस अडियो प्रकरण सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् ।  तर मन्त्रालयमा भने खासै प्रभाव परेको देखिँदैन ।  

उनले राजीनामा दिएको केहि समयमा रातोपाटी मन्त्रालय पुग्दा कर्मचारीहरू आ–आफ्नै तालमा थिए । ‘मन्त्री हुँदा पनि खासै केही काम भएको होइन, नहुँदा पनि के हुन्छ र फेरी मन्त्री फेरिरहने कुरा हो । त्यही भएर हामीलाई जो आएनी केही न केही ’ मन्त्रालयका एक महाशाखा प्रमुख भन्छन् । 

‘मन्त्री बिहानैबाट आएका छैनन् ।  सबै काम गर्ने कर्मचारीले नै हो, नीतिगत निर्णयको बेला मन्त्री चाहिने हो । अरू काम के चाहिँ गर्ने होर ?’ ती कर्मचारीले भने ।

मन्त्रीले राजीनामा दिएको कुरा थाहा पाएपछि सचिव सहित सहसचिवहरू तत्काल मन्त्रालय पुगेका थिए । ‘के थाहा मन्त्रीले बिदाइ खोज्ने हुन् की भनेर कामले बाहिर भएका हाकिमहरू पनि आएका थिए । तर मन्त्री आएनन् । फेरी नयाँ मन्त्री आइहाल्छन्‌’ एक सहसचिव भन्छन् । 

देशभरका सङ्घीय सरकार मातहत रहेका कर्मचारीहरूको तालुकदार मन्त्रालय भएकोले कर्मचारी प्रशासनको काम धेरै हुने गरेको छ । ‘यो मन्त्रालयमा हुने भनेकै सरुवा र पदस्थापनको काम हो । यसको लागि धेरै काम सहसचिव लेभलमै हुन्छ । मन्त्री आउनु जानुले खासै असर राख्दैन । नियमित काम भइरहेकै छ,’ एक कर्मचारी भन्छन् ।  

स्रोतका अनुसार मन्त्री गुप्ता क्वार्टरबाट बाहिर निस्केका छैनन् । उनले  भोली मात्रै क्वार्टर छोड्ने स्रोतको दाबी छ । 

यता  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका छन् । 

‘सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्ने तयारी भइरहेको छ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘चाँडै नियुक्तिको पत्र राष्ट्रपति कार्यालय पठाइँदै छ ।’

तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप