शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठुलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी

बुधबार, ३२ असार २०८२, ०८ : ३८
बुधबार, ३२ असार २०८२

सारांश

  • कृषि मन्त्री रामनाथ अधिकारी भियतनाममा आयोजित कार्यक्रममा सहभागी भए, जहाँ उनले अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए।
  • मन्त्री अधिकारीले नेपालको उच्च मूल्ययुक्त उत्पादन, जस्तै अलैँचीको प्रशोधन र लगानीको कुरा उठाए।
  • उनले भियतनामका उप-कृषि मन्त्रीसँग भेटघाट गरी कृषि व्यापार, प्रविधि र अनुसन्धानबारे छलफल गरे।

काठमाडौँ । संयुक्त राष्टसंघीय खाद्य तथा कृषि सङ्गठन एफएओले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन  भियतनामको राजधानी हनोईमा रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भएका छन् ।

दुई दिन सम्म चलेको एसिया र अफ्रिकाका कृषिसँग सम्बन्धित मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका  कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एसिया र अफ्रिकी देशहरूबिच  अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए ।

मन्त्री अधिकारीले भने “जलवायु परिवर्तनको असर  र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठुलो स्रोत हुन सक्छ ”। उनले उच्च मूल्ययुक्त ठुलो अलैँची जस्ता उत्पादनहरूमा नेपालले  ध्यान दिइरहेको र यसको प्रशोधन, मूल्य अभिवृद्धि, तथा कृषि उद्यमशीलतामा  थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । 

यसै बिच मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटघाट गरी दुई देशबिच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य, र संयुक्त अनुसन्धानका विषयमा छलफल गरे ।

उनीहरुबिच जडीबुटी तथा मसला जस्ता विशेष कृषि उत्पादनहरूमा नेपाल र भियतनामबिचको व्यापार प्रवर्द्धन ,पोस्ट–हार्वेस्ट प्रविधि, कृषि डिजिटलाइजेसन, तथा जलवायु–स्मार्ट कृषिमा प्राविधिक सहकार्य, युवा उद्यमशीलता र कृषि व्यवसाय तालिम आदान–प्रदान  लगायतका विषयमा कुराकानी भएको मन्त्री अधिकारीले जानकारी दिए ।

ramnath2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप