प्रचण्ड र ओलीबिच फेरि एकता हुन ‘स्यालको सिङ पलाउनु’ जस्तै गाह्रो छ
सारांश
- विद्या भण्डारीको पुनरागमन र वामपन्थी एकताको चर्चा चलेको छ, तर यसको ठोस प्रभाव तत्कालै नदेखिने सम्भावना छ।
- नेपालको राजनीतिमा गठबन्धनको सम्भावना अनिश्चित रहेको र नेतृत्व परिवर्तनले वामपन्थी एकतामा भूमिका खेल्न सक्ने देखिन्छ।
- कम्युनिस्ट पार्टीहरूमा नेतृत्व परिवर्तनको शृंखला र वर्गीय चरित्र परिवर्तनले भविष्यमा चुनौती थप्ने विश्लेषण गरिएको छ।
विद्या भण्डारीको राजनीतिक पुनरागमनसँगै वामपन्थी एकताको विषयले पनि चर्चा पाएको छ । यद्यपि, भण्डारी आफैले अहिलेसम्म औपचारिक रूपमा ‘म वामपन्थी एकताको लागि पहल गर्छु’ भनेर भन्नुभएको छैन ।
यद्यपि उहाँले भावी अध्यक्ष बन्नका लागि इच्छा व्यक्त गरेको चाहिँ देखिन्छ । त्यसैले उहाँको पुनरागमनको चर्चाले मात्रै वामपन्थी एकता हुने वा नहुने भन्नु अहिले हतारो हुन्छ । उहाँको आगमनले मात्रै गठबन्धनमा तत्कालै कुनै ठोस प्रभाव पार्छ भनेर ठोकुवा गर्न सकिने अवस्था पनि छैन ।
वास्तवमा नेपालको राजनीतिमा भविष्यवाणी गर्न पनि गाह्रो छ । किनभने अहिले गठबन्धन वामपन्थी–वामपन्थीबिच मात्र नभएर वामपन्थी र गैर–वामपन्थीबिच पनि भइरहेको छ । त्यसैले २०८४ मा कस्तो गठबन्धन बन्छ भनेर अहिले नै अनुमान सकिन्न ।
चुनावको बेला कांग्रेस–एमाले, कांग्रेस–माओवादी, माओवादी–एमाले–राप्रपा, कांग्रेस–मधेसवादी जस्ता सबै खाले दलहरूको बिचमा गठबन्धन भइसकेका छन् । यस पटक पनि सबै सम्भावनाहरू कायम नै छन् ।
यदि पार्टीका महाधिवेशनहरूबाट नयाँ र ‘फ्रेस’ अनुहार नेतृत्वमा आए भने एकताका लागि अलि अनुकूल वातावरण बन्न सक्छ । विगतमा पनि केही वाम एकता सफल भएका छन्, जस्तै २०४७ सालमा माले र मार्क्सवादीबिचको एकता वा २०६५ सालमा माओवादी र एकता केन्द्र–मसालबिचको एकता ।
त्यसैले, वामपन्थीहरूको बिचमा सहकार्य अथवा एकता हुनै नसक्ने पनि म देख्दिनँ । यो विषय नेतृत्वमा हुने परिवर्तनमा धेरै हदसम्म निर्भर रहन्छ ।
प्रचण्ड र ओलीको बिचमा त्यस्तो विश्वास स्थापित हुन धेरै गाह्रो छ । किनभने उहाँहरूले एक चोटि पहिला चुनाव मिलेर लड्नुभयो, त्यसपछि पार्टी नै एकीकरण नै गर्नुभयो । त्यो आम पार्टी पङ्क्तिमा छलफल गरेर भन्दा पनि दुई जनाको बिचको वार्ताले भएको थियो । त्यसैले, त्यो एकता धेरै समय कायम रहेन ।
उहाँहरूबिच पटक–पटक गठबन्धन बन्ने र टुट्ने क्रमले गहिरो अविश्वास पैदा भएको छ । यस्तो पृष्ठभूमिमा यी दुई नेता रहेसम्म एकताको सम्भावना लगभग असम्भव देखिन्छ । यदि दुवै पार्टीमा नेतृत्व परिवर्तन भयो भने मात्र केही सोच्न सकिएला । प्रचण्ड र ओलीका बिचमा फेरि विश्वास स्थापित भएर एकता हुनु ‘स्यालको सिङ पलाउनु’ जस्तै गाह्रो छ ।
अब नेतृत्व परिवर्तन भयो र त्यस्तो परिवर्तित नेतृत्वले एकताका लागि पहल गर्दा योभन्दा अलि अनुकूल हुन सक्छ । त्यस्तो अवस्थामा चाहिँ एकता हुन सक्छ अथवा एकता नभए पनि सहकार्य, मोर्चा आदि हुन सक्छ ।
यद्यपि, विद्या भण्डारीको पुनरागमनको कुरा अझै काल्पनिक छ भने माओवादीभित्र जनार्दन शर्माजीले तत्कालै पार्टी नीतिलाई आफ्नो व्याख्याअनुरूप मोड्न सक्ने सम्भावना धेरै देखिँदैन । यी घटनाहरूले तत्कालै वामपन्थी आन्दोलनको दिशा परिवर्तन गर्नेछ भन्ने आधार कमजोर छ ।
- कम्युनिस्ट हुन् कि होइनन् ?
नेपालमा रहेका कम्युनिस्ट पार्टीहरूलाई वाम, कोट अनकोट ‘वामपन्थी’ भनेर स्वीकार गरिएको छ । तर, उनीहरूको स्कुलिङ फरक छन् । माओवादीहरू १० वर्ष जनयुद्ध लडेर आए । एमालेको आफ्नै इतिहास छ । यिनीहरूको वर्ग आधार उस्तै–उस्तै भए पनि हुर्काइ र शक्ति आर्जन गर्ने बेस फरक भएको हुनाले समूहगत हितहरू पनि फरक–फरक छन् । समूहगत स्वार्थहरू पनि फरक–फरक छन् । यसमा नेतृत्वको व्यक्तिगत इगो पनि फरक छन् । नेपालका वामपन्थी दलहरूमा वैचारिक र व्यक्तिगत स्वार्थ मिसिएको छ ।
पहिलो, ‘वामपन्थी विचार’ (मार्क्सवाद) को भविष्य उज्ज्वल छ, तर नेपालका ‘वर्तमान कम्युनिस्ट पार्टी’ हरूको भविष्य चुनौतीपूर्ण छ । दोस्रो, पार्टीहरूबिच फरक–फरक ‘स्कुलिङ’ (वैचारिक प्रशिक्षण) बाट हुर्किएको लामो इतिहास छ, जसले सैद्धान्तिक दूरी बढाएको छ ।
तेस्रो, यसमा नेताहरूको व्यक्तिगत इगो र समूहगत स्वार्थ पनि जोडिएको छ । उनीहरूले आफ्नो वर्गीय चरित्र बदलेका छन् र सुशासन तथा ‘डेलिभरी’ मा कमजोर देखिएका छन्, जुन आजको मुख्य समस्या हो ।
- नेतृत्व परिवर्तनको प्रश्न
सबै कम्युनिस्ट पार्टीमा सधैँ एउटै नेता मात्र नेतृत्वमा छन् भन्ने पनि होइन । कम्युनिस्ट पार्टीको इतिहास हेर्दा पुष्पलालदेखि मनमोहन, केशरजंग हुँदै नेतृत्व फेरिएको छ । २००६ सालमा नेकपाको संस्थापक पुष्पलाल हुनुभयो । २०१० सालको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी आउनुभयो । त्यसको तीन/चार दिनपछि केशरजंग राजयमाझी आउनुभयो । कोशरजंग नेतृत्वमा आएको पाँच वर्षमा तुलसीलाल अमात्य आउनुभयो ।
यता मालेतिर हेर्नुभयो भने सुरुमा महासचिव सीपी मैनाली भए, त्यसपछि झलनाथ खनाल भए, अनि मदन भण्डारी भए, माधव नेपाल भए, फेरि झलनाथ भए, केपी ओली भए । यस्तो परिवर्तनको शृङ्खला पनि छ । एउटा मात्रै चरित्र हेरेर कम्युनिस्टको यस्तो भनिहाल्न हुँदैन ।
एमालेमा पनि नेतृत्व परिवर्तनको लामो शृङ्खला छ । अहिले जो लामो समयदेखि नेतृत्वमा हुनुहुन्छ, उहाँहरू एउटा विशेष ‘आन्दोलनको कालखण्ड’ (जस्तै पञ्चायतविरोधी आन्दोलन वा जनयुद्ध) बाट स्थापित हुनुभएको हो । त्यो आन्दोलनको विरासत र त्यसको ‘धङधङी’ वा ‘ह्याङओभर’ बाँकी रहेकाले उहाँहरूलाई तत्काल विस्थापित गर्न नसकिएको जस्तो देखिएको हो ।
यसमा अर्को एउटा कारण पनि छ । आन्दोलनको बेला निर्माण भएको नेतृत्व जुन हुन्छ, त्यस्तो नेतृत्व थोरै विशिष्ट ज्ञान, क्षमता र योग्यताले निर्माण हुने होला । जस्तो प्रचण्ड र मोहनविक्रमलाई हेर्नुभयो भने त्यतिबेला उहाँहरू आन्दोलनबाट स्थापित हुनुभयो ।
प्रचण्डकै कुरा गर्दा २०६४ सालसम्म नेतृत्वको विषयमा प्रायः विवाद थिएन । भित्र–भित्रै बाबुराम भट्टराईले प्रचण्डलाई वैचारिक रूपमा च्यालेन्ज गरेका पनि हुन् । पछि उहाँजस्तै च्यालेन्ज गर्नेहरू, च्यालेन्ज गरेर पनि विस्थापित गर्न नसकेपछि आफै विस्थापन भएर गए । च्यालेन्ज अहिले पनि भइराखेकै छ । तर, त्यही ऐतिहासिक प्रक्रियाको धङधङी बाँकी रहेको हुनाले तत्काल विस्थापित नभएको हो । यही कारणले लामो समय नेतृत्वमा बस्ने रोग देखिएको हो ।
अहिले भइरहेका कम्युनिस्टहरू र कम्युनिस्ट पार्टीहरूको भविष्य के हुन्छ भन्ने प्रश्न छ । नेपालका कम्युनिस्टहरूले आन्दोलन गरेर शक्ति आर्जन गर्ने तहबाट विकसित भइसकेपछि समाजको सबै वर्गको प्रतिनिधित्व गर्न सक्छौँ भन्ने दाबीसहित पुँजीपतिहरूको पनि साथ लिइरहेका छन् । एमाले र माओवादीले त्यो ‘क्यापिटालिस्ट क्लास’को पनि प्रतिनिधित्व गर्छन् । अलिअलि यिनीहरूले वर्किङ क्लासको हो भनेर दाबी पनि गरिराख्छन् । त्यो सबैको प्रतिनिधित्व गर्ने खालको यिनीहरूको शैली र चरित्र छ ।
यसले गर्दा यिनीहरूको भविष्य अँध्यारो नदेखे पनि यिनीहरूले आफूहरूलाई सुधार गर्नुपर्नेछ । खास गरी सरकारमा हुँदा र राज्य सञ्चालन गर्दा दिने डेलिभरीमा र भ्रष्टाचार नियन्त्रणको विषयमा तथा सामाजिक र आर्थिक रूपान्तरणमा खेल्ने भूमिकामा यिनीहरू कमजोर छन् । यही कारणले मार्क्सवादी आन्दोलन र वामपन्थी आन्दोलन पनि बदनाम भइरहेका छ ।
- समाजवादी क्रान्तिको नयाँ दिशा
समाजवादी क्रान्तिको नाममा अर्को नयाँ पार्टी बन्ने र हुर्किने सम्भावना न्यून देखिन्छ । बरु यिनै भइरहेका पार्टीहरू मर्ज हुने, नयाँ नेतृत्व आउने वा खुम्चिने जस्ता प्रक्रिया हुन सक्छन् । तर नयाँ क्रान्तिकारी पार्टी बनेर त्यसले देश रूपान्तरण गर्ने सम्भावना आगामी १५/२० वर्षसम्म छैन । लेफ्टहरूको अर्को पार्टी बनेर शक्ति आर्जन गर्ने सम्भावना काम छ । बरु, भइरहेकाहरूको मर्ज हुँदा शक्तिको पुनरागमन, पुनर्जागरण या पुनर्निर्माण अथवा पुनरुत्पादन हुन सक्छ ।
बरु, स्थापित दलहरूको ठाउँमा नयाँ ‘पपुलिस्ट’ शक्ति आउने सम्भावना चाहिँ देखिन्छ । २०४६ सालको आन्दोलन अथवा २०६२/६३ सालको आन्दोलनको नेतृत्व गरेर स्थापित भएका कम्युनिस्टहरू, यिनीहरूको ठाउँमा अर्को पपुलिस्ट फोर्स आयो भने त्यो बेग्लै कुरा हो। त्यस्ता शक्तिले २०/३० वर्ष विस्थापित गर्ने सम्भावना आफ्नै ठाउँमा छ ।
वामपन्थीहरू वामपन्थी भइरहेको भए पुग्थ्यो। यिनीहरूले वामपन्थी हुनु भनेको वर्किङ क्लासको अथवा उत्पीडित जाति, समुदाय, वर्ग, त्यसको पक्षमा काम गर्दै नेपालको उत्पादक शक्तिलाई लिबरेट गर्ने हो । उत्पादक शक्तिलाई लिबरेट गर्ने भनेको अहिले क्यापिटालिस्ट डेभलपमेन्टतिर जानु हो । त्यसको निम्ति जतिसक्दो धेरै बाटो खुला गर्ने, वातावरण बनाउने, त्यसका लागि चाहिने ऐन, कानुन, नियमहरू जे–जे चाहिन्छ त्यो बनाउने, राज्य संयन्त्रलाई चाहिँ अलि सुशासनयुक्त बनाउने र उत्पादनमुखी बनाउने गरेको भए पुग्थ्यो । त्यहाँभन्दा बढी केही गर्नुपर्दैनथ्यो । उनीहरूले यति पनि गर्न सकेनन्, त्यही भएर समस्या छ ।
(राजनीतिक विश्लेषक सुवेदीसँग कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण