पाकिस्तानमा भारी वर्षा, कम्तीमा ६३ जनाको मृत्यु
सारांश
- पन्जाबमा भारी वर्षाका कारण ६३ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएका छन्।
- बाढीका कारण रावलपिन्डीमा सार्वजनिक बिदा घोषणा गरिएको छ र मानिसहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।
- मनसुन सुरु भएयता बाढीका कारण १८० जनाको मृत्यु भएको छ, जसमा अधिकांश बालबालिका छन्।
इस्लामावाद । पाकिस्तानको पन्जाब प्रान्तमा आएको भारी वर्षाका कारण बुधवार बिहानदेखि २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएका छन्। राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश पीडितहरू भत्किएका भवनहरूले च्यापिएर मरेका हुन् भने बाँकीले डुबेर वा करेन्ट लागेर ज्यान गुमाएका छन्।
राजधानी इस्लामावाद नजिकैको रावलपिन्डी सहरका अधिकारीहरूले मानिसहरूलाई घरभित्रै रहनका लागि बिहीबार सार्वजनिक बिदा घोषणा गरेका छन्। साथै, सहर भएर बग्ने नदी नजिकै बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
मनसुन सुरु भएदेखि अर्थात् जुनको अन्त्यदेखि नै देशभरि बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १८० पुगेको छ। यसमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन् । बाढीका कारण पन्जाबभरिका धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् भने दर्जनौं उडानहरू रद्द वा ढिलो भएका छन्।
बिहीबार, प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले धेरै क्षेत्रमा आपतकाल घोषणा गरिएको बताइन्। उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै लेखिन्, ‘सरकारी संस्थाहरूले पूर्ण प्रयासका साथ काम गरिरहेका छन् ।’ उनले स्थानीय बासिन्दाहरूलाई सुरक्षा दिशानिर्देशहरू पालना गर्न आग्रह गरिन्।
पछिल्लो एक दिनमा ४०० मिमि वर्षाले डुबानमा परेको चकवाल सहरमा उद्धार डुङ्गाहरूले बाढीको पानीमा फसेका मानिसहरूलाई खोज्न प्रयास गरिरहेको तस्बिर र भिडियोहरूमा देखाइएको छ। सैन्य हेलिकप्टरहरू पनि बाढी प्रभावित क्षेत्रहरूमा घुमिरहेको देख्न सकिन्छ।
पन्जाबका अधिकारीहरूले सप्ताहन्तभरि थप वर्षा र बाढी आउने चेतावनी दिएका छन्। प्रान्तभरि हजारौँ उद्धारकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ।
करिब २५ करोड जनसङ्ख्या भएको पाकिस्तान जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूमध्ये एक हो। यस देशले दुई प्रमुख मौसमी प्रणालीको सामना गर्दछ ( एउटाले उच्च तापक्रम र खडेरी निम्त्याउँछ भने अर्कोले मनसुनी वर्षा ल्याउँछ। पाकिस्तानमा १३,००० भन्दा बढी हिमनदीहरू पनि छन् जुन तीव्र गतिमा पग्लिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण