आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

बिहीबार, ०१ साउन २०८२, १७ : १४
बिहीबार, ०१ साउन २०८२

विराटनगर । कोशी प्रदेशमा बिहीबारदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । 

आज सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गरे। मुख्यमन्त्री  कार्कीले कार्यालय उद्घाटन गर्दै नागरिकको घर नजिकको प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको बताए ।

उनले प्रदेश सरकारको विकासको कामलाई तत्कालै अगाडि बढाउन र स्थानीयको प्राथमिकताको आवश्यकतालाई मध्यनजर गर्दै सरकारको योजना अनुसार कार्यालय स्थापना गरिएको बताए ।

उनले कार्यालय स्थापना भएसँगै चालु आर्थिक वर्षमा गर्नु पर्ने कामहरू असोज महिनाभित्रमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिए ।  उनले अब जिल्ला जिल्लामा कार्यालय स्थापना भएपछि असारे विकासको  प्रथा पनि अन्त्य हुने बताए । 

उनले प्राथमिकता निर्धारण गर्न नसक्दा समानुपातिक रूपमा बजेटको विनियोजन हुन नसकेको गुनासो नागरिकको र जनप्रतिनिधिहरूबाट आएको बताउँदै  अब यसलाई हटाउनु यस कार्यालयले जिल्लाको प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री कार्कीले सुनसरी जिल्ला आफ्नो गृह जिल्ला नभएपनि त्योभन्दा बढी लगानी गरेको उल्लेख गर्दै प्रदेशकै ठुलो आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर यसै वर्षबाट सञ्चालनमा आउने, त्यहाँ दुई वर्षभित्रमा अरबाैँका संरचना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै रामधुनी र कोशी टप्पुलाई पर्यटकीय आकर्षक गन्तव्यको रूपमा विकास गर्न लागिपरेको उल्लेख गरे ।

उनले दुहवी–इनरुवा सडकको यसै वर्षबाट ठेक्का लगाएर निर्माण काम अगाडि बढाउने र कौवाखोच सडक निर्माणको लागि आवश्यक सहकार्यलाई तीव्रता दिएको बताए । त्यस्तै भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले खोटाङमा कार्यालय उद्घाटन गरे । 

त्यसैगरी साउन साउन २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम र ५ गते ताप्लेजुङमा कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ। यसअघि प्रदेशमा सहरी विकास कार्यालय र पूर्वाधार कार्यालय गरेर नौ वटा मात्रै कार्यालय थिए। अब सबै जिल्लामा एउटा एउटा गरेर १४ वटा पूर्वाधार कार्यालय हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप