बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही–३ : काठमाडौँमा बसेर राजनीति गर्ने दिन गए

शुक्रबार, ०२ साउन २०८२, ०९ : ४४
शुक्रबार, ०२ साउन २०८२

प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको माहोल बिस्तारै तात्दै गएको छ । झट्ट हेर्दा यो एउटा निर्वाचन क्षेत्रमात्र हो, तर राजनीतिक दलहरूप्रति जनताको विश्वास, भरोसा, मतदाताको मुड आदि बुझ्नका लागि एउटा निर्वाचन क्षेत्र पनि कहिलेकाहीँ काफी हुन सक्छ ।

उपनिर्वाचनबाट चुनिएको जनप्रतिनिधिले दुई वर्ष जति काम गर्ने मौका पाउँछ । त्यो दुई वर्ष पर्याप्त समय त होइन तर ठोस योजना बनाएर त्यसको जग हाल्ने र आफ्ना योजनालाई आकार दिन अवश्य सकिन्छ । दुई वर्षका लागि जनप्रतिनिधि बन्ने चाहना राखेर आउने उम्मेदवारले मतदातालाई धेरै ठुलो सपना देखाउन मिल्दैन । तर काम गर्ने नै हो भने यही दुई वर्षको अवधिमा जनताले प्रत्याभूत गर्ने गरी धेरै परिवर्तन ल्याउन सकिन्छ । जनतामा आशा जगाउन सकिन्छ ।

म सानै उमेरदेखि यहाँको राजनीतिक परिवेशसँग परिचित छु । म भैरहवामा जन्मेँ, यहीँ हुर्केँ, शिक्षा पाएँ, उद्योग–व्यवसाय सञ्चालन गरेँ । मेरो बाल्यकाल यहीँ बित्यो । यहाँको स्थानीय भएकाले मैले रुपन्देही–३ लाई राम्ररी बुझेको छु । यहाँको राजनीतिक क्षेत्रमा पनि म लामो समयदेखि सक्रिय छु । विगतमा मधेसवादी दल र राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर राजनीति गरेँ । पछिल्लो समय राप्रपाको रुपन्देही जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रहँदैगर्दा मैले वैशाख ३० गते राजीनामा दिएँ ।

राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रुपन्देहीको जिल्ला सल्लाहकार तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा उपमेयर पदमा उम्मेदवार बनेकी विनीता गुप्ताले पनि मसँगै पार्टी परित्याग गरेको हो । हामीले पार्टी छोड्नुका विभिन्न कारण छन् । त्यो विषयमा अहिले प्रवेश नगरौँ ।

अहिले पार्टीले टिकट दिने भएन भनेर हामी बाहिर आएको होइन । राजनीतिमा कहिलेकाहीँ कुनै पार्टीसँग जोडिएरभन्दा स्वतन्त्र रूपमा मैदानमा जाँदा अझ प्रभावकारी परिणाम हासिल गर्ने सम्भावना रहन्छ । म त्यस्तो सम्भावनाको खोजीमा पार्टी राजनीतिबाट बाहिरिएँ, तर सक्रिय राजनीतिबाट बाहिरिएको छैन । स्वतन्त्र रहँदा नै रुपन्देही–३ को राजनीतिक मैदानमा अझ सशक्त रूपमा आफूलाई उभ्याउन सक्छु भन्ने विश्वास लिएको छु ।

विगतमा यहाँबाट जितेका धेरैजसो जनप्रतिनिधि काठमाडौँमै बसेर राजनीति गर्न रमाए । चुनावको समयमा आउने, उम्मेदवार बन्ने, जित्ने अनि यहाँका स्थानीयसँग सम्पर्कबाट टाढिएर काठमाडौँमै व्यस्त रहने प्रवृत्ति यहाँका मतदाताले झेलेका छन् । मतदाताबाट टाढिएर जनताको प्रतिनिधित्व हुन सक्दैन । चुनाव जितेर जनप्रतिनिधि हुने अनि बाँकी समय आफ्नो गुट र आफन्तको प्रतिनिधित्व गरेर काठमाडौँमै बिताउने भन्दा पनि सुख–दुःखमा सदा साथ रहने उम्मेदवार रुपन्देही–३ का जनताले चाहेका छन् ।

विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनतामाझ गरेका बाचा काठमाडौँ पुगेपछि बिर्सिएका कारणले अर्बाैं लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सकेको छैन । रुपन्देही–३ बाट प्रतितिधित्व गर्छु भन्ने उम्मेदवारसँग अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउन सक्ने योजना, त्यसका लागि सरकारलाई दबाब दिन सक्ने क्षमता चाहिन्छ । यो क्षेत्रमा पर्यटन, कृषि, उद्योग, शिक्षा, रोजगार लगायतमा धेरै काम गर्न बाँकी छ । ती कामलाई योजनाबद्ध रूपमा अघि बढाउने क्षमता भएको उम्मेदवारको खाँचो छ ।

खासगरी पर्यटन क्षेत्रको विकासका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक महत्तवका कार्यक्रममा पहल गर्नुपर्ने देखिन्छ । कृषकको आर्थिक सुधारका लागि मल, बिउ एवं सिँचाइका लागि सुविधा र उत्पादित सामग्रीको बजारीकरणको व्यवस्था गर्नुपर्ने देखिन्छ । उद्योगी–व्यवसायीहरूले भोग्नुपरेका समस्या समाधानका लागि उच्च प्राथमिकता दिनुपर्छ । गुणस्तरीय शिक्षाका लागि पालिकास्तरदेखि समाधानको पहल गर्नुपर्छ । जिल्लामा उत्पादित विभिन्न सामग्रीलाई विश्व बजारसम्म जोड्न भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यसले रोजगारीका अवसर पनि सिर्जना गर्छ । अन्तर्राष्ट्रिय रूपमै परिचित सिद्धार्थनगर नगरपालिकाको क्षेत्र विस्तार गरी उपमहानगर बनाउन पहल गर्नुपर्ने देखिन्छ ।

यी र यस्ता योजनामा निरन्तर काम गर्न रुपन्देही–३ मै डटेर बस्ने, संसद अधिवेशनको समयमा यहाँका समस्याबारे सरकारको ध्यानाकर्षण गर्ने, नीति निर्माणमा भूमिका निर्वाह गर्ने, बाँकी समयमा जनताकै सामिप्यमा रहेर सुख–दुःखमा साथ दिने उम्मेदवार यहाँका मतदाताले चाहेका छन् ।

रुपन्देही–३ का मतदाताले आमूल परिवर्तन खोजेका छन् । निर्वाचनको मिति घोषणामात्र भएको छ, उम्मेदवारी चयन प्रक्रिया, उम्मेदवारी दर्ता लगायतका काम हुन अझै समय लाग्छ । यद्यपि, केही दलबाट र स्वतन्त्र रूपमा पनि केहीले उम्मेदवार बन्ने चर्चा चलाइसकेका छन् । योसँगै मतदाता पनि चनाखो हुन थालिसकेका छन् ।

स्थानीय साथीभाइ, आफूले वर्षौंदेखि घुलमिल गर्दै आएका दाजुभाइ तथा दिदीबहिनीहरूले घचघच्याएकै कारण मैले पार्टी राजनीति छाडेर स्वतन्त्र रूपमा रुपन्देही–३ मा उम्मेदवारी दिने योजना बनाएको छु । मेरो विचारमा यहाँका मतदाताको आकांक्षालाई बुझ्न, कार्यान्वयनको चरणमा लैजान बलियो विकल्पका रूपमा आफूलाई म प्रस्तुत गर्न सक्छु । मैले अहिलेसम्म बुझे अनुसार यहाँका मतदाताले ‘काठमाडौँमा बसेर राजनीति गर्ने दिन गए’ भन्ने सोच बनाइसकेका छन् । उपनिर्वाचनमा उनीहरूले जनप्रतिनिधि छान्ने आधार पनि यही नै हुन्छ भन्ने विश्वास छ ।  

(गुप्ता लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय छन् । उनीसँग रातोपाटीका लागि तेजेन्द्र केसीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार गुप्ता
अजयकुमार गुप्ता
लेखकबाट थप