मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप

मङ्गलबार, ०५ साउन २०८३, १३ : ५१
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनले युद्धसम्बन्धी जानकारी सार्वजनिक गर्न अनिच्छुक देखिएको भन्दै आलोचना बढेको छ ।
  • रक्षा मन्त्री पिट हेगसेथले इरानमाथि भइरहेका हवाई आक्रमणको सैन्य रणनीतिबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएका छैनन् ।
  • नियमित आधिकारिक जानकारी नआएपछि युद्धसम्बन्धी समाचार संकलन गर्ने पत्रकारहरू गोप्य सरकारी स्रोतमा झन् बढी निर्भर हुन थालेका छन् ।

वासिङ्टन डीसी । अमेरिका–इरान युद्ध थप चर्किँदै गए पनि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युद्धसम्बन्धी जानकारी सार्वजनिक गर्न अनिच्छुक देखिएको भन्दै आलोचना बढेको छ । 

युद्धबारे अमेरिकी नागरिकले स्पष्ट र पारदर्शी जानकारी पाउनुपर्ने भए पनि हाल त्यस्तो अवस्था नरहेको विश्लेषण गरिएको छ । पेन्टागनले पछिल्ला करिब साढे दुई महिनादेखि कुनै नियमित पत्रकार सम्मेलन गरेको छैन ।

रक्षा मन्त्री पिट हेगसेथले इरानमाथि भइरहेका नयाँ हवाई आक्रमणको सैन्य रणनीतिबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएका छैनन् । साथै हालै अमेरिकी सैनिकहरूको मृत्यु कसरी भयो भन्ने विषयमा पनि रक्षा मन्त्रालयले स्पष्ट विवरण सार्वजनिक गरेको छैन । विश्लेषकहरूका अनुसार यसले युद्धसम्बन्धी सूचना नियन्त्रण गर्ने, सञ्चारमाध्यमको पहुँच सीमित गर्ने र कठिन प्रश्नहरूबाट बच्ने प्रयास भइरहेको संकेत गर्छ ।

अघिल्ला अमेरिकी युद्धहरूका बेला पेन्टागनले नियमित पत्रकार सम्मेलन गर्ने गथ्र्यो। त्यतिबेला सैनिक नेतृत्वले सञ्चारमाध्यमले सैनिक, उनीहरूका परिवार र सर्वसाधारणलाई जानकारी गराउने भूमिकाको सम्मान गर्ने गरेको थियो । तर अहिलेको अवस्था निकै फरक भएको टिप्पणी गरिएको छ । हेगसेथले सञ्चारमाध्यमसँग पटक–पटक विवाद गरेका छन् । उनले पत्रकारहरूको पेन्टागनभित्रको पहुँच पनि सीमित गरेका छन् र सूचना प्रवाह घटाएका छन् ।

पेन्टागनका प्रमुख प्रवक्ता शन पार्नेलले भने अमेरिकी सरकारले इरानमा भएका सैन्य कारबाहीबारे निरन्तर र वास्तविक समयमै जानकारी दिइरहेको दाबी गरेका छन् । उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षा मन्त्री हेगसेथले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अमेरिकी नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिइरहेका छन् । पार्नेलले केही सञ्चारमाध्यमले समाचारभन्दा बढी आफ्नै उद्देश्य पूरा गर्न प्रश्न गर्ने आरोपसमेत लगाएका छन् ।

नियमित आधिकारिक जानकारी नआएपछि युद्धसम्बन्धी समाचार संकलन गर्ने पत्रकारहरू गोप्य सरकारी स्रोतमा झन् बढी निर्भर हुन थालेका छन् । तर रक्षा मन्त्री हेगसेथले हालै गोप्य सूचना चुहाउने व्यक्तिमाथि कारबाही गर्न विशेष कार्यदल गठन गरेका छन्। यसका कारण सरकारी अधिकारीहरू पत्रकारसँग बोल्न झन् डराउन थालेको पत्रकारहरूको भनाइ छ ।

न्युयोर्क टाइम्सका अनुसार हालै इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि थप तीनवटा आक्रमण गरेको थियो। ती आक्रमणमा दर्जनौँ अमेरिकी सैनिक घाइते भएका र केही हेलिकोप्टरमा क्षति पुगेको दाबी गरिएको छ । तर पेन्टागनले ती आक्रमण, क्षति र घाइतेबारे सार्वजनिक रूपमा जानकारी दिएको छैन । समाचारमा युद्धका कारण अमेरिकाका महत्वपूर्ण तथा महँगा हतियारको मौज्दात घट्दै गएको र इरानले आफ्नो क्षेप्यास्त्र क्षमता पुनः निर्माण गरेको विषय पनि पर्याप्त रूपमा सार्वजनिक नगरिएको उल्लेख गरिएको छ ।

ठूलो युद्धको तयारी ?

वाशिङ्टन पोस्टले एक अज्ञात सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिका अझ व्यापक युद्धको तयारी गरिरहेको जनाएको छ । ती अधिकारीका अनुसार दीर्घकालीन सैन्य कारबाही सञ्चालन गर्न आवश्यक स्रोतसाधन पर्याप्त छैन र यसबारे ह्वाइट हाउस पूर्ण रूपमा जानकार नहुन पनि सक्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति “पूर्ण रूपमा ध्वस्त पारिएको“ भन्दै पटक–पटक दाबी गर्दै आएका छन् । तर इरानले अझै पनि आक्रमण जारी राख्न सकिरहेको अवस्थाले ट्रम्पको दाबीमाथि प्रश्न उठ्न थालेको छ ।

यसैबीच ट्रम्पले युद्ध सुरु हुँदा केही सातामै अभियान सकिने बताएका भए पनि अहिले यो अपेक्षाभन्दा धेरै ठूलो सैन्य अभियानमा परिणत भएको स्वीकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप