बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ऊर्जा मन्त्रालयको प्रगति विवरण : भारत र बंलादेशमा १७ अर्बको विद्युत् निर्यात

शुक्रबार, ०२ साउन २०८२, १३ : ५४
शुक्रबार, ०२ साउन २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।
  • नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरी आयात घटाएको छ, निर्यात बढेको छ।
  • सरकारले बङ्गलादेशसँग त्रिपक्षीय सम्झौता गरी विद्युत् निर्यातबाट वार्षिक १ अर्ब २५ करोड आम्दानी गर्ने योजना बनाएको छ।

काठमाडौँ ।  नेपालले आर्थिक वर्ष २०८१/८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षमा भारत र बंलादेशमा गरी करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको जनाएको छ । 

त्यस्तै नेपालले एक आर्थिक वर्षमा करिब १६‍.९ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिएको थियो । सरकारले नेपालमा नै विद्युत् उत्पादन वृद्धि गरी भारतबाट ठुलो परिणाममा आयात गर्ने विद्युत् कम गर्दै गएको छ । 

बुधबार ऊर्जा मन्त्रालय सम्हालेको एक वर्षमा ऊर्जा क्षेत्रमा गरेको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री दीपक खड्काले यस्तो बताएका हुन ।  उनले नेपाल सरकारले भारतसँग ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृत गरी १००० मेगावाट आयात गर्न सकिने प्रबन्ध मिलाएको बताए । 

उनले उक्त प्रबन्ध अनुरूप वर्षातको समयमा ८५० मेगावाटसम्म नेपालले भारतलाई निर्यात गरेको बताए । उनले सुख्खा याममा ६७० मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको जानकारी दिए । 

मन्त्रालयका अनुसार आर्थिक २०८१/८२ मा १७१२ गिगावाट घण्टा विद्युत् आयात गरिएको थियो भने २३३२ गिगावट घण्टा नेपालबाट भारतमा विद्युत् निर्यात गरिएको थियो ।

उक्त तथ्याङ्कका आधारमा आयात भन्दा निर्यात बढी गरेकाले जलविद्युतमा निर्यातकर्ता मुलुक बन्न सफल भएको छ ।  त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा नेपाल भारत र बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता भई बंलादेशसँग ४० मेगावाट विद्युत् डलर भुक्तानीमा निर्यात प्रारम्भ भएको छ ।

प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंलादेशमा विद्युत् निर्यातबाट वार्षिक करिब १ अर्ब २५ करोड बराबरको आम्दानी गर्ने योजना सरकारको छ । 

एक आर्थिक वर्षमा विद्युत् खपत वृद्धि भएको छ । कुल आन्तरिक खपतमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार ७०१ गिगावाट घण्टा रहेकोमा आर्थिक वर्ष २०८१/८२ अन्तिमसम्म आउँदा ११ प्रतिशतले वृद्धि भएर १४ हजार ११५ गिगावाट घण्टा पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत पनि ४०० युनिटबाट वृद्धि भएर ४७० युनिट पुगेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप