बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पहिलो प्रस्रव

४१ कृति लेख्ने अपर्णा प्रधान भन्छिन्— दुई छोरा श्रवणकुमार नै रहेछन्

ओछ्यानबाट उठेका अक्षरहरू : अपर्णाको जीवनसंगीत
शनिबार, ०३ साउन २०८२, १८ : १०
शनिबार, ०३ साउन २०८२

सारांश

  • साहित्यकार अपर्णा प्रधानको जीवन र साहित्यिक यात्राको बारेमा लेखिएको लेखमा उनको स्वास्थ्य अवस्था, संघर्ष र साहित्यिक योगदानको चर्चा गरिएको छ।
  • लेखमा अपर्णाका छोराहरूले गरेको हेरचाह र श्रीमान्को साथको प्रशंसा गरिएको छ, साथै उनको पुस्तक 'पुनर्जन्म'बारे जानकारी दिइएको छ।
  • अपर्णाको साहित्यिक यात्रा, उनले भोगेका कठिनाइहरू र उनले समाजमा पुर्‍याएको योगदानलाई हाइलाइट गरिएको छ।

‘खाटमा सुतिरहेकी म अलिकति चल्यो कि खाटमुनि सुतिरहेका छोराको निद्रा खुल्छ । मलाई के भयो भनेर हेर्छन् । बच्चालाई सुताएझैँ मलाई सुताउँछन् र आफू सुत्छन्,’ लेखक तथा साहित्यकार अपर्णा प्रधान (जन्म : वि.सं. २००३) ले आफ्नो कृति ‘पुनर्जन्म’ (२०७९) मा लेखेकी छन्, ‘अस्पतालबाट मलाई घरमा ल्याएदेखि जेठो छोरा (सचित प्रधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा कैयौँपटक स्वर्णपदक विजेता) आफ्नो कोठामा सुतेकै छैनन् । मलाई बिपप मेसिन राखिदिन्छन् । म खाटमा सुत्छु । मलाई निद्रा लाग्यो कि छोरा खाटमुनि सुत्छन् । कान्छो छोरा सचिन माथि कोठामा बुवालाई साथीको रूपमा सुत्छन् ।’

उनले आफ्ना दुवै छोरालाई पौराणिक कथाका पात्र श्रवणकुमारको दर्जा दिएकी छन् । उनी लेख्छिन्, ‘मैले त दुई श्रवणकुमारलाई जन्म दिएकी रहेछु ।’ 

अघिल्लोपटक रातोपाटीको स्तम्भ ‘पहिलो प्रस्रव’का लागि भेटघाट गर्दा साहित्यकार सुलोचना मानन्धरले भनेकी थिइन्, ‘अपर्णा प्रधानलाई म अर्की पारिजात भन्छु ।’

मानन्धरले अपर्णाको व्यक्तित्व, कृतित्व र संघर्षबारे आफूलाई ज्ञात भएसम्म बताएकी थिइन् । कविता, कथासंग्रह, उपन्यास, निबन्ध र समालोचना समेत गरेर ४१ वटा कृति (३६ वटा नेपाल भाषा र पाँच नेपाली तथा अंग्रजीमा अनुवादित) निकालिसकेकी अपर्णाको सञ्चार जगतमा त्यति चर्चा सुनिदैन । मानन्धरबाट उनीबारे सुनेपछि म केही दिनअघि उनलाई भेट्न लुभुस्थित उनकै घरमा पुगेकी थिएँ । 

उनी ओछ्यानमा बसिरहेकी थिइन् । ओछ्यानको दायाँ–बायाँ औषधि, अक्सिजनका सिलिन्डर थिए । कोठाका भित्ताका दराजभरि उनका आफ्ना कृति र अन्य साहित्यकारका कृति थिए । भित्तामा गुञ्जन लगायत केही साहित्यिक संस्थाले दिएका सम्मान पत्रहरू थिए । सिरानीको आडमै केही थान किताब र कापी–कलम राखेकी थिइन् । यीमध्ये एउटा कृतिको यतिबेला उनले समालोचना लेखिरहेकी छन् । 

सास फेर्दा अक्सिजन तान्न सक्ने तर कार्बनडाइअक्साइड फाल्न नसक्ने अवस्था अर्थात् ‘हाइपरक्याप्निया’ले लामो समयदेखि पीडित उनको अवस्था हेर्दा लाग्छ, ‘लेखपढको लत लागोस् त उनासी वर्षीया अपर्णालाई जसरी लागोस् ।’

रोगका कारण जीवनमा धेरैपटक उनी मृत्युको मुखमा पुगिन्, मृत्युलाई पटकपटक जितेको बोध भएरै सायद ‘पुनर्जन्म’ शीर्षकको पुस्तक लेखिन् । यस पुस्तकलाई उनले आफ्नो अघिल्लो पुस्तक ‘म र मेरो समय (आत्मवृत्तान्त, २०७६) को दोस्रो भाग भनेकी छन् । ‘पुनर्जन्म’को भूमिकामा उनले लेखेकी छन्, ‘अब त बाँचिन्न होला भन्दा पनि पनि बाँचिरहेकी छु ।’ 

हड्डीमा देखिएको समस्याका कारण उनी खुट्टा दरिलो गरेर हिँडडुल गर्न सक्दिनन् । औषधि र पर्याप्त शारीरिक गतिविधिको अभावकै कारण उनी मोटाएकी छन् । 

कोठाको अर्को खाटमा उनका श्रीमान् शान्तवर शान्त भएर बसिरहेका थिए । ८० वर्षका उनी काम सुन्दैनन् । अपर्णा पनि कानमा मेसिन नलगाईकन राम्ररी सुन्दिनन् । फेरि अगाडिका केही दाँत भाँचिएकाले बोली त्यति प्रस्ट आउँदैन । 

अपर्णा बिरामी भएपछि घरको आर्थिक अवस्था चौपट भयो, शान्तवरको ध्यान भने कसरी अपर्णालाई होसमा ल्याउने भन्ने नै हुन्थ्यो । उनी होसमा आएपछि पनि सामान्य अवस्थामा फर्किन निकै समय लाग्यो ।

‘दुईजना दुइटा खाटमा बस्यो, मैले बोलेको उनले सुन्दैनन्, त्यसमाथि मेरो बोली राम्रो आउँदैन । अचेल त आनन्द छ, झगडै हुन्न,’ अपर्णाले हाँस्दै भनिन् । 

त्यसो त यो जोडीले जिन्दगीमा त्यस्तो झगडा गरेन, ताकि रिसाएर केही दिन नबोलुन् । अपर्णाप्रति शान्तवरको स्नेह, साथ र सहयोग अद्वितीय लाग्छ ।

एउटा जमाना थियो, अपर्णाले कलेज पढाउँथिन्, शान्तवर नेपाल बैंकमा जागिरे थिए । काठमाडौँ उपत्यकामा उनीहरू जोडी ढुकुरजस्तै थिए, दिनभरि आ–आफ्ना काम गर्थे, साँझ बास बस्न सँगै हुन्थे । जब श्रीमान्को सरुवा हेटौँडामा भयो, यो जोडी लामो समयका लागि छुटिने सम्भावना रह्यो । श्रीमानको साथ नछाड्न अपर्णाले उक्ति लाइन् र वनविज्ञान क्याम्पसमा सरुवा मिलाएर हेटौँडा गइन् । हेटौँडामा उनले सोचेको जीवन जिउन पाइनन् । त्यहाँ गएको दुई महिनामै निकै बिरामी भएर उनी काठमाडौँ हुँदै भारतका अस्पतालसम्म पुगिन् । त्यतिबेला नौ महिनासम्म उनलाई होस आएन, उनी कोमामा पुगिन् । उनी बाँच्लिन् भन्ने आशा आफन्तले मारिसकेका थिए । शान्तवरले भने त्यस्तो कल्पना गर्नसम्म सक्दैनथे । त्यतिबेला श्रीमान्ले जस्तो साथ दिए, त्यो सम्झेर अपर्णाका आँखा अहिले पनि रसाउँछन् । छोराहरूलाई श्रवणकुमारको दर्जा दिने अपर्णासँग शब्द छैन, श्रीमानलाई कुन उपमा दिउँ !

अपर्णा बिरामी भएपछि घरको आर्थिक अवस्था चौपट भयो, शान्तवरको ध्यान भने कसरी अपर्णालाई होसमा ल्याउने भन्ने नै हुन्थ्यो । उनी होसमा आएपछि पनि सामान्य अवस्थामा फर्किन निकै समय लाग्यो । बेलाबेला बिरामी भइरहने भएकाले अस्पताल र घर गरिरहनुपर्‍यो । शान्तवरले अपर्णाप्रति सधैँ एकनाशको स्नेह दर्शाइरहे । अपर्णालाई बालबालिकालाई जस्तै स्याहार गरे । 

जसरी सावित्रीले मरिसकेका आफ्ना पति सत्यवानलाई यमराजको हातबाट खोसेर ल्याएकी थिइन्, उसरी नै आफूलाई मृत्युको मुखबाट आफ्ना श्रीमान्ले खोसेको उनी बताउँछिन् ।

अपर्णालाई बचाउन सकिन्छ भन्नेमा डाक्टरहरूले समेत आशा मारेका थिए । अपर्णालाई लाग्छ, आफूलाई बचाउन यमराजको हातबाट खोस्न पति शान्तवरले धैर्यले कार्य गरिरहे । 

यहीँनेर नारायणगोपालको स्वर रहेको चाँदनी शाहका यी शब्द यी दुईको जीवनमा ठ्याक्कै मेल खान्छन् जस्तो लाग्छ :

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, 

एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा ।’ 

कानका ढुङ्ग्री बेच्दा...

अपर्णा जन्मेको नौ दिनमै आमा (मथुरादेवी)लाई टाइफाइड भयो, ज्वरोले थलिएकी आमाले दूध चुसाउन सक्ने अवस्था रहेन । अपर्णा भन्छिन्, ‘आमाको अमृतजस्तो दुध खान नपाएको भएर होला, म सानोमा निकै बिरामी परिरहन्थेँ ।’ 

अपर्णाका पिता रामभक्त प्रधानाङ्ग वकिल थिए । शिक्षित भए पनि उनले पुरातन चिन्तन बोक्ने समाजलाई चुनौती दिन डराउँथे । छोरीलाई पढाउनुहुन्न भन्ने पुरातन चिन्तन उनमा हाबी थियो । एकपटक जेठी छोरी (अपर्णाकी दिदी)को हातमा पुस्तक देखेर रामभक्तले तमाखु खाने नलीले नीलडाम हुने गरी हानेका थिए । यो प्रसंग अपर्णाले आफ्नो पुस्तक ‘म र मेरो समय’मा उल्लेख गरेकी छन् । 

दाजुको कुरामा ईख लिएर अपर्णाले राम्ररी पढिन् र कक्षामा सधैँ पहिलो वा दोस्रो भइरहिन् । विद्यालयबाट हरेक वर्ष पुरस्कारस्वरूप एकाध दर्जन कापी र कलम पाइरहन्थिन् ।

अपर्णालाई पढ्न मन थियो तर परिवारभित्र त्यो वातावरण थिएन । भारतमा पढ्न पठाएका अपर्णाका कान्छा दाइ पढ्न नसकेर फर्के । अर्कोतिर पढ्न पठाएका छोरीहरू पोइल गएका घटनालाई समाजमा उदाहरण बनाइथ्यो, त्यसैले छोरीलाई पढ्न पठाउन जो–कोही बाउआमा डराउँथे । यद्यपि अपर्णाका दिदीहरूले कक्षा ४ सम्म पढ्न भ्याएका थिए । पहिलोपटक रजस्वला भएपछि मात्रै उनीहरूले पढाइ छाड्नुपरेको थियो । रजस्वला भएपछि छोरी हुर्की भन्ठानेर होला, कतिपय परिवारले छोरीलाई विद्यालय जान दिँदैनथे ।

आमासँग रोइकराइ वा ढिपी गरेरै अन्ततः अपर्णा कन्या मन्दिर हाइस्कुलमा भर्ना भइन् । नपढेका दाइले उनलाई भनिरहन्थे, ‘पढ्न गएर मात्रै के गर्ने ? पहिलो, दोस्रो भए पो !’ 

दाजुको कुरामा ईख लिएर अपर्णाले राम्ररी पढिन् र कक्षामा सधैँ पहिलो वा दोस्रो भइरहिन् । विद्यालयबाट हरेक वर्ष पुरस्कारस्वरूप एकाध दर्जन कापी र कलम पाइरहन्थिन् । तिनै कापीकलमले उनलाई वर्ष दिनजस्तो पुग्थ्यो । कहिलेकाहीँ कापी नहुँदा उनले मिति सकिएको क्यालेन्डरको पछाडिको पानामा समेत लेखिन् ।

एकपटक अभिभावकले विद्यालयको शुल्क तिरिदिएनन् । विद्यालयमा जसरी पनि शुल्क बुझाउनुपथ्र्यो । यही झोँकमा उनले आफूले कानमा लगाइराखेको सुनको ढुङ्ग्री बेचेर शुल्क तिरिन् । अपर्णाले पढेको उनका पितालाई कहिल्यै मनपरेन । एसएलसीको परीक्षा आउनै लागेका बेला पिताले उनको बिहे गरिदिए । अझ एसएलसीको परीक्षाको पहिलो दिन पिताले घरमा भोज राखेका थिए । बिहेको चटारोमा अपर्णाले खासै पढ्न पाइनन् । विवाहपछि पति शान्तवरले उनलाई एसएलसी दिन प्रेरित गरे । शिक्षकहरू सबैले उनी प्रथम वा दोस्रो श्रेणीमा उत्तीर्ण हुन्थिन् भन्थे, नभन्दै उनी दोस्रो श्रेणीमा उत्तीर्ण भइन् ।

सानैदेखि अपर्णालाई डाक्टर बन्ने इच्छा थियो । यता कर्मघर (प्रधान परिवार) पनि छोरी–बुहारी पढाउने मामिलामा संकुचित नै थियो । ढिपी गरेरै उनी त्रिचन्द्र कलेजमा विज्ञानमा भर्ना भइन् तर घरधन्दा सकेर मात्रै पढ्न पाउने हुँदा उनलाई विज्ञानजस्तो विषय पढ्न सहज भएन । त्यसको केही समयपछि उनी मानविकीमा भर्ना हुनुपर्‍यो । सधैँ कलेज जान नपाएकाले प्राइभेट दिएरै आईए र बीए गरिन् । यसपछि उनले त्रिभुवन विश्वविद्यालयमा जागिर गर्दै पाटन संयुुक्त क्याम्पसमा स्नातकोत्तर पढ्दै थिइन् । यही बेला हेटौँडा जाँदा उनी बिरामी परेकी थिइन्, स्वास्थ्य अवस्थाका कारण उनले स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिन पाइनन्् । पहिलो वर्षको परीक्षामा उत्तीर्ण भएको १० वर्षपछि बल्ल उनी स्नातकोत्तर दोस्रो वर्षको परीक्षामा उत्तीर्ण भइन् । ‘बच्चैदेखि पढ्नका लागि मैले निकै संघर्ष गर्नुपर्‍यो । सुविस्तासँग पढ्न पाउनु त मेरो कर्ममै रहेनछ,’ अपर्णा भारी मनले भन्छिन् ।

अपर्णा बिरामी हुँदा निकै खर्च भएको थियो । त्यो सबै भार शान्तवरले चुपचाप लिएका थिए । अपर्णाले श्रीमानको अवस्था राम्ररी बुझेकी थिइन् । त्यसैले स्वास्थ्य अवस्था केही सामान्य हुन थालेपछि जागिरलाई निरन्तरता दिने सोचिन् । कमजोर छौ, सक्दिनौँ भनेर श्रीमानले रोक्दारोक्दै पनि उनी जागिरमा फर्किइन् । उनी जागिर खान जान थालेपछि टोल छिमेकले शान्तवरको उछितो काढे, ‘मरेर बल्लतल्ल बाँचेकी श्रीमतीलाई जागिर खान पठाएको छ ।’ 

  • साहित्यिक यात्रा 

सानै उमेरदेखि अक्षरप्रति अपर्णा मोहित थिइन् । स्कुले जीवनदेखि नै उनले नेपाल भाषामा साहित्य लेख्न थालेकी थिइन् । अन्तर हाइस्कुल साहित्य सम्मेलनमा कन्या मन्दिर हाइस्कुलको तर्फबाट भाग लिएर कवितामा उनले सान्त्वना पुरस्कार जितिन् । त्यतिबेला उनले ‘छु याये’ (के गर्ने ?) शीर्षकको कविता लेखेकी थिइन् । यसरी सुरु भएको उनको लेखन यात्रा रोकिएन । वयस्क भएपछि रेडियो सिलोनबाट उनका विभिन्न विधाका रचना प्रसारण भए । बाल दिवस, नारी दिवस लगायतका दिवस पारेर उनले पत्रपत्रिकामा लेख–रचना समेत पठाउँथिन् । ‘छापिएका रचनालाई संरक्षण गरेर राख्नुपर्छ भन्ने ज्ञानै थिएन, अहिले मसँग ती प्रकाशित रचनाको कुनै प्रमाण छैन,’ उनी भन्छिन् । 

लेख्दै गर्दा कसोकसो उनको भेट ‘नेपाल संस्कृति’ मासिक पत्रिकाका सम्पादक तथा अध्यक्ष छत्रबहादुर कायस्थसँग भयो, कायस्थले अपर्णालाई नेपाल भाषामा साहित्य लेख्न प्रेरित गरे । 

शारीरिक अवस्थाका कारण उनले ३२ वर्ष सेवा गरेर त्रिभुवन विश्वविद्यालयबाट राजीनामा दिइन् । यसपछि उसै ओछ्यानमा बसिरहन उनको मनले मानेन । आर्थिक र सामाजिक रूपमा सक्रिय जीवन बिताइरहेकी अपर्णालाई आफ्नो अस्तित्व ओझेल पर्न थालेकामा चिन्ता हुन थाल्यो । उनले फेरि नेपाल भाषामा कलम चलाउन थालिन् । 

यसैबिच पत्रपत्रिका विविध विषयमा छापिएका अपर्णाका लेखहरू खोजेर दिलीप शाही ‘शान्ति यज्जु’ले ने. सं. ११२५ (वि.सं. २०६८) मा ईलोह प्रकाशनबाट ‘झिंच्याफ्वः स्वां’ शीर्षकको पुस्तक प्रकाशन गरिदिए । यो अपर्णाको पहिलो पुस्तक थियो । 

आजसम्म अपर्णाका जति पुस्तक छापिए, तिनको अनुवाद गर्नेदेखि विमोचनसम्मको सबै खर्च उनी आफैँ वा उनको परिवारले बेहोरिदिन्छ । ‘

‘एउटा पुस्तक निकालेपछि अर्को पनि निकाल्ने रहर हुने रहेछ,’ उनी भन्छिन्, त्यसको एक वर्षभित्रै ने. सं. ११२६ मा प्रकाशित र अप्रकाशित गरी १५ कथाहरूको संगालो स्वयनगु निस्कियो ।’ 

दिन कटाउन अपर्णाले अरुका साहित्य पनि खुबै पढिन् । आफूले पढेको पुस्तकबारे पनि कापीमा केही न केही कोरिरहन्थिन् । थाहै नपाईकन उनले पुस्तकमाथि समालोचना लेख्न थालिन् । नेपाल भाषामा प्रकाशन भएका समालोचनाहरू जम्मा पारेर ने.स. ११२९ मा ‘जःया जः’ नामक समालोचना संग्रह प्रकाशित भयो । यसमा १२ साहित्यकारका विविध विधाका पुस्तकमाथि गरिएका समालोचना छन् । 

यसपछि उनको लेखनयात्रा रोकिएन । कुनै कुनै वर्ष त उनको एकैपटक चारवटा पुस्तकसम्म छापिए । अपर्णाले उपन्यास पनि कैयौँ लेखेकी छिन् तर विभिन्न कारणले ती कृति प्रकाशित भएनन् र दराजमै थन्किए । ‘थौंकन्हे’ मासिक पत्रिकाका सम्पादक रुक्मिणी श्रेष्ठले ‘ल्यासे अजि’ शीर्षकको एउटा उपन्यास पत्रिकामा धारावाहिक रूपमा छापिदिए । 

आजसम्म अपर्णाका जति पुस्तक छापिए, तिनको अनुवाद गर्नेदेखि विमोचनसम्मको सबै खर्च उनी आफैँ वा उनको परिवारले बेहोरिदिन्छ । ‘यो पैसा मैले सन्तानका लागि खर्च गर्नुपथ्र्यो, तर मेरा कृति पनि मेरा सन्तान हुन्,’ सन्तुष्टिको हाँसोसहित उनी भन्छिन् । 

उनले यसो भनिरहँदा उनकी बुहारी जिनाले थपिन्, ‘आमालाई जेमा खुसी लाग्छ हामी त्यही गर्छौं । उहाँको खुसीभन्दा ठुलो कुरा हाम्रा लागि के छ र ?’ कानले सुन्दिनँ कि भन्ने भएर होला, अन्तर्वार्ताका क्रममा उनले बुहारी जिना जोशी प्रधानलाई सँगै राखेकी थिइन् । मैले सोधेका केही प्रश्न नबुझ्दा वा नसुन्दा उनले बुहारीसँग नेपाल भाषामा गफिन्थिन् ।

०००

अपर्णाले आफ्नो अधिकांश समय ओछ्यानमै पल्टिएर वा बसेर बिताउँछिन् । बिहानको एक घन्टा उनी वैशाखीको सहाराले सकी नसकी बैठक कोठामा ओहोरदोहोर गर्छिन् । वैशाखीकै सहारामा शौचालयसम्म जान सके पनि भर्‍याङ तल–माथि गर्न भने उनी सक्दिनन् । घरको भुँइतलामा आउनुपर्‍यो भने बुहारी वा छोराहरूको सहारा चाहिन्छ । 

कहिलेकाहीँ वैशाखी टेकेरै भए पनि उनी नेपाल भाषाका एकाध कार्यक्रममा परिवारका सदस्यसहित पुग्छिन् । केही लेख्ने र पुस्तक निकाल्ने हुटहुटी उनीमा उत्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप