शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वासको संकट

तीन ठुला दलसँग जसपा नेपालको ‘ब्रेकअप’

शनिबार, ०३ साउन २०८२, १९ : ५७
शनिबार, ०३ साउन २०८२

सारांश

  • जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिएको छ, भूमि विधेयकमा असन्तुष्टि जनाउँदै।
  • कांग्रेसले जसपालाई फर्काउन खोजेको थियो तर सफल भएन, जसपा आफ्नो अडानमा कायम रह्यो।
  • जसपा नेपालले ठूला दलहरूसँगको सम्बन्धलाई लिएर आगामी रणनीति बनाउने संकेत गरेको छ।

काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपालले एक हिसाबले ठुलासँगको नाता तोडेको देखिएको छ । नेपाली कांग्रेस– नेकपा एमाले मिली बनेको वर्तमान सत्ता गठबन्धनको सरकारलाई साथ दिएको जसपा नेपाल सरकारमा सहभागी नभए पनि सत्तापक्षकै कित्तामा थियो । तर बिहीबारबाट जसपा नेपालले त्यो ठाउँ पनि छाड्यो । 

खासगरी जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो । जसपा पछिल्लो चरण भएका वार्ता उसले उपलब्धिमूलक नदेखेपछि सरकारलाई दिएको समर्थ फिर्ता लिएको हो । यद्यपि जसपा नेपालले औपचारिक रूपमा समर्थन फिर्ता लिन भने २५ दिन लगायो । यसबिच सरकालाई साथ दिने वा समर्थन फिर्ता लिने भन्ने दोधारमा जसपा नेपाल रुमल्लिरह्यो । 

यता सरकारबाट समर्थन फिर्ता लिइसकेको औपचारिक घोषण गरेको जसपा नेपाललाई कांग्रेसले फर्काउन नखोजेको पनि होइन, तर कांग्रेसको प्रस्ताव निरर्थक रह्यो, जसपा नेपाल आफ्नो अडानमै देखियो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँगै राखेर कांग्रेसले जसपालाई फिर्ता ल्याउने कोसिस गरेको थियो । तर कुरा मिलेन । 

जसपा नेपालको सम्बन्ध माओवादी केन्द्रसँग पहिल्यैदेखि सुमधुर छैन । माओवादी केन्द्रले नै आफ्नो पार्टी फुटाइदिएको अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका थिए, जसका कारण यादव र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच बोलचालसमेत भएको छैन । 

यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको एमाले अध्यक्ष ओलीसँग मुलधारको राजनीतिमा आएपछि कहिल्यै राम्रो सम्बन्ध रहेन । मधेस आन्दोलनमा ओलीसँग द्वन्द्व नै थियो भने पछि पनि सम्बन्धमा सुधार आएन । प्रधानमन्त्री ओलीले नै आफू नेतृत्वको तत्कालीन समाजवादी पार्टी फुटाउन लागेको र आफूलाई सरकारबाट निकालेको अध्यक्ष  यादवको बुझाइ र आरोप छ । पछिल्लो समय जसपा नेपाल विभाजनमा पनि प्रधानमन्त्री ओलीले भूमिका खेलेको उनले बताउँदै आएका छन् । 

र अहिले पनि ओली नेतृत्वको कार्यकालभरि जसपा नेपालले साथ दिन सकेन । 

एकैपटक ठुला दलसँग दूरी बढाएका यादवको अगामी राजनीतिक कदम कस्तो हुन्छ ? उनी के रणनीति बनाउन सक्छन् ? यसबारे पार्टी प्रवक्ता मनीष सुमन भन्छन्, ‘हाम्रा लागि तीन वटै ठुला दल उस्तै उस्तै हुन्, उनीहरू सापनाथ र नागनाथ हुन् ।’

उनका अनुसार मधेसका एजेन्डा र मुद्दामा यी तीनै दल एकै ठाउँमा उभिने गरेका छन् । ‘मधेसलाई अधिकार दिने कुरामा भने यी तीन वटै दल मिल्छन्,’ उनी भन्छन्, ‘त्यसैले साथ छुटे पनि नछुटे पनि केही फरक पर्दैन ।’

अगामी दिनमा भने यी दलहरूसँग कस्तो सम्बन्ध रहन्छ, त्यो यिनै दलको व्यवहारले फरक पार्ने उनको भनाइ थियो । यद्यपि यी ठुला कुनै पनि दलहरूसँग सम्बन्ध भने खराब भइनसकेको उनले जिकिर गरे । ‘तर दलीय सम्बन्ध कस्तो हुने त्यो उनीहरूको व्यवहारमा फरक पर्छ, ‘यी तीनै दलको सोच जसपा नेपालप्रति राम्रो छैन भन्ने हामीले पाएका छौँ,’ उनले बताए । 

यता कांग्रेस नेता चिनकाजी श्रेष्ठ भने जसपा नेपाललाई गठबन्धनबाहिर राख्न नहुने तर्क गर्छन् । ‘जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिए पनि सरकार ढल्दैन, तर अन्य कामकाजका लागि यस्ता दल गठबन्धनलाई चाहिन्छ,’ उनी बताउँछन् । 

गठबन्धनको मुख्य एजेन्डा संविधान संशोधन भएकाले त्यसका लागि पनि जसपा नेपाल चाहिने उनको बुझाइ छ । ‘सरकार सञ्चालन गरिरहेको छ भने सबै दलको साथ सहयोग भयो भने राम्रो हुन्छ, जसपा नेपालसँग कुराकानी गरेर पुनः गठबन्धनमा ल्याउनुपर्छ,’ उनी विश्वास व्यक्त गर्छन् । 

राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक छ र लगत्तै कुनै विधेयक पास गर्नुपरे ऊ तगारो बनिदिन सक्छ । यो अवस्था ठुला दलहरूले बुझेका छन् । श्रेष्ठ थप्छन्, ‘त्यसैले जसपा नेपाल मात्र होइन, जति दल बाहिर छन्, ती सबैको साथ लिनुपर्छ ।’

तर जसपा नेपाल विपक्षमै बसे पनि माओवादीसँग सहकार्य नगर्ने मुडमा छ । प्रवक्ता सुमन थप्छन्, ‘हामीले सत्ता पक्ष रहँदा पनि सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गरेकै थियौँ, अब विपक्षमा पनि हाम्रो भूमिका त्यस्तै हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप