मोरङको केराबारीमा पितृ उद्धार अश्वमेध महायज्ञ ‘कोटीहोम’ हुने
सारांश
- मोरङको केराबारीमा पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम माघ १९ देखि फागुन १९ सम्म हुने भएको छ।
- महायज्ञले धर्म, संस्कृति, परम्परा र आध्यात्मिक चेतनाको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ, जसमा विभिन्न धार्मिक कार्यक्रमहरू हुनेछन्।
- यस महायज्ञमा लाखौं श्रद्धालु, धर्मगुरु, साधुसन्त, र ऋषिमुनिहरूको उपस्थिति रहने र कलश यात्रा पनि गरिनेछ।
विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (वृद्ध खोला)को काखमा ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ ।
शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष रमेश कुटवालले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञमार्फत धर्म, संस्कृति, परम्परा र अध्यात्मिक चेतनाको संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको जानकारी दिए ।
उनका अनुसार यज्ञस्थलमा चैत्य गुम्बा, १०८ गौमुखी जलधारा तथा १०८ फिट अग्लो त्रिशुल स्थापनासहित समावेशी गुरुकुल, यज्ञशाला, पाठशाला, पाकशाला, गौशाला तथा असहाय बाल–वृद्धका लागि आवासको व्यवस्था गरिनेछ ।
महायज्ञको विशेषता भनेकै यज्ञस्थलको पवित्रता र महत्त्वमा रहेको उनले बताए । बुढीखोलाको किनारमा अवस्थित स्थललाई अति पवित्र वृद्धगंगा नदीको काखका रूपमा लिइएको छ । आयोजकका अनुसार, यो नदी शिवजट्टाबाट उत्पत्ति भएकी देवी वृद्धगंगाको रूपमा चिनिन्छिन् । संकल्पकर्ता माता सन्जनाका अनुसार वृद्धगंगाको जलले सम्पूर्ण भौतिक दुःख, कष्ट तथा पाप नाश गरी मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । ‘कलियुगको पहिलोपटक यस्तो विशाल कोटीहोम नेपालमा हुन गइरहेको छ,’ माता सन्जनाले भनिन्, ‘यो केवल कुनै यज्ञ होइन, यो सम्पूर्ण मानव जातिको पितृ उद्धार तथा आध्यात्मिक शुद्धिकरणका निम्ति आयोजित गरिएको ऐतिहासिक अनुष्ठान हो ।’
उनका अनुसार, लाखौं श्रद्धालु भक्तगण, धर्मगुरु, साधुसन्त, ऋषिमुनिहरू र अध्यात्मिक पथप्रदर्शकहरूको समुपस्थितिमा यज्ञ सम्पन्न हुनेछ । ‘हामी सम्पूर्ण विश्व समुदायलाई आह्वान गर्छौं कि, एक युगमा एकपल्ट मात्र हुने यो पुण्य कार्यमा सहभागी भई विश्व शान्ति र कल्याणको लागि एक भइ अघि बढौँ,’ उनले भनिन् ।
यज्ञको पूर्वसन्ध्यामा कलश यात्रा
कोटीहोमको पूर्वसन्ध्यामा माघ १९ गते बिहान १० बजे बुढीगंगाको किनारबाट कलश यात्रा निकालिनेछ । सो कलश यात्रामा हजारौँ श्रद्धालुको सहभागिता रहने आयोजक समितिको अपेक्षा छ । कलश यात्राबाट यज्ञ स्थलमा आध्यात्मिक ऊर्जा सञ्चार गराउने परम्परा अनुरूप कलश यात्रा आयोजना गर्न लागिएको समितिले जनाएको छ ।
महायज्ञ अवधिभर विविध धार्मिक क्रियाकलाप, पुराण वाचन, हवन, साधना, प्रवचन, आरती, कीर्तन र सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । बालक, वृद्ध, महिला र युवा सबैलाई लक्षित गरी भक्तिभाव र चेतनाको समन्वयमा कार्यक्रम अगाडि बढाइने अध्यक्ष कुटवालले जानकारी दिए ।
‘कोटीहोम’ कार्यक्रम केवल यज्ञ र धार्मिक अनुष्ठानमा सीमित छैन । यसले धार्मिक शिक्षाको संस्थागत रूप दिन समावेशी गुरुकुल स्थापनाको तयारी पनि गरेको छ । यज्ञशालाबाटै धर्मशिक्षा, संस्कृत भाषा, वेद, पुराण, योग, आयुर्वेद आदि विषयमा शिक्षादीक्षा दिन सकिने व्यवस्था मिलाइनेछ ।यस्तै, कार्यक्रमस्थलमा पाकशाला (अन्न क्षेत्र) र गौशाला (गोरक्षा केन्द्र) को समेत निर्माण गरिने आयोजकको भनाइ छ । साथै, अनाथ, असहाय, वृद्ध र बालबालिकाहरूलाई निःशुल्क आवास तथा संरक्षण दिने दीर्घकालीन योजना समेत रहेको जनाइएको छ ।
ऐतिहासिक महत्त्वको यस महायज्ञलाई भव्य र सफल बनाउन आयोजक समितिले देशभरका श्रद्धालु, धार्मिक संस्था, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूमाझ सहयोग र सहभागिताको आह्वान गरेको छ । आयोजकका अनुसार, यज्ञ स्थलको पूर्वाधार निर्माणका लागि स्वयंसेवक परिचालन, आर्थिक सहयोग तथा श्रमदान पनि भइरहेको छ ।
‘हामीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र अध्यात्मिक एकता कायम गर्दै महायज्ञ सफल पार्न जुटेका छौं,’ आयोजक समितिका अध्यक्ष कटुवालले भने, ‘यो हाम्रो मात्र नभइ सम्पूर्ण नेपालीको गौरव र पुण्यको अवसर हो ।’ पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोमलाई धार्मिक शास्त्रमा ‘युगान्तकारी आध्यात्मिक जागरण’ को रूपमा समेत लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण