ज्येष्ठ नागरिकमा समर्पित उपन्यास ‘विमुक्ति’
सारांश
- साहित्यकार झम्क तिमल्सिनाको उपन्यास 'विमुक्ति' मा नेपाली समाजको कथावस्तु प्रस्तुत गरिएको छ।
- उपन्यासमा राणाकालीन समय, पुस्तान्तरणका समस्या, र वृद्धावस्थाका पीडालाई उजागर गरिएको छ।
- उपन्यासले एकल महिलाको अवस्था, धर्म परिवर्तन, र वृद्धाश्रमको मनोदशाबारे प्रकाश पारेको छ।
उपन्यास ‘विमुक्ति’ विमोचन कार्यक्रमका लागि खबर पाउनासाथ मन हर्षित भएर आयो । साहित्यकार झम्क तिमल्सिनाको पहिलो कृति ‘अन्धकुप’ पढिसकेको हुँदा ‘विमुक्ति’ पढ्ने कुतूहलता बढ्दै जानु स्वाभाविकै हो । पहिलो उपन्यास अन्धकुपमा इमानदारिता, भाइचारा र सद्भाव जस्ता मानवताका अभिन्न अवयवका माध्यमबाट आफ्नै गाउँठाउँलाई सुन्दर स्वर्ग बनाउन सकिन्छ भन्ने सन्देश छ । दोस्रो कृति विमुक्ति पनि मन हल्लाउने किसिमको रहेछ ।
नेपाली समाजको सम्भ्रान्त वर्गीय पात्र खडा गरी रचिएको यस उपन्यासको कथावस्तु नेपाली सामाजिक र भौगोलिक परिवेशमै केन्द्रित छ । परिवर्तित समयमा पुस्तान्तरणले ल्याउँदै गरेको समस्या र अध्यात्मलाई समेत उपन्यासको विषयवस्तु बनाइएको छ ।
उपन्यासको अग्र भागमा राणाकालीन समयको गाउँसमाज वा परिवेश ल्याएको छ । तत्कालीन जिम्मावाल र अन्य व्यक्ति बिचको खाडल देखाइएको छ । त्यस्तै, जिम्मावालका नातिको बालसुलभ मनले आफ्ना दौँतरी, बालसखाहरूसँग मित्रता गर्दा वर्गको पर्खालले बारम्बार अवरोध भएको देखाइएको छ । त्यस्तै राणाकालीन समयमा हाम्रो समाजमा रहेको जातीय विभेदको वर्णन गर्नका लागि जिम्मावालको घरमा पाहुनाको जात अनुसारको कोठाको व्यवस्था, दर्जीले कपडाका लागि नाप लिँदा पनि नुहाउनुपर्ने प्रसङ्ग नै काफी छ । सोही प्रसङ्गमा थापाको छोरा र दर्जीको छोरीबिच सम्बन्ध कायम हुँदा कडा दण्ड भोग्नुपरेको र गाउँ निकाला हुनुपर्ने प्रसङ्ग समेत उल्लेख गरिएको छ ।
करिब सात दशकअघि नेपालको भौगोलिक अवस्था कति विकट थियो भन्ने थाहा पाउनका लागि जिम्मावालका नातिको काठमाडौँ यात्रा पढ्दा हुन्छ । पहाडी क्षेत्रको भौगोलिक अवस्था सँगै तत्कालीन काठमाडौँ कस्तो थियो भन्ने राम्ररी वर्णित छ । नातिको काठमाडौँ बसाईंका क्रममा जिम्मावालको आउजाउको प्रसङ्गलाई जोडेर रचनाकारले तत्कालीन समाजका कुलीन वर्गको रइसी जीवनशैली र रसरङ्ग क्रियाकलापलाई सांकेतिक ढङ्गले उल्लेख गरेको पाइन्छ । तत्कालीन सामाजिक परिवेशकै कुरा गर्ने हो भने एकल महिलालाई समाजमा हेरिने नजर कस्तो हुन्छ भन्ने कुरालाई जर्नेलकै मनोभावको रुपमा धेरै ठाउँमा उपन्यासले पस्केको छ ।
जर्नेलको एक्लो वृद्धावस्थाका सहारा बनेकी लक्ष्मीलाई भलाई गर्न मन हुँदाहुँदै पनि समाजको डरले केही दिन नसकेको जर्नेलको मनोभावबाट बुझिन्छ । यसले कतै न कतै एकल महिलालाई समाजमा जीवनयापन गर्न कति कष्टकर छ भन्ने प्रस्ट्याएको छ । मोक्तानको छोराले धर्म परिवर्तन गरी आमाको मुख हेर्न समेत नआएको विषयले नेपाली समाजमा धर्म परिवर्तनको अध्याय त्यतिबेलैदेखि भित्रिसकेको बुझिन्छ ।
वृद्धवृद्धाको चाहना र छोराछोरीको सोचमा कति फरक छ ? यो मतभिन्नता भनौँ या उमेर अनुसारको बुझाइ भनौँ, यसले नेपाली समाजमा कस्तो भयावह युग ल्याउँदै छ ? मान्छे कसरी के कारण वृद्धाश्रम पुग्छन् ? वृद्धाश्रममा बस्नेको मनोदशा के कस्तो हुन्छ ? यस जिज्ञासालाई प्रस्ट पार्नका लागि उपन्यासमा विभिन्न फरक–फरक भौगोलिक क्षेत्रका पात्र खडा गरिएका छन् ।
उपन्यासकारले राणाकालीन समयको सामाजिक परिवेश मात्र वर्णन गरेका छैनन्, समय क्रमसँगै फेरिएको सामाजिक परिवेश प्रस्ट््याउन जर्नेल बुढ्यौलीमा गाउँ हेर्न जाँदाको प्रसङ्ग जोडिएको छ । यस्तै अहिले आएर गाउँको परिवेश कस्तो छ भन्ने कुरालाई चित्रण गर्न जर्नेलको देहावसानपछि डाक्टरको गाउँ भ्रमणको चर्चा उपन्यासमा गरिएको छ । उपन्यासमा मैले पाएको दोस्रो पाटो भनेको व्यक्तिको उमेर समूह अनुसार सिर्जित पुस्तान्तरणको फरक सोच र व्यवहार अनि वृद्धवृद्धाका नदेखिएका पीडा हुन् । उपन्यासको विभिन्न खण्डमध्ये यो खण्ड नै मूल खण्ड हो ।
वृद्धवृद्धाको चाहना र छोराछोरीको सोचमा कति फरक छ ? यो मतभिन्नता भनौँ या उमेर अनुसारको बुझाइ भनौँ, यसले नेपाली समाजमा कस्तो भयावह युग ल्याउँदै छ ? मान्छे कसरी के कारण वृद्धाश्रम पुग्छन् ? वृद्धाश्रममा बस्नेको मनोदशा के कस्तो हुन्छ ? यस जिज्ञासालाई प्रस्ट पार्नका लागि उपन्यासमा विभिन्न फरक–फरक भौगोलिक क्षेत्रका पात्र खडा गरिएका छन् । त्यस्तै विभिन्न फरक–फरक भोगाइका मोक्तान, घिम्रिनी, डोटीकी देउसरा जस्ता पात्र खडा गरी लेखकले उपन्यासलाई अझ उच्च कोटीको बनाउन सफल भएको देखिन्छ । नेपालकै फरक भूगोल र समुदायमा बोलिने नेपाली भाषाको प्रयोगले लेखकको लेखाइमा अझ स्तरीयता थपेको मैले महसुस गरेको छु । जिम्मावालको विरासत, आफ्नै राजशाही जागिरे जीवन बिताएका जर्नेलको बुढेसकाल त यस्तो छ भने आम साधारण नेपालीको कस्तो दिनचर्या छ, कस्तो मनोभावबाट गुज्रिरहेका छन् होला !
जब बुढेसकालको एक्लोपनमा आफ्नो अतीतको विरासत र वर्तमानको कहालीलाग्दा दिनहरू सम्झदै जर्नेलले भन्छन्, ‘सन्तानको भविष्यका लागि आफूले चिसापानी छाडेँ, छोराले काठमाडौँ छाडे, अहिले अमेरिकामा हुर्किंदै गरेकी नातिनी भोलि कहाँ जाली ?’
मलाई लाग्छ, उपन्यासकारले जर्नेलमार्फत वर्तमान नेपाली समाजका हरेक आमाबुवाको मनमा गुञ्जिने प्रश्न संकेत गरेका हुन् । उपन्यासको यो पाटोमा पाठकले पटकपटक आफ्नो आमाबुवा सम्झन्छ, मैले एक मिनेट पनि नसम्झिरहन सकिनँ ।
उपन्यासले प्रकाश पारेको तेस्रो पाटो हो आध्यात्मिकता । जर्नेलको बुढ्यौली, एक्लोपन, समय बिताउने तरिका र मनोभावको माध्यमबाट उपन्यासकारले आध्यात्मिक पाटो केलाएका छन् ।
आफ्नो काजकिरिया आफैँ गरी जोगिनी भएकी देउसराको प्रसङ्गले हाम्रो समाजको दर्दनाक अवस्था जस्ताको तस्तै चित्रण गरेको छ । देउसराले पटकपटक लोग्नेको सत्त जोगाउन गाउँ छाडेको जिकिर गर्छिन् । यसले हाम्रो समाजमा एकल महिला कति असुरक्षित छन् भन्नेतर्फ र हाल बेलाबखत समाचारमा सुनिने अपत्यारिला बलात्कारका घटना समेतलाई संकेत गर्दछ ।
सन्तानले जति पीडा दिए पनि वृद्धवृद्धाको मनमा सन्तानप्रतिको अटुट माया, भरोसा रहन्छ भन्ने उपन्यासले देखाउन खोजेको छ । छोरा अगाडि आइदिए देउसरा हाँसीहाँसी घर फर्किन तयार हुन्छे भन्ने कुराले यही संकेत गर्दछ । त्यस्तै जीवनको अन्तिम क्षणसम्म नातिनी भेट्न नपाएका जर्नेललाई आफ्नो मृत्युपछि छोराबुहारी, नातिनी आउनेमा पूर्ण विश्वास छ ।
आमाबुवाको याद दिलाउने, आफ्नो जीवनशैलीमाथि प्रश्न उब्जाउने प्रसङ्ग उपन्यासमा पटकपटक आउँछन् । उपन्यासको अर्को हरफ पढेसँगै मनले फेरि प्रश्न गर्छ, के दाजु गाउँमा नभइदिएको भए म काठमाडौँ आउँदिनथेँ त ? मेरो कर्तव्य के हो ? कतै म आफ्नो कर्तव्यबाट विमुख त भइरहेको छैन । यो पाटोमा म पटकपटक हिन्दी चलचित्र वागवान सम्झन्छु । साँच्चै यो उपन्यासलाई आधार मानी चलचित्र बनाउने हो भने वागवानको भन्दा धेरै राम्रो, परिष्कृत र समय सान्दर्भिक चलचित्र निर्माण हुनेछ । उपन्यासको पात्र मोक्तानको बुढेसकालको प्रसङ्ग पढ्दा आँखामा गहभरि आँसु आयो । मोक्तान त एक पात्र मात्र हुन्, यस्ता आमाबुवा कति छन् कति ।
उपन्यासले प्रकाश पारेको तेस्रो पाटो हो आध्यात्मिकता । जर्नेलको बुढ्यौली, एक्लोपन, समय बिताउने तरिका र मनोभावको माध्यमबाट उपन्यासकारले आध्यात्मिक पाटो केलाएका छन् । पशुपतिको परिसरमा देखिने माग्नेहरू, व्यापार गर्नेहरू, पूजा गर्नेहरू, ध्यान गर्नेहरू, जँड्याहाहरू, रमाइलो गर्ने प्रमिल जोडीहरू र शोकमा डुबेका परिजनहरूको दृश्यमार्फत संसार यस्तै हो भनी चित्रण गरिएको छ । जीवनभर ठुलो विरासत बोकेको जर्नेलको बुढेसकालको मनोभावले वास्तवमा संसारमा मरिलानु के नै छ र, केको अहंकार देखाउनु भन्ने भाव व्यक्त गरिरहेको हुन्छ । जीवनभर अरुभन्दा ठुलो देखाउन, अरुभन्दा अलग रहन जुन अग्लाअग्ला पर्खाल बनाइन्छ, आखिर त्यही पर्खालले बुढेसकालमा आफूलाई कैदीसरह बनाउँदो रहेछ भन्ने भावले पाठकलाई गहिरो आध्यात्मिक सन्देश दिएको छ ।
समग्रमा भन्ने हो भने आफ्नो गाउँठाउँमा भएका कमी–कमजोरी सुधार गरेर आफ्नै ठाउँलाई सुन्दर बनाउन सकिन्छ भनी आफ्नो पहिलो कृतिमा सन्देश दिएका उपन्यासकारले दोस्रो कृतिमार्फत नेपाली साहित्यको क्षेत्रमा आफ्नो बलियो उपस्थिति दर्ज गराएका छन् । पात्र सिर्जना एकदमै राम्रो छ, एउटै उपन्यासले नेपाली समाजको विविध पक्षलाई समेटेको छ । पात्र अनुसार रैथाने भाषाको प्रयोगले लेखकको लेखाइमा अझ स्तरीयता थपेको छ । जर्नेलको काजकिरियापछि डाक्टर दम्पतीको मनमुटाव हुने प्रसङ्गमा लक्ष्मीको विषयलाई त्यति बढी शंका नगरिदिए हुन्छ कि जस्तो लाग्छ ।
हामीले सन्तानको भविष्यका लागि भनी बाबुआमा त्याग्दै जाने हो भने हाम्रो नियति के होला ! अन्तमा जाने कहाँ हो त ? भनी यक्ष प्रश्न गरेका उपन्यासकारले नेपाली समाजसामु एक समय सान्दर्भिक उपन्यास पस्केका छन् भन्दा अतिशयोक्ति नहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण