बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भियतनाममा पर्यटकीय डुंगा पल्टिँदा २८ जनाको मृत्यु, १४ अझै बेपत्ता

शनिबार, ०३ साउन २०८२, २१ : २६
शनिबार, ०३ साउन २०८२

सारांश

  • भियतनामको हा लोंग बेमा डुंगा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ, १४ जना बेपत्ता छन्।
  • खराब मौसमका कारण आएको हावाहुरीले डुंगा पल्टिएको हो, जसमा ५३ जना सवार थिए।
  • उद्धारकर्मीहरूले १४ वर्षीय बालक लगायत ११ जनालाई जीवितै उद्धार गरेका छन्, र बेपत्ताहरूको खोजी जारी छ।

भियतनाम । भियतनामको उत्तरी पर्यटकीय क्षेत्र हा लोंग बेमा एक पर्यटकीय डुंगा पल्टिँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन्। दुर्घटना खराब मौसमका कारण आएको हावाहुरीका कारण भएको हो। 

‘वान्डर सिज’ नाम गरेको डुंगामा ५३ जना सवार रहेको भियतनामी बोर्डर गार्ड तथा नौसेनाले जनाएको छ। डुंगा पल्टिएपछि अहिलेसम्म ११ जनालाई जीवितै उद्धार गरिएको छ। भीएन एक्सप्रेस समाचार साइटका अनुसार, ४ घण्टासम्म डुंगाको पल्टिएको भागमा हावाको खाली ठाउँ ९एयर पकेट० मा फसेका १४ वर्षीय बालकलाई उद्धार गरिएको थियो।

बाई चाय अस्पतालका निर्देशक ले नगोक डुङले १० वर्षीय अर्को बालकलाई पनि उद्धार गरिएको र उनीको अवस्था हाल स्थिर रहेको जानकारी दिएका छन्। अहिलेसम्म फेला परेका २८ शवमध्ये ८ जना बालबालिका रहेको भीएन एक्सप्रेसले जनाएको छ।

प्रहरी र उद्धार टोलीले अझै बेपत्ता भएका १४ जनाको खोजी कार्य जारी राखेका छन्। भारी वर्षाका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको उद्धारकर्ताहरूले बताएका छन्। उद्धार कार्य रातभर चलाइने जनाइएको छ।

दुर्घटनामा परेका धेरैजसो यात्रुहरू हानोईबाट घुम्न आएका भियतनामी परिवारहरू थिए। प्रधानमन्त्री फाम मिन चिन्हले दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारप्रति समवेदना प्रकट गरेका छन्। हा लोंग बे, क्वाङ निन्ह प्रान्तमा पर्ने विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र हो । त्यहाँ सन् २०१९ मा मात्र ४० लाख पर्यटकले भ्रमण गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप