कास्की कारागारभित्रै कैदीबन्दीले किन गरे नाराबाजी ?
काठमाडौँ । कास्की कारागारमा कैदीबन्दीले नाराबाजी गरेका छन् ।
आइतबार क ब्लकको चौकीदार परिवर्तनको विषयमा विवाद भएपछि कैदीबन्दीले नाराबाजी सहित आन्दोलन गरेका हुन् ।
कारागार विभागले नयाँ चौकीदारको रूपमा अजय गुरुङलाई नियुक्ति दिएपछि प्रकाश गुरुङ पक्षधर कैदीबन्दी आन्दोलित भएका सूचना अधिकारी महेन्द्र कुँवरले बताए ।
कैदीबन्दीहरूले पहिलेकै चौकीदार प्रकाश गुरुङलाई पुनः नियुक्त गर्न माग गरेका छन् । प्रकाश दुई कार्यकाल अघिका चौकीदार हुन् । आन्दोलनमा उत्रिएका कैदीबन्दीहरूले प्रकाशको पक्षमा नाराबाजी गरेका थिए ।
कारागारका सूचना अधिकारी महेन्द्र कुँवरका अनुसार, आन्दोलन शान्तिपूर्ण छ । तर भित्रै उनीहरुले टायर पनि बालेर विरोध जनाएका छन् । कारागारभित्र रहेका कैदीबन्दीहरू दुई गुटमा विभाजित भएका छन् । अजय गुरुङको समर्थनमा एउटा समूह छ भने बाहिर नाराबाजी गर्नेहरू प्रकाशका समर्थक हुन् ।
सूचना अधिकारी कुँवरका अनुसार प्रकाश पक्षधरको सङ्ख्या धेरै देखिएको छ । कास्की कारागारको ‘क’ ब्लकमा हाल ४ सय भन्दा धेरै कैदीबन्दी छन् । कारागार विभागले गरेको निर्णय परिवर्तन हुने सम्भावना नरहेको प्रशासनको भनाई छ । यद्यपि, कैदीबन्दीहरूलाई सम्झाउने प्रयास भइरहेको कुँवरले जानकारी दिए । ‘यस्तो घटना म आएपछिको यो पहिलो हो । यसअघि यस्तो आन्दोलन भएको थिएन,’ उनले भने ।
कसरी भयो विवाद ?
चौकीदार पदका लागि विभागमा तीन जनाको नाम सिफारिस भएको थियो । जसमा प्रकाश गुरुङको नाम पनि समावेश थियो । तर, विभागले अजय गुरुङको नाममा निर्णय गरेपछि विवाद सुरु भएको हो ।
आन्दोलनरत पक्षका अनुसार प्रकाश गुरुङ दुई कार्यकालअघि चौकीदार थिए र हाल नाइकेको भूमिकामा छन् । उनी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका छन् भने अजय गुरुङ पनि सोही मुद्दामा कैद छन् । सिफारिस भएका तेस्रा व्यक्ति प्रशान्त थापा भने लागुऔषध मुद्दामा जेल परेका हुन् । प्रकाश र अजय दुवै करिब सात–आठ वर्षदेखि कारागारमा छन् ।
चौकीदार नियुक्तिमा राजनीतिक चलखेल र आर्थिक लेनदेनसम्म भएको आरोप कैदीबन्दीले लगाएका छन् । पार्टीनिकट बिचौलियाहरूले आर्थिक फाइदाका लागि कैदीबन्दीले नरुचाएको व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेका उनीहरूको आरोप छ ।
‘जसले कैदीबन्दीको समस्या बुझ्छ र सहज वातावरण बनाउँछ, उसैलाई नेतृत्वमा चाहनु स्वाभाविक हो,’ एक कैदीले भने, ‘तर यहाँ राजनीतिक र आर्थिक चलखेलले अनावश्यक व्यक्तिलाई अगाडि सारियो ।’
केही व्यक्तिहरूको स्वार्थका कारण राजनीतिक दबाबमा अजयलाई चौकीदार बनाइएको उनको आरोप छ । उनले अघि भने, ‘भित्रका सामान्य नाइकेहरूले समेत यसको विरोधमा आफ्नो जिम्मेवारीको कार्ड जेलरलाई बुझाइसकेका छन् ।’ कास्की कारागारमा यसअघि यस्तो घटना भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण