बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

ओलीसँग विद्याको प्रश्न : २ वर्षअघि नवीकरण भएको सदस्यतामा अहिले विवाद गर्ने ?

सोमबार, ०५ साउन २०८२, ०६ : २०
सोमबार, ०५ साउन २०८२

सारांश

  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा सदस्यताको विषयमा छलफल भयो।
  • भण्डारीले दुई वर्षअघि नै सदस्यता नवीकरण गरेको र अहिले विवाद भएकोमा चासो व्यक्त गरिन्।
  • भेटमा विधान महाधिवेशनको तयारी, विधान संशोधन, र पार्टीको संगठनात्मक कामबारे छलफल भएको थियो।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिचको भेटवार्तामा भण्डारीले २ वर्षअघि नै नवीकरण भएको आफ्नो सदस्यताको अहिले विवाद चर्काएकोमा चासो राखेकी छन् ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताबिच करिब २ घण्टा भएको भेटवार्तामा भण्डारीले आफ्नो सदस्यताबारे भइरहेका टीकाटिप्पणी र सतहमा आएको विवादबारे ओलीसँग प्रश्न मिश्रित चासो प्रकट गरेकी हुन् ।

राष्ट्रपतिको कार्यकाल पूरा गरेर सामान्य नागरिकको हैसियतमा फर्किएकी भण्डारीले सक्रिय राजनीति गर्ने घोषणा गरेसँगै उनको सदस्यताको वैधानिकता र पार्टीमा पाउने जिम्मेवारीबारे एमालेमा विवाद बढेपछि अध्यक्ष ओली र भण्डारीबिच सघन वार्ता भएको हो ।

भण्डारी निकट मानिएका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले आफ्नो सदस्यताबारे भेटमा चासो राख्नु स्वाभाविक रहेको बताए । ‘बाहिर धेरै चर्चा र विवाद भएपछि दुई नेताको बिचमा सदस्यताबारे पनि कुरा भएको छ’, थापाले भने, ‘भेटवार्तामा पूर्व राष्ट्रपतिज्यूले मैले २ वर्षअघिदेखि सदस्यता नवीकरण गर्ने, अनि तपाईँहरू अहिले विवाद खडा गर्ने ? भनेर जिज्ञासा राख्नुभएको छ ।’

यद्यपि भण्डारीले ओलीसँगको भेटपछि राजनीतिक संवाद मात्र भएको प्रतिक्रिया दिएर टारेकी थिइन् । साथै उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम पार्टीको आधिकारिक च्यानलबाट हुने पनि बताइन् ।

दुई नेताबिचको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई नेताबिचको छलफल सकारात्मक भएको बताए । ‘छलफल सकारात्मक ढङ्गले अघि बढेको छ । राजनीतिले नै सम्बन्धलाई टुङ्गो गर्दछ । सम्बन्धले राजनीतिको टुङ्गो गर्दैन’ उनले भने, ‘आज राजनीतिक मुद्दाहरूमा, दृष्टिकोणमा समानता हुने परिस्थिति निर्माण भइसकेपछि राजनीतिले नै सम्बन्धलाई सुदृढ बनाएर लैजान्छ भनेझैँ आज खुलेर पार्टीको आन्तरिक जीवन, विधान महाधिवेशन, त्यसको तयारीका सन्दर्भमा र अहिलेका राष्ट्रिय राजनीतिका विकसित घटनाक्रमका बारेमा दुवै नेताहरूको बिचमा खुलेर एकले अर्कालाई लागेका कुरा राख्नुभएको छ ।’ 

उनले अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि जान सक्ने परिस्थिति नबन्ने भन्दै भने, ‘हामी जे गर्छौँ सहमति र छलफलबाट नै टुङ्ग्याउँछौँ भन्नुभएको छ ।’ 

उनले दुई नेताबिचको सहमति र संवादबारे सोमबार बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्षले ब्रिफिङ गर्ने जानकारी दिए । ‘भेटवार्ता र सहमतिबारे केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ हुन्छ’, गौतमको भनाइ छ ।

नेताहरूका अनुसार ओलीसँगको भेटमा भण्डारीले एमाले विधानको धारा ९ को ३ को व्यवस्था पनि स्मरण गराएकी छन् । उक्त धारामा विशेष परिस्थिति र काममा तत्कालीन अवस्थामा कतै नियुक्ति वा विशेष कामका लागि  प्रयोग हुने बताएकी थिइन् ।

एमालेको केन्द्रीय कमिटी बैठक आज सोमबार बिहान ११ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ । बैठक दुई दिनसम्म बस्ने तय भएको छ ।

बैठकमा भदौ २० देखी २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारी, विधान संशोधन सम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको रिपोर्टिङ, लगायत विविध विषयहरूमा छलफल गर्ने कार्यसूची छ । यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव बैठकमा प्रस्तुत भई छलफल हुने छ । सचिवालय र पोलिटब्युरोको बैठकबाट प्रस्ताव गरिएको नयाँ विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकाल मात्र रहने व्यवस्था हटाउने प्रस्ताव छ ।

साथै, पार्टीमा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना रहने प्रस्ताव गरिएको छ । संशोधन प्रस्ताव अनुसार एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहनेछ भने वरिष्ठ उपाध्यक्ष पद पनि हटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप